विज्ञानले बदलेको विश्व

विज्ञानले बदलेको विश्व

‘हामीलाई अहिले जे थाहा छ त्यो थोपा हो, जे थाहा छैन त्यो महासागर हो’, सर आइज्याक न्युटनको शब्दमा ब्रह्माण्डबारेका आजसम्म पत्ता लागेका रहस्यहरू महासागरका केही थोपा मात्र हुन्। ठ्याक्कै भन्न नसकिए पनि करिब पाँच अर्ब वर्षपहिला पृथ्वी उत्पत्ति भएको अनुमान छ। २० लाख वर्षपहिला आधुनिक मानव जातिको उदय भएको पाइन्छ।

मेसोपोटामियन र चिनियाँहरूले तारापुञ्ज (कन्स्टेलेसन), ग्रहलगायतको चालको अध्ययन गर्दै क्यालेन्डर विकास गरे। चिनियाँले नै अकुपन्चर पद्धतिबाट रोगहरूको उपचार गर्ने गर्थे। अकुपन्चरको प्रयोग आज पनि भइरहेकै छ। यता, हिन्दुहरू जडीबुटीको प्रयोग गरी रोगको उपचार गर्ने गर्थे र गर्छन्। प्राचीन कालमा मानिसले आकाशका ग्रह, उपग्रह र तारापुञ्जको चालका आधारमा बाह्र राशिको प्रयोगलाई प्रचलनमा ल्याए। मानिसमा तिनीहरूको असरबारे विश्लेषण गर्ने प्रयास गर्दै त्यसमा विश्वास गर्न थाले। यो विश्वास हाम्रो पूर्वीय समाजमा अद्यावधि कायम छ।

ब्रह्माण्डका ताराहरू एकबाट अर्को टाढा भागिरहेका छन्। हरेक एक अर्ब वर्षमा ५ देखि १० प्रतिशतका दरले ब्रह्माण्डको विस्तार भइरहेको छ। अर्थात्, ब्रह्माण्ड पनि समाप्त हुँदैछ। तर, कम्तीमा पनि अरू लाखौं वर्षसम्म यो समाप्त हुनेछैन। ब्रह्माण्डमा दस खर्ब ‘ग्यालेक्सी’ रहेको अनुमान छ। ती खर्बाैं ग्यालेक्सीमध्ये हाम्रो ‘मिल्की वे ग्यालेक्सी’ एउटा मात्र हो। हरेक ग्यालेक्सीमा एक अर्बभन्दा बढी तारा हुन्छन्।

ग्रिक दार्शनिक एरिस्टोटलले मानव सभ्यतामा वैज्ञानिक चेत निर्माण गरिदिए।  उनको नौलो र तार्किक सोचकै कारण त्यति बेलाको समाज उनकै विचारबाट प्रभावित भयो। २४०० वर्षअघि उनले पृथ्वी चेप्टो होइन गोलो छ भन्ने तर्क दिए। ‘पृथ्वी, सूर्य, चन्द्रमा स्थिर छैनन्। पृथ्वी केन्द्रमा छ र यसलाई सूर्य र चन्द्रमाले परिक्रमा गर्छ’, एरिस्टोटलको यस्तो अनौठो विचारले तत्कालीन समयमा ठूलो प्रभाव जमायो। सोह्रौं शताब्दी अघिसम्म मानव जातिले खास वैज्ञानिक चेतना, सोच र तर्कको विकास गर्न सकेन। त्यो बेलासम्म एरिस्टोटलकै विचारधारामा मानव जाति प्रभावित भयो।

विज्ञानको जग
विद्यार्थी जीवनमा इटालीका बहुप्रतिभाशाली व्यक्ति लियोनार्दाे दा–भिन्सीको छोटो जीवनी अध्ययन गरियो। नेपाली पढाउने शिक्षकले भिन्सीले उल्टो लेख्ने अर्थात्, कापीमा लेखेको अक्षरलाई ऐनाले जसरी उल्टो देखाउँछ त्यसरी लेख्ने गर्थे भनेर सुनाउँदा विद्यार्थी अचम्मित बनेका थिए। उल्टो लेख्न जान्यो भने भिन्सीजस्तै ठूलो भइन्छ कि भनेर दुईचार दिन केही साथीले उल्टो लेख्ने कोसिस गरे।

