निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली: योगेश भट्टराई

निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली: योगेश भट्टराई

धादिङ: नेकपा प्रचण्ड-माधव समूहका नेता तथा स्थायी समिति सदस्य योगेश भट्टराईले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहको आयोजनामा धादिङवेसीमा भएको विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको उनले बताए ।

नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने, 'नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ । अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’

देश स्थायी शान्तिको लागि अघि बढिरहेको बेला वर्तमान प्रधानमन्त्री देशलाई फेरि गृहयुद्धतर्फ धकेल्न उद्दत रहेको उनले बताए । भट्टराईले भने, ‘हामी शान्ति चाहान्छौँ, ओली र तिनका मण्डलेहरु युद्ध चाहन्छन्, त्यत्रो जनयुद्धलाई समेत शान्तिपूर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिँडाइरहेको देशलाई फेरि गृहयुद्धमा धकेल्न प्रधानमन्त्री उद्दत हुनुभयो ।’

‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासँग साटेर बनाएको संविधान हो, कोही कसैलाई सनक चढेकै भरमा संविधान च्यात्न पाइँदैन,’ नेता भट्टराईले भने ।

सम्बोधनको क्रममा नेता भट्टराईले कांग्रेसप्रति पनि कटाक्ष गरेका थिए । प्रतिनिधिसभामाथि आक्रमण हुँदा पनि नेपाली कांग्रेसले देखाएको दुईधारे चरित्रप्रति उनले कटाक्ष गरे । ‘२०१७ सालमा संसद विटघन हुँदा विपीले अदालतको फैसला कुरेनन्, २०६१ सालमा गिरिजाले कुनै आलटाल गरेनन्, त्यही विपी र गिरिजाका संन्ततीले आज संविधानमाथि यत्रो निर्मम प्रहार हुँदा पनि किन बोल्दैनन्, किन संविधानका पिता मान्ने सुशील दाका कार्यकर्ताहरुले सडकमा आउन आलटाल गरिरहेको छन् ?’ उनले सोधे ।

विरोधसभालाई नेकपाका नेताहरु राजेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, गंगालाल तुलाधर लगायतले सम्वोधन गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.