ट्रम्पको चुनावी धम्की र सम्भावना

ट्रम्पको चुनावी धम्की र सम्भावना

लोकतन्त्रमा नेताको क्षमता वा अक्षमताको तुलना उनका प्रतिद्वन्द्वीको हैसियतका आधारमा गरिन्छ


विकसित मुलुकमा हुने भेदभाव र अपराधलाई संसारका कतिपय गैरलोकतान्त्रिक, अर्धलोकतान्त्रिक वा नवलोकतान्त्रिक मुलुकका ठग नेताले मानकका रूपमा प्रयोग गरेर त्यसबाट आत्मसन्तुष्टि लिएको देखिन्छ। अमेरिकामा नश्लीय हिंसामा भएको वृद्धिलाई नेपालका गृहमन्त्रीले जाजरकोटमा भएको जातीय हिंसाको प्रतिरक्षा गर्न उपयोग गरे। भारतमै भएका बलात्कारका घटनासँग तुलना गरेर नेपालको स्थिति चिन्ताजनक नभएको भनिएको छ। आर्थिक र सैन्य रूपले विश्वकै सर्वाधिक शक्तिशाली र लोकतान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकामा यस वर्ष नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन हुँदैछ। प्रतिस्पर्धामा डेमोक्रेटिक दलका उम्मेदवार पूर्वउपराष्ट्रपति जोसेफ बाइडन र रिपब्लिकन दलका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प छन्। ट्रम्प र बाइडनबीच गत हप्ता भएको बहसले चीनको ग्लोबल टाइम्सलगायत संसारका धेरै छापामा प्रमुख स्थान पाएको थियो। संसारको चासो यसैबाट देखिन्छ। ट्रम्पले निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएमा निर्वाचनको परिणाम अस्वीकार गर्न सक्ने धम्कीपूर्ण अभिव्यक्ति पटकपटक दिएका छन्। पराजित भएको निर्वाचन परिणाम नस्विकार्ने बहाना खोज्नेका लागि यो एक प्रेरणाको स्रोत बनेको छ। के ट्रम्पले निर्वाचनको नतिजा नस्वीकार्न सक्छन् ?

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा नागरिकले उम्मेदवारलाई मतदान गरे पनि ती मत उम्मेदवारले प्रत्यक्ष रूपमा प्राप्त गर्दैनन्। उम्मेदवारले प्राप्त गरेको मतका आधारमा प्रत्येक राज्यले निर्वाचनमण्डल (इलेक्टोरल कलेज) को चयन गर्छ। निर्वाचनमण्डलमा ५० राज्य र राजधानी वासिंगटन डीसी गरेर जम्मा ५३८ जना निर्वाचक हुन्छन्। त्यसैले राष्ट्रपतिमा निर्वाचित हुनलाई त्यसको बहुमत २७० मतको आवश्यकता पर्छ। निर्वाचनमण्डलको मनोनयन प्रक्रियामा राज्य विधानसभा (स्टेट एसेम्बली) को भूमिका अहम रहन्छ। अमेरिकी सर्वोच्च अदालतले सन् २००० को निर्वाचनमा फ्लोरिडा राज्यमा भएको मतगणना विवाद सम्बन्धमा भनेको छ– राज्य विधानसभाले निर्वाचन नै निर्वाचनमण्डलको चयन गर्ने माध्यम हो भन्ने कानुन बनाएर लागू नगरेसम्म नागरिकसँग निर्वाचनमण्डल चुन्ने संघीय संवैधानिक अधिकार उपलब्ध छैन।’ त्यसै फैसलामा भनिएको छ– लोकप्रिय मतको संख्या जेसुकै भए पनि फ्लोरिडा राज्य विधानसभाले जनताका ती मतको अवज्ञासम्म गर्न सक्नेछ। ट्रम्पका अन्य दाउहरूको चर्चा गर्नुभन्दा पहिला केही तथ्य आवश्यक हुन्छन्। अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बरको पहिलो दिनदेखिको पहिलो मंगलबारमा गरिन्छ। यस वर्ष यो नोभेम्बर ३ मा हुनेछ। मतगणनाको सम्पूर्ण कार्य डिसेम्बरको ८ सम्म पूरा हुनुपर्ने छ। डिसेम्बर १४ का दिन निर्वाचनमण्डलले राज्य विधानसभामार्फत आआफ्ना दलका उम्मेदवारलाई मतदान गर्नेछन्। यो नै राष्ट्रपतिको वैधानिक निर्वाचन हो।