पन्ध्रौं शताब्दी चल्दै थियो। भिन्सी भन्नेबित्तिकै धेरैको दिमागमा मोनालिसाको मुस्कान आउँछ। तर, भिन्सीको प्रतिभा धेरै क्षेत्रमा छताछुल्ल हुन थाल्यो। उनमा मान्छेको शरीरलाई चिरेर शरीरभित्रका अंगहरूको अध्ययन गर्ने हुटहुटी पलायो। भिन्सीले फोक्सो, मुटु, खप्पर, प्रजनन अंगको बनावटलाई आफ्नो ‘पेन्टिङ’मा उतारे। त्यसपछि मान्छेमा आफ्नो शरीरप्रति नयाँ जिज्ञासा पलायो। उनले मान्छेको मात्रै होइन, जनावरको समेत शरीर चिरेर तिनीहरूको अंगको बनावटलाई पनि आफ्नो कलामा उतारिदिए।

भिन्सीले जहाज, हाइड्रोलिक मेसिन, गाडी, पिँध्ने मेसिन तथा पुलको काल्पनिक चित्र उतारेर मान्छेको कल्पनाशीलतामा लागेको चाबीलाई खोलिदिए। अर्थात्, भिन्सीले कला र विज्ञानको संयोजन गरे। उनले छोडेका कल्पनाले आउँदै गरेका वैज्ञानिकको मस्तिष्कलाई झक्झक्याइदियो। कैयौं वैज्ञानिक आविष्कारका लागि उनले छोडेका नोट वरदान साबित भए। सोह्रौं शताब्दीमा कोपर्निकसको उदयले बौद्धिक क्रान्तिमा लागेको अर्को ताला खोल्यो। उनले अन्तरिक्ष विज्ञानमा गहन अध्ययन गर्दै पहिलोपटक एरिस्टोटलको विचारमाथि खण्डन गरिदिए, ‘पृथ्वी होइन, सूर्य केन्द्रमा छ र सूर्यलाई पृथ्वीलगायतका ग्रहले परिक्रमा गर्छन्।’

गह्रौं र हलुका वस्तुमध्ये गह्रौं वस्तु छिटो खस्छ भन्ने मान्यतामाथि ग्यालिलियोले शंका गरेर भनिदिए, हावाको अनुपस्थितिमा माथिबाट खसाउँदा यी दुवै एकैसाथ  खस्छन्। यो प्रमाणित गर्न उनले दुईवटा बल छड्के सतहमा खसाएर देखाइदिए। पछि यो विचार वैज्ञानिक रूपमै प्रमाणित भयो। ग्यालिलियोले पिसाको टावरबाट वस्तु खसाएको नभई छड्के सतहबाट खसाएको धेरै अध्ययनले देखाएका छन्। 

ग्यालिलियोले आविष्कार गरेको टेलिस्कोपले चन्द्रमालाई हेर्दा चन्द्रमामा ठूला ठूला पहाड, वृहस्पतिको वरिपरि घुमिरहेका उपग्रह, सूर्यको सतहमा धब्बा भेटिएपछि अन्तरिक्ष थप रहस्यमय बन्यो। ‘मिल्की वे’ ग्यालेक्सीमा अनेकौं तारा देखिएपछि ब्रह्माण्डको सीमा अनन्त छ भन्ने बुझ्न कठिन भएन। हामीलाई अहिले थाहा छ, यही ग्यालेक्सीमा हाम्रो सौर्यमण्डल छ। केप्लरले कोपर्निकसको सूर्य केन्द्रित सौर्य मण्डललाई थप विकसित पार्दै ग्रहहरूको चालसम्बन्धी नियमहरू प्रतिपादन गरे। यिनै नियम न्युटनको गुरुत्वाकर्षण सिद्धान्त प्रतिपादन गर्न सहयोगी सिद्ध बने।

