सुन बिक्री गर्नेलाई जीवन धान्नै मुस्किल

सुन बिक्री गर्नेलाई जीवन धान्नै मुस्किल

धादिङ : बजारमा सुनको मुल्य दिनहुँ बढिरहेको छ। सुनको मुल्य सुन्दा मात्रै पनि जोकोहीको मुखबाट जिब्रो निक्लन्छ। तर यही सुन चालेर जिविका चलाउनेहरुको  दैनिकी भने चलाउनै मुस्किल छ। सुन्दा अचम्म लागेपनि वास्तविकता यही हो।

पुसको चिसो ठन्डी, अपरान्हसम्म पनि घाम देख्न मुस्किल हुने नदी किनारको छेउ। न त जाडोको कुनै गुञ्जायस नै छ, न त त्रिशुलीको चिसो पानीको कुनै परवाह नै । बिहान झिसमिसे भएदेखि नै त्रिशूली नदी किनारमा उनीहरुको दैनिकि सुरु भइहाल्छ । उनीहरु हुन्, वर्षौ अघिदेखि नदी किनारमा सुन चाल्दै आफ्नो जिविका चलाउँदै आएका तनहुँका बोटेहरु ।

हिउँदका ८ महिना यसरी नै त्रिशूली करिडोरका नदी किनारमा सुन चाल्दै घुमन्ते जीवन बिताउँदै आएका बोटे समुदायलाई हिजोआज सुन चालेर पनि आफ्नो दैनिकि धान्न धौ धौ हुने गरेको छ । उपभोग्य वस्तुहरुको मुल्य महिनैपिच्छे बढेको बढ्यै गर्ने तर उनीहरुले चालेको सुनको मुल्य भने सधै स्थिर रहने भएकाले पनि जिविका चलाउन मुस्किल हुने गरेको बोटेहरु बताउँछन् ।

बजारमा सुन प्रतितोला झण्डै एक लाखको हाराहारीमा कारोवार भइरहेको छ । तर नदी किनारमा बालुवा चालेर सुन खोज्ने बोटे समुदायलाइ खोजेको सुन भने ज्यादै न्युन शुल्कमा बिक्री हुने गर्दछ । 

उनीहरुलाई न त सुनको मुल्य नै थाहा छ, न त उनीहरुले खोजेको सुनको मुल्य नै बिक्री गर्दा उचित रकम पाउने गरेका छन् । त्रिशूली नदीमा बालुवामा सुन चालिरहेका सोम बहादुर बोटेले भने, ‘पढाइ लेखाइ छैन, जस्ले जति भनिदिए पनि बेच्नै पर्यो, बिक्री नभए बिहान बेलुका खाने चामल किन्ने पैसा समेत हुन्न ।’

दिनभर बालुवामा सुन चालेर जम्मा भएको सुन उनीहरुले साप्ताहिक रुपमा नजिकका सुन पसलहरुमा लगेर बेच्ने गर्छन । बजारमा सुनको मुल्य एक लालकै एक हजारको हाराहारीमा रहेको बेलामा पनि बोटेहरुले चालेको सुन मुस्किलले ५ सय रुपैया प्रतिलाल बिक्री हुने गरेको छ । हिँउदको ८ महिना नदी किनारमा फिरन्ते जीवन विताउने तनहुँका बोटे समुदायका मानिस वर्षैदेखि यो समस्याबाट पिल्सिदै आएका छन् । 

नदी किनारामा नै छाप्रो हालेर बस्ने अनि दिनभरी बालुवा चालेर सुन खोज्ने आफ्नो मुख्य पेशा बनाउँदै आएको यो समुदायका मानिस अहिले त्रिशूली नदी किनारमा आइपुगेका हुन् । चिसो ठण्डीमा दिनभरी चालेको बालुवाबाट निस्किएको सुन बिक्रीबाट अहिले मुस्किलले पाँचदेखि छ सय आम्दानी गर्ने गरेको बोटे समुदायका मानिस बताउँछन् ।

‘दिनभर पानीमा हात डुवाएर सुन खोज्यो मुस्किलले ५–६ सय कमाइ हुन्छ, त्यसो त पहिले जसो सुन पनि भेटिदैन आजकाल । ' बालुवा चालिरहेकी सानुकान्छी बोटेले भनिन्, ‘पुर्खादेखि नै गर्दै आएको सुन खोज्ने पेशाबाट दैनिकि चलाउन समेत मुस्किल भएको छ, यो काम गर्न छाडौं अरु केही सीप छैन, नछाडौँ अब त गाह्रो हुन थालिसक्यो ।’ उनीहरुले दिनभरी बालुवा चाल्दा मुस्किलले एकदेखि डेढ लालसम्म सुन संकलन हुने गर्दछ ।

उनीहरुले निकालेको सुनको मुल्य पनि अरु बजारमा पाईने सुनको जतिकै मुल्य सरकारले तोकिदिनु पर्ने माग बोटेहरुले गरेका छन् । 'बजारमा पाइने सुन भन्दा पनि शुद्ध हुन्छ हामीले निकालेको सुन,' सोम बहादुर बोटेले भने, 'बजारमा चलेको मुल्य बराबर हामीले निकालेको सुनको मुल्य मात्रै पाए त हामीलाई अलिक सन्तोष हुन्थ्यो ।'

पूर्खौदेखि यो पेशा गरिरहेको भएपनि पछिल्ला वर्षहरुमा पहिलेको तुलनामा सुन पाइने छाडेको सोम बहादुरले बताए । बर्खामास भरि किनारमा बालुवा थुप्रिएका ठाउँमा उनीहरुले सुन चाल्ने ठाउँ हुन्। तर बोटेहरु आइपुग्नु अगावै डोजरले बालुवा उत्खनन गरिसक्ने भएका कारण पनि सुन भेटिन कम भएको बोटेहरुको बुझाइ छ । 

‘पहिले हामीले सुन निकाल्ने बगरभरि आजकाल डोजर र टिपर कुदिरहेका छन्, अनि कहाँबाट पाउनु सुन,' सोम बहादुरले भने । विशेषगरी त्रिशूली बुढिगण्डकी, काली गण्डकी र मस्र्याङ्गदीलगायतका नदीहरुमा बोटे समुदायका मानिस हिउँदका ८ महिना घुमन्ते जीवन बिताउँदै सुन खोज्नका लागि हिँड्ने गर्दछन् ।
 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.