आफ्नो अक्षमता लुकाउन अमेरिकाजस्तो लोकतान्त्रिक देशका राष्ट्रपतिले गरेको अभ्यास उनीहरूका लागि एउटा नजिर बन्नेछ।

जनवरीको ६ मा संसद्को संयुक्त बैठकले औपचारिक रूपमा निर्वाचनमण्डलका मतहरूको गणना गर्नेछ। यो एक औपचारिकत मात्र हो, तर राज्य विधानसभाले चयन गरेका निर्वाचनमण्डलमा विवाद भएमा अमेरिकी संयुक्त संसद्सँग त्यस्ता निर्वाचकलाई अयोग्य घोषित गर्न सक्ने संवैधानिक अधिकार छ। कुनै राज्यका त्यस्ता निर्वाचकलाई संसद्ले अयोग्य मानिदिएमा राष्ट्रपतिलाई चाहिने २७० मत कसैलाई पनि प्राप्त नभएर निर्वाचन अनिर्णीत हुन सक्छ। त्यसपछि संसद्सँग आकस्मिक निर्वाचन (कन्टिञ्जेन्टइलेक्सन) को अर्को विकल्प बाँकी रहन्छ। यो निर्वाचनमा कांग्रेस (तल्लो सदन ) का सदस्यहरूले मतदान गर्छन्, तर यो निर्वाचनमा प्रत्येक राज्यको एक मत मात्र हुन्छ। अमेरिकामा ५० वटा राज्य भएकाले निर्वाचन जित्न चाहिने संख्या अब २६ हुन आउँछ (यसमा वासिंटन डीसीले भाग लिन पाउँदैन)। अमेरिकाको कांग्रेसमा अहिले डेमोक्रेटिक पार्टीको बहुमत छ तर २६ वटा राज्यहरू यस्ता छन्, जहाँ रिपब्लिकन पार्टीबाट कांग्रेसमा प्रतिनिधित्व गर्नेको बहुमत छ। ट्रम्पको यो अर्को दाउ हो।

अमेरिकामा दुइटा राज्यबाहेक अन्यमा विजेताले पूरै मत प्राप्त गर्ने पद्धतिका आधारमा निर्वाचन गरिन्छ। प्रत्येक राज्यले चयन गर्ने निर्वाचकको संख्या जनसंख्याका आधारमा निश्चित गरिन्छ। उदाहरणका लागि त्यो क्यालिफोर्नियामा ५५, टेनिसीमा ११ र फ्लोरिडामा २९ जनाको छ। क्यालिफोर्नियाको ५५ भोट पूरै या त ट्रम्पले पाउनेछन् या बाइडनले। कतिपय राज्यहरू डेमोक्रेटतिर ढल्केका छन्। कतिपय रिपब्लिकनतिर। जस्तै क्यालिफोर्नियामा डेमोक्रेटको वर्चश्व छ, टेनीसीमा रिपब्लिकनको। कतिपय राज्यमा त्यो निश्चितता छैन। तिनलाई स्विङ (अनिश्चित) स्टेट भनिन्छ। जस्तो कि फ्लोरिडा एउटा स्विङ स्टेट हो। अमेरिकामा अहिले करिब ११ वटा राज्यहरू स्विङ स्टेटका रूपमा देखिएका छन्। यीमध्ये कतिपयमा राज्यका विधानसभामा रिपब्लिकन दलको बहुमत छ र त्यस्ता दुईवटा राज्यहरूमा गभर्नर पनि रिपब्लिकन दलकै छन्। निर्वाचनमण्डलको चयन यिनैबाट हुनेछ। ट्रम्पले यिनलाई प्रभावमा पार्न सक्ने छन्। ट्रम्पले गर्न सक्ने बबालको गहिराइ कति छ त ?