न्युटनको उदय
सर आइज्याक न्युटन प्रयोगात्मक र गणितीय रूपमै निकै प्रतिभाशाली व्यक्ति थिए। उनको अवतरणले विज्ञानले नयाँ दिशा प्राप्त गर्‍यो। न्युटनले रहस्यमय प्राकृतिक ज्ञानको महासागरबाट उनकै शब्दमा ‘एक थोपा ज्ञान’ विश्वलाई दिए। उनको पुस्तक ‘म्याथमेटिकल प्रिन्सिपल्स अफ नेचुरल फिलोसोफी’ सन् १६८७ मा प्रकाशित भएपछि संसारभर तरंग ल्याइदियो। उनको विश्लेषणले कोपर्निकस, केप्लर र ग्यालिलियोलाई सत्य साबित गराइदियो।

न्युटनको टाउकोमा स्याउ खस्यो वा खसेन यसै भन्न सकिने अवस्था छैन। स्याउ खसेकै भए पनि यस घटनाभन्दा अघि नै उनले गुरुत्वाकर्षणबारे सोच्न थालिसकेको कुरामा कैयौं विद्वान् विश्वास गर्छन्। जे होस्, उनको चालसम्बन्धी नियम र गुरुत्वाकर्षणको सिद्धान्तले ब्रह्माण्डबारेको व्याख्यामा नयाँ दिशा दियो। न्युटनले क्याल्कुलसको आविष्कार गरे, जुन गणित आधुनिक भौतिक विज्ञानको विकासको आधार बन्यो। न्युटनले प्रकाशका किरणमा लुप्त सात रङको रहस्योद्घाटन गरिदिएपछि वैज्ञानिक नियमहरूको आविष्कारका लागि प्रयोगको आवश्यकता र औचित्य पुष्टि भयो।

न्युटनको किताबको प्रकाशनपछि विश्वमा वैज्ञानिक सूचना र चेतना बढ्दै गयो। विज्ञानबारेका संस्थाहरू क्रमशः खुल्न थाले। सन् १६६० मा लन्डनमा ‘रोयल सोसाइटी’ र १६६६ मा पेरिसमा ‘एकेडेमी अफ साइन्सेज’ स्थापना भयो। न्युटन रोयल सोसाइटीको अध्यक्षमा नियुक्त भए। ‘सर’ को उपाधि प्राप्त गरी सर आइज्याक न्युटनको नामबाट विश्वव्यापी रूपमा चिनिए।

औद्योगिक क्रान्तिको सुरुआत
जेम्स वाटले पुरानो संरचनाको वाष्प इन्जिनलाई नयाँ रूप दिए। वाष्प इन्जिनको उनको आविष्कारले यातायात र औद्योगिक क्षेत्रमा चमत्कार नै ल्याइदियो। त्यति बेलासम्म ताप, प्रकाश, विद्युत्् र चुम्बकमा शक्ति अन्तर्निहित हुन्छ भन्ने अनुमान गरे पनि पत्ता लागेको थिएन। सन् १७७० को दशकमा कोलम्बले विद्युतीय र चुम्बकीय शक्ति मापन गर्ने यन्त्र ‘टोर्सिन ब्यालेन्स’ को आविष्कार गरेपछि यिनीहरूमा निहित शक्ति मापन गर्न सकिने भयो। यही समय अक्सिजन ग्यासलगायत हावाका रहस्यमय गुणहरू पत्ता लागेपछि रसायनशास्त्रको अध्ययन सुरु भयो।

अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको सुरुआततिर विद्युत् र चुम्बकत्वमाथि गहन अध्ययनहरू भए। भोल्टा, गाल्भिनी, फाराडे, ओहमजस्ता वैज्ञानिकले यी दुई शक्तिबीचको अन्तर्सम्बन्ध र एकता पत्ता लगाए। यसकै जगमा जेम्स म्याक्सवेलले ‘इलेक्ट्रोम्याग्नेटिजम’ भन्ने सिद्धान्त प्रस्तुत गरे। यसअनुसार विद्युत् शक्तिबाट चुम्बकीय शक्तिको विकास गर्न सकिन्छ। यसकै आधारमा इलेक्ट्रोम्याग्नेटको निर्माण गरिँदै आएको छ। इलेक्ट्रोम्याग्नेट रेडियो, टेलिभिजन, कम्प्युटर, जेनेरेटर, डाइनामोलगायत कैयौं उपकरणमा प्रयोग गरिन्छ।

