महिनावारी नरोकौं

महिनावारी नरोकौं

‘महिनावारी भनेको महिलाको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो। यो महिलाका शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनको कारणले हुने गर्छ। महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो। महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ। साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ भने कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिन थाल्छ, जुन साधारण मानिन्छ। महिनावारीको अन्तर २८ दिन हुने गर्छ। महिनावारी महिला ४५ देखि ५५ वर्षको उमेरमा सकिन्छ।’ (स्रोत : विकिपिडिया)

संसारभरिका सबै महिलालाई महिनावारी हुन्छ अपवादका केही घटनाबाहेक। महिनावारीलाई संसारका सबै देशहरूमा आआफ्नै तरिकाले बुझ्ने गरेको देखिन्छ। महिनावारी हुने प्रक्रिया सबै महिलामा एकै प्रकारले हुन्छ भन्नेचाहिँ छैन। महिनावारी चक्र फरकफरक हुन सक्छ। जस्तै– पहिलो महिनावारी आठ वर्षदेखि १६ वर्षको बीचमा हुने, अन्तिम महिनावारी ४२ वर्षदेखि ५७ वर्षसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ। महिनावारी समयमा हुने शारीरिक पीडा पनि व्यक्तिअनुसार फरकफरक पाइन्छ भने यो समयमा शरीरबाट बगेर जाने रगतको मात्रा पनि समान हुन्छ भन्ने छैन।

नेपालमा महिनावारीलाई हेर्ने दृष्टिकोण भने संसारभरका बाँकी मुलुकले हेर्नेभन्दा फरक नै छ। पश्चिम नेपाललगायत देशका विभिन्न ठाउँमा परिवारपिच्छे फरकफरक रूपमा महिनावारीलाई लिइन्छ। कति ठाउँमा महिनावारी भनेको महिलाले गरेको पापको फलको रूपमा हेरिन्छ, जुन अन्धविश्वास हो। यसको जरा हाम्रो समाजमा यति गहिरो भएर गाडिएको छ कि यो जरा काट्ने प्रयास गरेको धेरै वर्ष बितिसक्दा पनि हामी पूर्णरूपमा सफल हुन सकेका छैनौं।

हिन्दु धर्मका केही धर्मग्रन्थमा पनि महिला र महिनावारीलाई नकारात्मक रूपमा वर्णन गरेको पाइन्छ। गरुड पुराण र स्वस्थानी कथामा पनि महिनावारी भएकी महिलालाई अपवित्रताको संज्ञा दिँदै विभिन्न नाम राखिएको छ। यी त भए हाम्रा धेरै वर्ष अगाडिदेखि चलेर आएका कुरीति। यस्ता कुसंस्कार र कुरीति परिवर्तन क्रमिक रूपमा हँुदैछन् र हुन पनि आवश्यक छ।

हिन्दु धर्ममा महिनावारी भएकी महिलालाई अपवित्रताको संज्ञा दिइन्छ र धार्मिक, पितृ र सांस्कृतिक कुनै पनि कार्य गर्नुपरेमा महिनावारी भएकी महिलालाई उक्त कार्यमा समावेश गरिँदैन। शदीयौंदेखि चलेको यो चलनले आजका दिनसम्म पनि निरन्तरता पाइरहेको छ। यही कारणले नियमित रूपमा शारीरिक प्राकृतिक प्रक्रियाअनुसार हुने महिनावारीलाई औषधिले रोकेर हामीले हाम्रो स्वास्थ्यमा आफैं खेलबाड त गरिरहेका छैनौं ?

महिनावारी आफैंमा पीडादायी हुन्छ। औषधि प्रयोग गरेपश्चात् महिनावारी चक्रमै असर पुर्‍याउँछ। त्यसैले यस्ता औषधि सकभर प्रयोग नगर्नु राम्रो हुन्छ।

नेपाली दिदीबहिनीले महिनावारी रोक्ने अथवा महिनावारी अगाडिपछाडि हुनका लागि प्रयोग गर्ने औषधि धेरै मात्रामा सेवन गरेको पाइन्छ। हाम्रा धार्मिक र सांस्कृतिक चाडपर्व जति नजिक आउँदै गर्छन्, त्यति नै महिलालाई मानसिक तनाव हुन थाल्छ। लौ मेरो त महिनावारी हुने समय भएको छ औषधि खानुपर्‍यो। दसैं, तिहार, छट, तीज, पूजाआजा, विवाह, पास्नी, व्रतबन्ध, मरिमराउ, पितृकार्य, तीर्थयात्रा, पुराण जति पनि धार्मिक र सांस्कृतिक कार्य छन्, ती कार्यमा सहभागी हुनका लागि महिलाहरू निर्बाधरूपमा महिनावारीलाई पर सार्ने औषधि खाइरहेका हुन्छौं। अगाडि ल्याउने औषधि भए पनि नेपालमा प्रायः पछाडि धकेल्ने नै औषधि सेवन गरेको पाइन्छ।

महिनावारीलाई अगाडिपछाडि सार्ने औषधि प्रयोगले महिलाको शरीरमा कस्तो प्रकारको असर गर्छ भन्नेमा शिक्षण अस्पताल महाराजगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. गीता गुरुङ भन्छिन्– महिनावारीे हर्मोनको कारणले हुने भएकाले यस्ता प्रकारका औषधि पनि हर्मोनबाटै बनेका हुन्छन्। औषधि प्रयोग गरेपश्चात्को महिनावारी चक्रहरूमा अनियमित हुन्छ। टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी आउने, पेट, कम्मर र जीउ दुख्ने र धेरै रगत बग्ने समस्या देखिन्छ। यस्ता औषधिहरू सकभर प्रयोग नगर्ने गर्नैपरेमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्नुपर्छ। कति महिलाले यस्ता औषधि धेरैपटक प्रयोग गरेको पाइन्छ, तर यो राम्रो कुरा होइन। महिनावारी आफैंमा पीडादायी हुन्छ र यस्ता औषधिको प्रयोगले झन् पीडा थपिन सक्छ।

यसरी हेर्दा प्राकृतिक कुरा रोक्नु हँुदैन। जब प्राकृतिक कुरा रोकिन्छ तब त्यसले विकराल रूप लिएका घटना आम मानिसलाई थाहै छ। हाल संसारभर फैलिरहेको कोरोना संक्रमण पनि प्रकृतिमाथि मानवले गरेको हस्तक्षेपको प्रतिफल भनेर केही विज्ञले भन्दै आएका छन्। खोला—नाला थुन्दा, वनजंगल नास्दा, भीरपहरा भत्काउँदाको कारणले बर्सेनि धेरै धनजनको क्षति बेहोर्दे आएका छौं। त्यही भएर महिनावारी सारेर चाडपर्व मनाउन थाल्दा कतै हामीले आफ्नै शरीरमा क्षति पुर्‍याइरहेका छैनौं ? एकपटक गम्भीर सोचविचार गरौं।

दिदीबहिनीहरू, महिनावारी अगाडिपछाडि सार्ने औषधि प्रयोग गर्ने सोच बनाउँदै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ। स्वास्थ्यमा समस्या आयो भने भोग्ने तपाईंहामीले नै हो, रोग अरूलाई बाँड्न सकिँदैन। यस्तो बेलामा घरका अरू सदस्यले ‘औषधि खाएर महिनावारी रोक्नु पर्दैन। हामी छँदैछौं नि। काम गरिहाल्छौं’ भन्ने हो भने महिलाले मासिक प्रक्रियाका कारण आउने समस्या हल हुँदै जानेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.