ट्रम्पको हर्कतले लज्जित अमेरिकी लोकतन्‍त्र

ट्रम्पको हर्कतले लज्जित अमेरिकी लोकतन्‍त्र

काठमाडौँ : गत नोभेम्बर ३ को चुनावमा भाग लिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग एउटा नारा थियो 'मेक अमेरिका ग्रेट अगेन !'

ट्रम्पको यस्तो नाराले अमेरिकी 'नश्लीय शुद्धता' लाई मलजल गर्नुका साथै अमेरिकी फर्स्टको तर्कको प्रतिनिधित्व गर्छ । र पछिल्लो ४ वर्षको अवधिमा यस्तो भावना उनै ट्रम्पबाट नै बढी प्रचारित भएको थियो ।

ट्रम्पले आफ्नो कार्यकालमा आफ्नै मेहनतमा गोराहरुको नेता, अस्वेत, महिला र आप्रवासी विरोधी नेताको एउटा प्रष्ट छवि बनाएका थिए । अन्तत: चुनावी परिणाम स्वीकार गर्न उनलाई निकै कठिन भयो ।

त्यसको असर अहिले वासिंटन डिसीमा देखिरहेको छ । ट्रम्पका समर्थकहरुको भीडले संसदमै छिरेर हिंसा मच्चाउँदा चार जनाको मृत्यु भइसकेको छ । यस क्रममा ५० भन्दा धेरै पक्राउ परेका छन् । राजधानी वासिंटन डिसीमा अहिले कर्फ्यू लगाइएको छ ।

अनपेक्षित रुपमा भएको यस्तो अप्रिय घटनाले ट्रम्पलाई असफल राष्ट्रपति मात्रै नभएर असफल राजनीतिज्ञको रुपमा चिनाएको छ । चुनावी परिणाम सार्वजनिक भएको केही सातापछि उनले आफू चार वर्षपछि फेरि ह्वाइट हाउसमा फर्कनसक्ने अर्थात अर्को चुनावमा भाग लिनसक्ने संकेत त दिएका थिए ।

लोकतन्त्रमा त्यो स्वभाविक पनि थियो । तर संसद बैठकमा पद हस्तान्तरणको क्रममा उनले जे जस्तो हर्कत देखाए यसले ट्रम्पलाई २०२४ मा हुने निर्वाचनमा भाग लिन नैतिक रुपमा अयोग्य बनाउनेछ ।

सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिएको अमेरिकामा नागरिक स्वतन्त्रता पनि सुनिश्चित छ । तर ट्रम्पले उपभोग गरेको स्वतन्त्रता त स्वतन्त्रता नभएर स्वच्छन्दता सावित भयो । अर्थात् यसलाई अराजकता भन्दा पनि गैर राजनीतिक हर्कतको रुपमा चित्रित गर्न थालिएको छ ।

ट्रम्प र उनका समर्थकले यसलाई 'विद्रोह' भनेर प्रचार गरे । जो बाइडेनले भने यो विद्रोह नभएर देशद्रोह भएको टिप्पणी गरे ।

इतिहासमा पनि के सावित भएको छ भने गैरराजनीतिक पृष्ठभुमिबाट राजनीतिमा प्रवेश गर्ने शासकहरुको अन्त्य यस्तै अनपेक्षित र अप्रिय हुने गर्छ । र राजनीतिज्ञबाट शासक बन्नेहरुले आफ्नो राजनीति त सिध्याउँछन् नै देशकै राजनीति पनि सिध्याउने खतरा निम्त्याउन सक्छन् ।

ट्रम्पको अराजनीतिक हर्कतहरु पहिले देखि नै देखिएका हुन् । तर ती अहिले विस्फोट भए । जुन अमेरिकी इतिहासमा एउटा अँध्यारो र लज्जित घटनाको रुपमा लेखिँदैछ ।

ट्रम्प अराजनीतिक व्यक्ति हुन् भन्ने कसरी पनि प्रमाणित हुन्छ भने यस्तो विध्वंसात्मक घटनापछि थुप्रै देशका प्रमुखहरुले दुख व्यक्त गरे । आलोचना गरे । उनले सामाजिक सञ्जालमा अफवाह फैलाएको र हिंसा भड्काएको भन्दै सामाजिक सञ्जालहरुले समेत उनीमाथि प्रतिबन्ध लगाइसके ।

तै पनि उनले आफ्ना समर्थकले गरेको विद्रोह भन्दै त्यसमा लाग्न आह्वान गरिरहे । यदी थोरै पनि राजनीतिक आदर्श र नैतिकता राख्ने हो भने उनले आम रुपमा माफी माग्नुपर्छ । आफ्ना समर्थकलाई यस्ता हर्कत नगर्न आह्वान गर्नुपर्छ ।

अमेरिकामा ट्रम्पले जे गरे यो त्यहाँको मात्रै नभएर विश्वका अरु पनि धेरै देशका शासकहरुको समस्या हो । अराजनीतिक हूलबाट नेता बन्ने शासकहरु जनमतको सम्मान त गर्दैनन् नै जनमतको हुर्मत नै लिन्छन् ।

चुनावअघि बाइडेनका समर्थकहरुले ट्रम्पलाई जवाफ दिँदै भनेका थिए, 'मेक अमेरिका काइन्ड अगेन ।' अर्थात् अमेरिकालाई 'ग्रेट' बनाउने कि 'काइन्ड' बनाउने भन्ने लामो बहसको श्रृंखला पनि यही चुनावमा भएको थियो ।

ट्रम्प 'काइन्ड' बन्न नचाहेर 'ग्रेट' बन्ने होडमा लागिरहे । ट्रम्प मात्रै हैन राजा महाराजा वा शासक बन्न चाहनेहरु ग्रेट बन्न लालायित हुन्छन् । सारा शक्तिको दुरुपयोग गरेरै पनि उनीहरु महान बनिरहन खोज्छन् । तर महान बन्ने दुखमा उनीहरु मानवीय बन्न भने बिर्सन्छन् ।

ट्रम्पको आजको दुख पनि त्यही हो । उनी राष्ट्रपति बनुन्जेल आफू महान भएको ठानिरहे । जब जनताले उनलाई हराइदिए उनको शासकीय हर्कत बाहिरीयो । विश्वभरका अरु राजनीतिज्ञहरुले पाठ सिक्नु जरुरी छ 'महान' बन्ने कि मानवीय बन्ने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.