आविष्कारको लहर
कक्षाकोठामा उट्पट्याङ खालका प्रश्न सोधेको र पढ्न मन नगरेको भन्दै तीन महिनामै उनी स्कुलबाट निकालिए। उनकी आमाले उनलाई घरमै अक्षर चिनाइन्, उनी स्वअध्ययनमा लागे। नजिकको लाइब्रेरीमा जान्थे र घन्टौं अध्ययनमा डुब्थे। उनले ९÷१० वर्षको कलिलो उमरमै विज्ञानका ठूलाठूला किताब पढिभ्याए। उनमा अब आविष्कारको भोक बढ्दै गयो। एकपछि अर्को आविष्कारका शृंखला प्रारम्भ गर्न थाले। आफ्ना आविष्कारलाई औद्योगिक रूपमा उत्पादन गरे। आफ्नो नाममा  १०९३ वटा वैज्ञानिक आविष्कार दर्ता गरिदिए। प्रयोग र परीक्षणमा नथाक्ने थोमस एल्वा एडिसनले हजारौं प्रयासपछि बिजुलीबत्ती पनि आविष्कार गरिछाडे। यसैकारण कुनै कामको असफलताबाट नभाग्न यिनै वैज्ञानिकको उदाहरण दिइन्छ। 

उन्नाइसौं शताब्दीमा विज्ञान र प्रविधि क्षेत्रमा अनेकौं सिद्धान्त र आविष्कार गरिए। यस बेला खुलेका प्राविधिक स्कुल र कलेजहरूले खोज र अनुसन्धानका लागि प्रेरित गराए। विश्वका सरकारहरूले आविष्कारका लागि वैज्ञानिकलाई आर्थिक अनुदान दिन थाले। प्रकृतिमा उपलब्ध शक्तिबीच सम्बन्ध हुनुपर्छ भन्ने विश्वासका साथ हान्स क्राइस्टिएनले परीक्षणका शृंखला प्रारम्भ गर्न थाले। नभन्दै सन् १८२० मा बिजुलीको तारबाट पठाइएको विद्युतीय शक्तिले चुम्बकीय कम्पासमाथि प्रभाव परेको देखे। यसबाट निष्कर्ष निकाले, विद्युत् र चुम्बकबीच विशेष सम्बन्ध छ। यी दुई शक्ति एकअर्कोमा रूपान्तरण गर्न सम्भव छ।

ब्रह्माण्डको उत्पत्तिबारे ‘बिग ब्यांग थ्योरी’ विकास भयो। यसअनुसार सिंगो ब्रह्माण्ड पिनको टुप्पोमा अटाउने कणबाट सुरु भएर आजको विशाल अवस्थामा आइपुगेको हो। ताराहरूले प्रकाश र ताप शक्ति पैदा गर्न छाडेपछि तिनीहरू कालो अवस्थामा देखिन्छन्। यसलाई हामी ‘ब्ल्याक होल’ भन्छौं। यसको गुरुत्वाकर्षण बल कति धेरै हुन्छ भने प्रकाशको किरण त्यसमा पर्‍यो भने पनि उम्कन पाउँदैन। स्टेफन हकिङजस्ता वैज्ञानिकले ‘ब्ल्याक होल’ माथि खोज गरे र त्यस्ता पिण्डले ‘रेडिएसन’ फ्याँक्ने कुरा पत्ता लगाए। उनको पुस्तक ‘अ ब्रिफ हिस्ट्री टाइम’ प्रकाशित भएपछि हकिङले संसारभर ख्याति कमाए।

