आंशिक खुल्यो तातोपानी

आंशिक खुल्यो तातोपानी

काठमाडौं : उत्तरी छिमेकी मुलुक चीनले विभिन्न बहानामा बन्द गर्दै आएको तातोपानी नाका मंगलबारदेखि पुनः सञ्चालनमा ल्याएको छ। उक्त नाका पछिल्लो २० दिनदेखि पूर्ण रूपमा बन्द थियो।

चिनियाँ सरकारले मितेरी पुलको पुनर्निर्माण गर्नुपर्ने भन्दै गत माघ ७ देखि २७ गतेसम्म नाका बन्द गरेको थियो। चीन सरकारले उक्त पुलको पुनर्निर्माणपश्चात् मंगलबार दिउँसोदेखि तातोपानी नाका सञ्चालनमा ल्याएको हो।

नाका सञ्चालनमा आएपछि मंगलबार दिउँसोदेखि साँझसम्म जम्मा ६ वटा कन्टेनर सामान बोकेर भोटेकोसी गाउँपालिकाको लार्चास्थित सुक्खा बन्दरगाहमा आइपुगेको हो। सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले तातोपानी नाका सञ्चालनमा आएपछि मंगलबार ६ वटा कन्टेनर आइपुगेको जानकारी दिए। उनका अनुसार मितेरी पुलपारि अड्केका ६ वटा कन्टेनर उक्त बन्दरगाहमा आइपुगेको हो।  ‘त्यहाँबाट नेपाली नम्बर प्लेटका ६ वटा कन्टेनरमा लोड गरी गन्तव्यस्थलका लागि साँझसम्म छाडिएको हो’, खत्रीले भने, ‘नाका सञ्चालनमा आइसकेपछि सुरुआती समयमा केही कम संख्यामा कन्टेनर आउने तय भए पनि विस्तारै यसको संख्या पूर्ववत् रूपमा बढ्दै जानेछ।’ तातोपानी नाका पुनः सञ्चालनमा आए पनि यो हालसम्म एकतर्फी मात्रै हो। यो नाकासहित रसुवाबाट हालसम्म नेपाली वस्तुको निर्यातको बाटो भने खुलेको छैन। 

उनका अनुसार बुधबार सामान बोकेर करिब ८ वटा कन्टेनर भित्रिनेछ। यसरी थुप्रिएका सम्पूर्ण कन्टेनर भिœयाइसकेर खासाबाट पूर्ववत् रूपमा दैनिक कम्तीमा २० वटा कन्टेनर भित्र्याउने तयारी भएको खत्रीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। ‘कन्टेनरको संख्या बढाउने विषयमा चिनियाँ पक्षले पनि सकारात्मक चासो देखाएकाले आगामी आइतबारदेखि यो नाका पूर्ववत् रूपमा सञ्चालनमा आउनेछ’, खत्रीले बताए। चिनियाँ पक्षले दैनिक ४० को संख्यामा सामानसहित कन्टेनर पठाउने आन्तरिक तयारी गरेको भन्सार कार्यालयले जनाएको छ। लार्चास्थित भन्सार कार्यालयमा हालसम्म ४८ वटा ट्रली मात्रै भएकाले दैनिक करिब २० वटासम्म कन्टेनर आउन सक्ने व्यवस्था मिलाइएको खत्रीको भनाइ छ।

व्यापारिक दृष्टिले चीनलाई जोड्ने प्रमुख नाका तातोपानी नाका नै हो। विभिन्न बहानामा पटक–पटक अवरुद्ध भएको तातोपानी नाकाको विकल्पका रूपमा रसुवा नाका खोलिएको हो। चीनसँग वार्षिक रूपमा २० अर्बभन्दा बढीको आयात र करिब तीन अर्ब मूल्यबराबरको निर्यात हुन्छ। यसको प्रमुख मार्ग तातोपानी नाका हो।  नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार तातोपानी नाका खुलेपछि पूर्ववत् रूपमा पर्याप्त परिमाणमा कन्टेनर आउन नसकेको जानकारी दिए। पछिल्लो ३–४ वर्षदेखि जुन समस्या व्यहोर्न व्यवसायी बाध्य थिए, त्यही समस्या अहिले पनि भोग्न बाध्य भएको कटुवालले जानकारी दिए।  उनले भने, ‘तातोपानी नाका सञ्चालन भए पनि हामीले मागअनुसार पर्याप्त संख्यामा कन्टेनर भित्र्याउन सकेनौं। दैनिक ५–६ कन्टेनर भित्र्याएर व्यापार उँभो लाग्दैन। हामीले दैनिक कम्तीमा २५ देखि ३० कन्टेनर भित्र्याउन पाउनुपर्ने माग राखेका छौं।’

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्मको अवस्थाले चीनले ‘कोटा प्रणाली’ लागू गरेको जानकारी दिए। उनका अनुसार नयाँ सामानसहित चीनबाट कन्टेनर आइपुगेको छैन। पुरानै सामान बोकेर थन्किएको कन्टेनर मात्रै आइपुगेको हो। त्यो पनि ६ वटा कन्टेनर मात्रै आउँदा चीनले अझै आयात निर्यातका लागि बाटो सहज नबनाएको पौडेलले जानकारी दिए।

नेपाली कन्टेनर निर्बाध रूपमा खासा बजारसम्म जाने अवस्था सिर्जना नहुँदासम्म द्विपक्षीय व्यापारमा चिनियाँ अंकुश कायमै रहने पौडेलले बताए। उनका अनुसार चीनमा नयाँ वर्षको समय नजिकिँदै गएकाले अबको करिब ३ साता उक्त नाका प्रभावित हुनेछ। नयाँ वर्षको समयमा चीनले बर्सेनि सीमा नाका पूर्ण रूपमा बन्द गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.