अपाङ्गता भएकालाई यातायात सुविधामा सधैं किचलो

अपाङ्गता भएकालाई यातायात सुविधामा सधैं किचलो

धादिङ : गत माघ २५ गते नेत्रहीन संघ धादिङका अध्यक्ष अस्विन लम्साल धुनीवेशीको एक कार्यक्रममा सहभागी हुन सदरमुकाम धादिङवेशीबाट गाडी चढे। गाडी खाली नै भएका कारण उनले आरक्षण सिट पनि पाए। तर भाडा तिर्ने बेलामा उनको सहचालकसँग भनाभन भयो। अस्विनले अपाङ्गता परिचय पत्र देखाउँदै छुट मागे तर सहचालकले छुट दिन नसक्ने, छुट चाहिए बरु झरेर अर्को गाडी चढ्न भन्दै तुच्छ शब्द प्रयोग गरे। 

लामो समयदेखि अपाङ्गता अधिकारमा पैरवी गर्दै आएका दृष्टिविहीन लंसाललाई सहचालकको तुच्छ वचनपछि तत्कालै झर्न मन लागेको थियो। तर आफैँलाई  समस्या हुन्छ भनेर उनी मलेखुसम्मको पूरा भाडा तिरेर मलेखुमा ओर्लिए।

लगत्तै आफूलाई बसले ओरालेको र भाडा छुट नदिएको विषयमा गजुरी प्रहरीलाई फोन गरी गाडी नम्बर टिपाइदिए। लम्साललाई मलेखुमै झारेर काठमाण्डौतर्फ गएको गाडी अपाङ्गता भएकालाइ छुट नदिएको र बीचैमा ओरालेको भन्दै गजुरी स्थित ट्राफिक प्रहरीको फन्दामा परेर एक हजार जरिवाना बुझाएर काठमाण्डौंतर्फ लाग्यो।

यो एउटा प्रतिनिधि घटना हो। विद्यार्थी, अपाङ्गता भएकाहरु र जेष्ठ नागरिकलाई यातायात सुविधामा सरकारले नै छुट दिने नीति बनाएको छ तर धादिङमा भने त्यसको उचित कार्यन्वयन हुन सकेको छैन। विद्यार्थी र जेष्ठ नागरिकले यातायात सुविधामा धेरैजसो अवस्थामा छुट पाउने गरेको भए पनि अपाङ्गता भएकालाई भने छुट लिन र सवारी साधनमा यात्रा गर्न निकै नै समस्या पर्ने गरेको छ।

सरकारले गत भदौ १ गते अपाङ्गता अधिकार सम्बन्धी नियमावली जारी गर्दै अपाङ्गता भएकालाई यातायात सुविधामा विषेश छुट दिन निर्देशन नै दियो तर कार्यन्वयनको पाटोमा भने यो नियम निकै फितलो देखिएको छ।

नियमावलीमा १० सिटसम्म एउटा, १० देखि २० सिटसम्म २ वटा २५ सिटसम्म ३ वटा र २५ भन्दा बढी सिट भएका सवारीसाधनले ५ वटा सिट अपाङ्गता भएकाहरुको लागि आरक्षण छुट्याउनु पर्ने उल्लेख गरिएको छ। तर अधिकांश सवारी साधनले २ सिट छुट्याए पनि त्यसको कार्यन्वयन भने गरेका छैनन्।

काउन्टरमै पुगेर टिकट काटेको बेलाबाहेक बीचमा चढाएको बेला आरक्षण सिट नपाइने गरेको लम्सालले बताए। उनले भने, ‘कतिपय सवारी साधनले आरक्षण सिट माग्छन्, भाडा छुट माग्छन् भनेर बीच बाटोबाट अपाङ्गता भएकालाई चढाउँदै खोज्दैनन्, धेरै पटक म आँफैले पनि त्यो समस्या भोगेको छु। अब टिकट काउन्टरमै गएर टिकट काट्ने बेलामा पनि छुट दिन गाह्रो मान्छन्।’

अपाङ्गता भएकालाई एक ठाउँबाट अर्को ठाउँमा काम विशेषले जाँदा सवारीधनीहरुले निकै नै अपमानजनक ब्यवहार गरेको, गाडी नचढाइदिएको नमिठो अनुभव धेरै जनासँग छ।

जिल्ला स्थित अपाङ्गता अधिकार र सरोकार सम्बन्धी काम गर्ने विभिन्न संघसस्था, जिल्ला प्रशासन र यातायात संघसस्था बीच छलफल गरेर यातायात संचालकहरुले अपाङ्गता आरक्षण सिटको टिकट कहिल्यै पनि नकाट्ने र अपाङ्गता भएका व्यक्ति जहाँबाट चढे पनि उक्त आरक्षण सिट दिने ब्यवस्था मिलाइएको भए पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेको अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले बताए। उनले भने, ‘निर्णय गर्ने कुराहरुमा सबै थोक निर्णय भएको छ, छुट सुविधा स्वत दिनुपर्ने हो, तर माग्दा समेत दिन आनाकानी गर्छन्।’

यातायात मजदुरलाई अपाङ्गता आरक्षण सम्बन्धी सचेतना दिन नसकेको कारण तथा कतिपय अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र नदेखाउनाले पनि छुट सुविधा पाउन नसकिरहेको खतिवडाको भनाइ छ। त्यस्तै अरु सामान्य मान्छेले टिकट काट्दा पनि अपाङ्गता भएकालाई राखिएको आरक्षण सिट नलिइदिने हो भने धेरै हदसम्म समस्या समाधान हुने खतिवडाको बुझाइ छ।

२०६८ सालको जनगणना अनुसार धादिङमा ७ हजार ८ सय २७ जना अपाङ्गता भएका व्यक्तिहरु छन्। तीमध्ये अलि बोल्न जान्ने, उजुरी गर्न जान्ने सवालजवाफ गर्न सक्ने व्यक्तिहरु बाहेक अरु सबै यातायातमा पाउने छुट सुविधाबाट वञ्चित भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.