यही निष्कर्षलाई सन् १८२० मै माइकल फाराडेको खोजले अझ फराकिलो बनाइदियो। उनले एक शक्तिलाई अर्को शक्तिमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने चिन्तनमा सिंगो जीवन लगानी गरे। फलस्वरूप विद्युतीय शक्तिलाई ताप, प्रकाश वा चुम्बकीय शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने सिद्धान्तको जन्म भयो। यसकै आधारमा अनकौं यन्त्रको आविष्कारका लागि बाटो खुल्यो। ‘कुनै पनि शक्ति, न सिर्जना गर्न सकिन्छ न त नष्ट। मात्र एक शक्ति अर्को शक्तिमा रूपान्तरण हुनसक्छ’ भन्ने विश्वव्यापी नियम प्रतिपादन भयो। उदाहरणका लागि बिजुली बत्तीबाट प्रकाश निस्कनु कुनै नयाँ शक्तिको उत्पत्ति भएको होइन, मात्र विद्युत् शक्ति प्रकाश शक्तिमा रूपान्तरण भएको हो। यसलाई विज्ञानका विद्यार्थी ‘थर्माेडाइनामिक्सको पहिलो नियम’ भनेर पढ्छन्।

उन्नाइसौं शताब्दीको सुरुआतमा बेलायती रसायन तथा भौतिकशास्त्री जोहन डाल्टनको उदयसँगै परमाणुलाई बुझ्न सकिने भयो। उनका अनुसार परमाणु पदार्थको सबैभन्दा सानो कण हो। डाल्टनकै खोजको आधारमा १८६९ मा डिमिट्री मेन्डेलिभले पेरियोडिक टेबलको जन्म गराए। यो टेबलले तत्त्वहरूको समान र फरक गुणहरूको अध्ययनलाई सरल बनाइदियो। यस्ता खोजबाट तत्त्वबीच अन्तत्र्रिmया र रासायनिक प्रतिक्रियाको नियम प्रतिपादन गर्न सकियो। 

वनस्पतिविद् लिनियसले वनस्पति र जनावरको वर्गीकरण गरी वैज्ञानिक नाम दिने प्रणाली सुरु गरे। सन् १८५९ मा लेमार्क र डार्बिनले क्रम विकासको सिद्धान्त प्रतिपादन गरेपछि आस्तिकहरूको निद्रा हराम भयो। डार्बिनको ‘ओरिजिन अफ स्पेसिज’ पुस्तक प्रकाशित गरेपछि संसारभर हल्लीखल्ली मच्चियो। मानव जातिलगायतका जीव ईश्वरले सृष्टि गरेका हुन् भन्ने त्यति बेलासम्मको मान्यतालाई यो पुस्तकले भत्काइदियो। डार्बिनको विचारले विज्ञान, दर्शन, साहित्य, कला सबै क्षेत्रलाई प्रभावित पार्‍यो। फ्रान्सका लुई पाश्चर र जर्मनीका रोबर्ट कोचले रोगहरू लाग्ने कारक कीटाणु हुन् भन्ने पत्ता लगाए। यी वैज्ञानिकले धेरै रोगका कारण ब्याक्टेरिया हुन् भनेपछि औषधि विज्ञानको क्षेत्रमा क्रान्ति नै आयो। ‘पाश्चराइजेसन’ पद्धतिले खानेकुरा शुद्ध बनाएर राख्न सकिने भयो। उनले रेबिजविरुद्धको खोपको विकास गरे।

स्कटल्यान्डका जोहन वाल्कर र जर्मनीका अब्राहम वार्नरले चट्टान र मिनेरल्सको वर्गीकरणले आधुनिक भूगर्भ विज्ञानको जग बसाल्यो। उन्नाइसौं शताब्दीको मध्यतिर भूकम्प र ज्वालामुखीका नयाँ विचारहरू विकास गरिए। टेक्टोनिक प्लेट्स, पहाड र समथर जमिन निर्माणको प्रक्रियाबारे सिद्धान्तको विकास गरिए। ग्रेगर मेन्डलले गुणहरू सर्ने नियम प्रतिपादन गरेपछि वंशाणु र जिनको अध्ययन सुरु भयो। जेम्स वाट्सनजस्ता वैज्ञानिकले डीएनएको बनावटबारे प्रस्ट पारेपछि बीसौं शताब्दीको अन्यतिर ‘जेनेटिक इन्जिनियरिङ’ सम्भव भयो।