कम्प्युटरमार्फत गरिएको मतदानको परिणाम नोभेम्बरको ३ मा आउने छ तर अमेरिकामा अहिले ठूलो संख्यामा हुलाकबाट मतदान हुँदैछ। हुलाकबाट प्राप्त मतले नोभेम्बर ३ को निर्वाचनको परिणामलाई फरक पार्न सक्छ। स्विङ स्टेटमा त्यो सम्भावना बढी हुन्छ। हुलाकबाट प्राप्त मत डेमोक्रेटतिर जान सक्ने एउटा अनुमान छ। ट्रम्पले कोरोनाको बेपर्बाह गरेका छन् तर बाइडनले सावधानी अपनाएका छन्। त्यसैले बाइडनका मतदाताले हुलाकको प्रयोग व्यापक रूपमा गर्ने अनुमान गरिएको छ। यसबीचमा अदालतमा मतपत्रको वैधताका विषयमा मुद्दामामिला गरेर समय खर्च गर्दागर्दै डिसेम्बर ८ आयो भने राज्य विधानसभाले निर्वाचनमण्डलको चयन आफूअनुकूल गर्न सक्नेछन्। स्विङ स्टेटमा ट्रम्पले त्यसलाई प्रभावित गर्न सक्छन्। डेमोक्रेटिक र रिपब्लिकनले आआफ्ना संकल्पित कार्यकर्तालाई निर्वाचनमण्डलमा पठाउनुपर्ने विवाद भएमा त्यसको संवैधानिक उपाय देखिँदैन। यसरी विवादित निर्वाचनमण्डल चयन गरियो भने संयुक्त संसद्ले यसको छिनोफानो गर्नेछ।

नोभेम्बर ३ मा जनमत जे भए पनि त्यस दिन बाइडनसँग केही कार्यकर्ता र पत्रकार मात्र हुनेछन्। ट्रम्पले २०१६ को आफूले जितेको निर्वाचनमा समेत धाँधली भएको भनेका थिए। पराजित भएमा आफ्नो पराजय नस्वीकार्ने भनिसकेकाले परिणामको टुंगो त्यस दिन लाग्ने सम्भावना देखिँदैन। उनीसँग कार्यकारी अधिकार छ। उनले श्वेत वर्चश्ववादीलाई तयार भएर बस्न अनुरोध गरिसकेका छन्। उनको मातहतमा नेसनल गार्ड (सेना) समेत हुनेछ। त्यस रात अमेरिकामा एउटा अभूतपूर्व र भयावह स्थिति देखिने सम्भावना छ।

ट्रम्पविरुद्ध पनि अनेक सम्भावना छन्। एउटा भव्य मतान्तरले नोभेम्बर ३ मै राष्ट्रपतिको छिनोफानो हुने सम्भावना जिउँदै छ। आफ्नै दलमा अलोकप्रिय भएकाले ट्रम्पको निजी स्वार्थका लागि राज्य विधानसभाले अस्वाभाविक निर्णय गर्ने सम्भावना कमै देखिन्छ। यो राष्ट्रपतिको निर्वाचनमा केही कांग्रेस र सिनेट (माथिल्लो सदन) का सदस्य पनि निर्वाचित भएर आउनेछन्। जनवरी ३ मा कांग्रेस र सिनेटका नयाँ सदस्यले शपथग्रहण गरेपश्चात् नयाँ संसद् बन्नेछ। कांग्रेस र सिनेट दुवैमा डेमोक्रेटिक दलको बहुमत भएमा ट्रम्पका दाउपेच काम लाग्ने छैनन्। दलप्रति संकल्पित निर्वाचकलाई दलीय आधारमा मत हाल्न अमेरिकी संविधानले बाध्य पारेको छैन। कतिपय राज्यमा संकल्पित निर्वाचकले आफ्नै दलको नेतालाई मतदान गर्नुपर्ने बाध्यता छ, कतिपयमा छैन। त्यस्तालाई फेथलेस (विश्वासघाती) निर्वाचक भनिन्छ। ट्रम्पको घमन्डको उत्तेजनामा पार्टीलाई हानि हुने देखिएमा त्यस्ता फेथलेस सदस्यहरू देखिन सक्छन्। कांग्रेसमा आकस्मिक निर्वाचन भएको खण्डमा पनि कांग्रेसका सदस्यहरूले दलीय आधारमा मतदान गर्नुपर्ने संवैधानिक बाध्यता नभएकाले कांग्रेसका सदस्यहरू फेथलेस हुन सक्नेछन्। कांग्रेसमा अहिलेको डेमोक्रेटको बहुमत कायम रहने सम्भावना जीवित छ। ट्रम्पले सर्वसत्तावादी हुन खोजेको खण्डमा जनवरी ६ देखि २० सम्म कांग्रेस अवरुद्ध गर्ने सामथ्र्य डेमोक्रेटसँग हुनेछ (त्यो अनैतिक र अभूतपूर्व हुन सक्छ)। त्यस्तो अवस्थामा राष्ट्रपतिको अभिषेक हुने दिन जनवरी २० मा कांग्रेसको सभामुखलाई अमेरिकी राष्ट्रपति हुने अवसर मिल्ने छ। अर्थात् अहिलेकै अवस्था कांग्रेसमा कायम रह्यो भने त्यो अवसर न्यान्सीपलोसी (डेमोक्रेट) लाई मिल्नेछ।