सापेक्षतावाददेखि अन्तरिक्ष यात्रासम्म
प्रिन्स्टन विश्वविद्यालयले उनका लागि एउटा कुनामा अफिस छुट्ट्याइदियो। अफिसको सहयोगीले सोध्यो, ‘तपाईंलाई अफिसका लागि के के चाहिन्छ ?’ उनले आपूmलाई चाहिने सामानको सूची दिए, ‘एउटा डेस्क वा टेबुल, कुर्सी, कापी र पेन्सिल भए पुग्छ।’ अफिसको सहयोगी सूची लिएर फर्किन लाग्दा उनले फेरि थपे, ‘अँ साँच्चि ! मलाई एउटा ठूलो डस्टबिन पनि ल्याइदिनू है, फोहोर कागजहरू फ्याँक्न।’ आइन्स्टाइनले पेपर र पेन्सिलको बलमा ब्रह्माण्डबारेका कैयौं रहस्य उद्घाटन गरिदिए। उनलाई कुनै प्रयोगशालाको जरुरत परेन, उनको मस्तिष्क नै उनको प्रयोगशाला थियो। सन् १९०५ मा आइन्स्टाइनले विशेष सापेक्षता र १९१५ मा सामान्य सापेक्षताको सिद्धान्त प्रकाशित गरेपछि वैज्ञानिक जगत्मा पुनः हलचल मच्चियो। उनले न्युटनका सिद्धान्तलाई थप विकसित पारे। पारमाणविक ऊर्जा उत्पादन गर्ने बाटो देखाइदिए। उनकै सिद्धान्तमा टेकेर युरेनियम टुक्य्राएर ‘एटम बम’ निर्माण गरियो र दोस्रो विश्वयुद्धमा प्रयोग गरियो। 

बीसौं शताब्दीमा सापेक्षतावाद संसारभर चासोको विषय रह्यो। यसलाई पछि वैज्ञानिकहरूले एकपछि अर्को गर्दै परीक्षण गर्न थाले। उदाहरणका लागि, अत्यधिक गुरुत्वाकर्षण बलले प्रकाशको किरणलाई पनि बंग्याइदिन्छ भन्ने सापेक्षतामा लेखिएको सिद्धान्तलाई सन् १९१९ मा वैज्ञानिकहरूले परीक्षण गरे। खग्रास सूर्यग्रहणको बेला अफ्रिकाबाट हेर्दै गर्दा अर्को ताराबाट आएको प्रकाशलाई सूर्यको गुरुत्व बलले बंग्याएको देखेपछि आइन्स्टाइन सही ठहरिए। समय सापेक्ष हुन्छ भन्ने आइन्स्टाइनको मतलाई पनि परीक्षण गरेर हेर्दा सही भेटियो। जसअनुसार दुई जुम्ल्याहा बच्चामध्ये एउटालाई पृथ्वीमा र अर्कालाई सगरमाथाको टुप्पोमा लगेर राख्ने हो भने पहिलो बच्चाको समय छिटो बित्नेछ र छिटो बूढो भएको देखिनेछ।  

हब्बलको अध्ययनले ब्रह्माण्ड विस्तारवान् भएको भेटिनु बीसौं शताब्दीको महान् खोजमध्ये एउटा थियो। यसको अर्थ, ब्रह्माण्डका ताराहरू एकबाट अर्को टाढा भागिरहेका छन्। हरेक एक अर्ब वर्षमा ५ देखि १० प्रतिशतका दरले ब्रह्माण्डको विस्तार भइरहेको छ। अर्थात्, ब्रह्माण्ड पनि समाप्त हुँदैछ। तर, कम्तीमा पनि अरू लाखौं वर्षसम्म यो समाप्त हुनेछैन। ब्रह्माण्डमा दस खरब ‘ग्यालेक्सी’ रहेको अनुमान गरिएको छ। ती खरबौं ग्यालेक्सीमध्ये हाम्रो ‘मिल्की वे ग्यालेक्सी’ एउटा मात्र हो। हरेक ग्यालेक्सीमा एक अर्बभन्दा बढी तारा हुन्छन्। ‘मिल्की वे’ मा रहेका अरबौं तारामध्ये हाम्रो सूर्य एउटा मात्र हो।

परमाणुभित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन कण पत्ता लागेपछि रसायन शास्त्रमा नयाँ अध्याय थपियो। यी तीन कण पनि अझ साना कणहरू क्वार्कबाट बनेका हुन्छन् भनी मुर्रे गेल म्यानले पत्ता लगाएर नोबेल पुरस्कार जिते। सन् १९०५ मा ह्याबरले हाइड्रोजन र अक्सिजनको प्रतिक्रिया गराई एमोनिया ग्यास बनाउने पद्धति विकास गरे। एमोनिया ग्यास युरिया मल बनाउन प्रयोगमा आउँछ। यसपछि रसायनशास्त्रलाई कृषि र औद्योगिकीकरण क्रान्तिमा प्रयोग गर्न थालियो। दर्जनौं नयाँ तत्त्वको खोजी भयो। हजारौं रसायन उद्योग र घरायसी प्रयोजनका लागि पत्ता लाग्न थाले। बाल्यकालमा खेलौना जहाजको गहिरो छाप परेका राइट दाजुभाइले १९०३ मा जहाज उडाएर प्रदर्शनी गरेपछि मानिस हावामा पनि उड्न सक्ने भयो। 

सन् १९५७ मा सोभियत संघले ‘स्पुतनिक १’ कृत्रिम भू–उपग्रह प्रक्षेपण गरेपछि विश्व अन्तरिक्ष युगमा प्रवेश गर्‍यो। त्यसको १२ वर्षपछि अमेरिकाले अन्तरिक्षयात्री निल आर्मस्ट्रङ र एडविन अल्ड्रिनलाई चन्द्रमाको सतहमा ओराल्न सफल भयो। म्याडम (म्यारी) क्युरीले पति पियारे क्युरीका साथ रेडियम तत्त्व पत्ता लगाइन्। उनको कामले औषधि विज्ञानमा ‘एक्स–रे’ प्रविधिको विकासमा भूमिका खेल्यो। इतिहासमै पहिलोपटक दुईवटा नोबेल पुरस्कार प्राप्त नारीका रूपमा उनले इतिहास रचिन्। ब्रह्माण्डको उत्पत्तिबारे ‘बिग ब्यांग थ्योरी’ विकास भयो। त्यसअनुसार सिंगो ब्रह्माण्ड पिनको टुप्पोमा अटाउने कणबाट सुरु भएर आजको विशाल अवस्थामा आइपुगेको हो। ताराहरूले प्रकाश र ताप शक्ति पैदा गर्न छाडेपछि तिनीहरू कालो अवस्थामा देखिन्छन्, जसलाई हामी ‘ब्ल्याक होल’ भन्छौं। यसको गुरुत्वाकर्षण बल कति धेरै हुन्छ भने प्रकाशको किरण त्यसमा पर्‍यो भने पनि उम्कन पाउँदैन। स्टेफन हकिङजस्ता वैज्ञानिकले ‘ब्ल्याक होल’माथि खोज गरे र त्यस्ता पिण्डले ‘रेडिएसन’ फ्याँक्ने कुरा पत्ता लगाए। उनको पुस्तक ‘अ ब्रिफ हिस्ट्री टाइम’ प्रकाशित भएपछि हकिङले संसारभर ख्याति कमाए।

पोलियो रोगले विश्वभर दसौं लाख बालबालिकाको ज्यान लिएको बेला जोनस साल्कले पोलियोविरुद्धको खोप आविष्कार गरेको घोषणा गरे। पोलियोसँगै टिटानास, ठेउला, हेपाटाइटिस, इन्फ्लुएन्जालगायत धेरै रोगको खोपको विकास भयो। यही शताब्दीमा औषधि विज्ञानको विकासमा धेरै महत्त्वपूर्ण उपलब्धि भए। मुटुको शल्यक्रियाका नयाँ तरिकाहरू पत्ता लागे। क्यान्सर रोगको उपचारका नयाँ विधि केमोथेरापी, रेडिएसन थेरापीजस्ता पद्धति विकास भए। इन्सुलिनको विकासले डाइबेटिज रोगीको आयु लम्ब्याइदियो। परिवार नियोजनको साधनको विकासले जनसंख्या नियन्त्रण गर्न सहयोग पुर्‍यायो। सत्तरीको दशकमा मोबाइल फोन निर्माण भयो र इन्टरनेटको विकास भयो।