ट्रम्पको लोकप्रियतामा ह्रास आएको छ। ट्रम्पलाई समर्थन गर्ने धार्मिक कट्टरपन्थी र श्वेत वर्चश्ववादीको एउटा समूह छ। रिपब्लिकन दलका पारम्परिक मतदाताहरू स्वाभाविक रूपले उनका पक्षमा छन् तर कतिपयले उनको विरोध गरिसकेका छन्। ट्रम्पको शासनमा अमेरिकामा नश्लीय दंगामा वृद्धि भएको छ। असन्तुष्ट वर्गको उनले उपेक्षा गर्दै आएका छन्। उनलाई कतिपय यौनजन्य आरोप लागेका छन्। उनले आफ्नो आयकरको हिसाब जनतासामु राखेका छैनन्। ट्रम्पको विरुद्धमा लेखिएका करिब आधा दर्जनजति पुस्तक हालै प्रकाशित भएका छन्। उनले आफ्ना सहयोगीलाई समेत आफूसँग राख्न सकेका छैनन्। कोरोनाको खतरालाई ट्रम्पले ग्रहण गर्न सकेनन्। पृथ्वीको तापमान वृद्धिसम्बन्धी वैज्ञानिक तर्कलाई उनले झूट भनेका छन्। विवादित व्यक्ति भएकाले उनले महाभियोग भोग्नुपरेको थियो। लोकतन्त्रमा नेताको क्षमता वा अक्षमताको तुलना उनका प्रतिद्वन्द्वीको हैसियतका आधारमा गरिन्छ। प्रतिद्वन्द्वी कमजोर भएको वा प्रतिद्वन्द्वी नभएको निर्वाचन परिणामको उदाहरण भारतमै छ। नेपालमा पनि प्रतिद्वन्द्वी कमजोर हुनुले नेकपालाई मद्दत पुगेको देखिएको छ। उमेरका कारण बाइडनमा राष्ट्रपतिमा हुनुपर्ने जोस र जाँगरको कमी देखिन्छ। यसको थोरबहुत लाभ ट्रम्पलाई मिल्न सक्छ। तर एक प्रखर वक्ता र अल्पसंख्यक समुदायकी महिला कमला हेरिसलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेको लाभ बाइडनलाई मिल्ने देखिन्छ।

युरोपका दक्षिणपन्थीमाझ ट्रम्प लोकप्रिय छन्। निर्वाचनको परिणाम जे भए पनि संसारका ठग, अनैतिक, नक्कली लोकतन्त्रवादी र छद्म राष्ट्रवादी नेताहरूका प्रेरणाका स्रोत ट्रम्प भइसकेका छन्। आफ्नो अक्षमता लुकाउन अमेरिकाजस्तो लोकतान्त्रिक देशका राष्ट्रपतिले गरेको अभ्यास उनीहरूका लागि एउटा नजिर बन्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.