एक्काइसौं शताब्दीको संकेत
आममानिसको कल्पनाभन्दा बाहिरका प्रविधिसँगै एक्काइसौं शताब्दी सुरु भएको छ। सन् २००४ मा हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरवर्गले फेसबुक सुरुआतको घोषणा गरे। फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको विकासले संसारका मानिसलाई एउटै कोठामा सँगै बसालेको छ। इन्टरनेट, स्मार्टफोन र रोबोटिक्सको नयाँ दुनियाँमा संसार बदलिएको छ। उद्योग, बैंक, कम्पनी तथा निर्माण कार्यमा मानिसले गर्ने काम रोबोटले गर्न थालेका छन्।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ विकासको प्रतिस्पर्धा यही गतिमा अगाडि बढ्यो भने मानिसको सोच, क्षमता र बौद्धिकतामाथि यी प्रविधि हावी भएर मानिसलाई  बेकारको बनाइदिन सक्ने चिन्ता पनि प्रकट हुन थालेका छन्। उहिल्यै आइन्स्टाइनले संकेत गरेको गुरुत्वाकर्षण तरंग २०१५ मा पहिचान गर्न सकेपछि वैज्ञानिकहरूमा उत्साह थपियो। यसले ब्रह्माण्ड बारेका थप रहस्य पत्ता लगाउन बाटो खोल्ने वैज्ञानिकहरूको अपेक्षा छ। मंगल ग्रहमा पानी पत्ता लागेको घोषणासमेत गरिसकिएको छ। पृथ्वीबाहेकका आकाशीय पिण्डमा सम्भावित सजीव वस्तुको खोजमा अनुसन्धानहरू जारी छन्। एचआईभी संक्रमित मानिसको आयु लम्ब्याउन सकिने ‘एन्टिरेट्रोभाइरल’ औषधिको विकास गरिएको छ। मानिसको अनुहारसमेत प्रत्यारोपण गर्न सकिने पद्धति विकास भएपछि नराम्रो अनुहार लिएर जन्मनु परेका, डढेका, पोलेका र काटेका अनुहार लिएर बाँच्न बाध्य मानिसका लागि वरदान साबित भएको छ।

क्रोमोजोमभित्रको ‘डीएनए’ ले वंशाणुगत गुण सार्ने गर्छन्। ‘डीएनए’ भित्र पनि ‘जिन’ हरू हुन्छन्। यी जिनले प्राणीको आँखा, छालाको रङ, स्वभाव, शारीरिक बनावट, उत्पादकत्वलाई निर्धारण गर्ने गर्छन्। प्राणीको भ्रूण अवस्थामै डीएनएको जिन हेरफेर गर्न सकिने ‘जेनेटिक इन्जिनियरिङ’ प्रविधि सुरु भएको शताब्दीमा हामी छौं। जेनेटिक इन्जिनियरिङ अमेरिकन जैव–रसायनशास्त्रीहरूले सन् १९७० को दशकमा सुरु गरे। यो प्रविधिअनुसार प्राणी र वनस्पतिको जिनलाई प्रयोगशालामा ‘एडिटिङ’ गरिन्छ। यो प्रविधि मानिसका लागि हर्माेन, एन्टिबडी, खोप निर्माणमा प्रयोग भइरहेको छ।

कृषि र पशुपालनको क्षेत्रमा आवश्यक गुण भएका अन्नबाली र पशुपालन उत्पादनमा प्रयोग भइरहेको छ। चिनियाँ वैज्ञानिकले सन् २०१८ मा पहिलोपटक मान्छेको जिन एडिटिङ गरेर बच्चा उत्पादन गरे। यद्यपि यो प्रक्रिया विरोधाभासपूर्ण भएको थियो। किनकि जेनेटिक इन्जिनियरिङ मान्छेमाथि प्रयोग गर्ने भन्ने सम्बन्धमा प्राकृतिक, नैतिक र कानुनी प्रश्नहरू छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.