वामदेवविरुद्ध ‘भ्रम अभियान’
लेख्न, बोल्न, आलोचना गर्न सजिलो छ, कुरा काट्न आनन्द आउँछ तर आलोचना र प्रतिशोधका पनि सीमा हुन्छन् होइन र ?
यही फागुन १४ गतेको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित विजय शर्माले लेख्नुभएको ‘वामदेवको भ्रम अभियान’ अभिमतबारे केही लेख्ने जमर्को गरेको छु। विजयजीले वामदेवका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन् र हदैसम्मका लज्जित हुने भाषामा अपमान गरेका छन्।
वामदेव नेपालको कम्युनिस्ट आन्दोलनका समकालीन शीर्ष नेतामध्ये एक हुनुहुन्छ। उहाँ प्रधानमन्त्री केपी ओली, झलनाथ खनाल, प्रचण्ड, माधव नेपालका समकालीन नेता हुनुहुन्छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई यो उचाइमा ल्याउन उहाँको योगदान छ। उहाँ कुशल संगठक, सिद्धान्त पोख्त व्यक्तित्व हुनुहुन्छ। नेपालमा जनयुद्ध चरम ढंगले अगाडि बढिरहेका बेलामा ठूलो खतरा मोलेर रोल्पा गई साहसिक रूपले निर्णय गरी जनयुद्ध र जनआन्दोलनलाई एकाकार गराई २०६२ को आन्दोलन सम्भव गराउने र जनयुद्धलाई शान्तिपूर्ण अवतरण गर्ने काममा वामदेवको ठूलो योगदान छ।
नेपालको संविधान बनाउने कार्यमा वामदेवको योगदान छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा चुनावी एकताका प्रमुख सूत्राधारमध्येका एक नेता वामदेव हुनुहुन्छ। यी दुई पार्टीबीचको एकता गराउन उहाँको भूमिका छ। वामदेवसँग देश र जनताको उन्नति, प्रगति र समृद्धिका निम्ति भिजन, विचार, सपना, योजना र दृढ इच्छाशक्ति छ।
‘एकता’ अभियानलाई ‘भ्रम’ अभियान भन्नु नै हास्यास्पद र आपत्तिजनक छ। नेकपाको एकता भएमा नेपालमा राजनीतिक स्थिरता आउँछ, शान्ति आउँछ तब नेपालमा लगानीमैत्री वातावरण बन्छ। ठूला उद्योग खुल्छन्। ठूला संरचना बन्छन्। रोजगार बढ्छ। नेपालको अर्थव्यवस्था सुदृढ हुँदै जान्छ भनेर केही दलाल नेकपा फुटाउन दिलो ज्यान छाडेर लागेका छन्। नेकपाको एकताको एउटै आशा वामदेवको एकता अभियान हो। तसर्थ यी देशीविदेशी दलाल वा नेपाल र नेपालीका शत्रु नेकपा फुटोस् भनेर प्रार्थना गरिरहेका छन् र वामदेवलाई समाप्त गर्न पाए ती देशद्रोहीका इच्छा पूरा हुने हुनाले विजय शर्मालगायतले नै यी झूट कथा रचना गरेका हुन्। पार्टी कमिटीको बैठकमा वाद, विवाद, प्रतिवाद, आलोचना, आत्मालोचना, फरक मत राख्ने विधिसम्मत काम हो। विधिसम्मत कामलाई पार्टी विभाजनको बीउ रोपेको भन्न मिल्छ ? ‘फूलको आँखामा फूलै संसार ‘काँडाका आँखामा काँडै संसार’ भने झैं कुकुर भुक्दै गर्छन्, हात्ती लस्किँदै गर्छ र नेपाल र नेपालीका लागि नेकपाको एकता अभियान निरन्तर अगाडि बढ्छ। एकता अभियान कुनै व्यक्ति होइन, यो एक संस्था हो। यो अभियान देशका ७७ जिल्ला, ७५३ वटै स्थानीय तह र सबै वडामा फैलिसकेको छ।
१८ पेजको अवधारणा पत्रमा स्पष्टै लेखिएको छ कि यो अभियान तटस्थ अर्थात् कुनै समूहपट्टि ढल्केको छैन र यसको एउटै उद्देश्य नेकपाको एकता गर्नु हो। तर दुवैको सही कदमको प्रशंसा गर्ने र गलत कदमको शिष्टतापूर्वक आलोचना गर्नु हो। प्रतिनिधिसभा विघटन गर्ने कदम गैरसंवैधानिक छ भन्ने कुरा त सर्वोच्च अदालतले गरेको निर्णय हो; जुन निर्णयलाई यो सरकारले पनि आत्मसात गर्ने भनेकै छ। तसर्थ यो अभियान एकापट्टि ढल्केको भन्नु पूर्वाग्रह मात्र हो।
टनकपुर सन्धि र महाकाली एकीकृत विकास सन्धिका बारेमा विजयजीले लेख्नुभएको कुरा सरासर झूटो छ। सर्वोच्च अदालतले नै यो विषयमा पनि फैसला गरेको छ। महान् नेता गणेशमान सिंहले सर्वोच्च अदालतको उक्त फैसलापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्नुभएको थियो। नेपालगन्जमा सम्पन्न तत्कालीन नेकपा एमालेको छैटौं महाधिवेशनको प्रतिनिधिको हैसियतले जोसुकैसँग कुरा गर्न तयार छु। उक्त सन्धि मुलुकको सम्मानमा आँच आउने प्रकृतिको थियो। म आफूलाई गौरव गर्छु कि उक्त सन्धिको विपक्षमा उक्त महाधिवेशनमा मतदान गरेको थिएँ। वामदेवको त्यस बेलाको भूमिका देशभक्तिको प्रतीक थियो।
परी थापा, उमेश गिरी, खुमबहादुर खड्का, प्रदिप नेपाल आदिका प्रसंग ल्याएर जुन आरोप लगाइएको छ, यो शतप्रतिशत झूटको खेती हो। यो युग विज्ञानको युग हो। विज्ञानमा विश्वास गर्नेले प्रमाणविना बोल्न मिल्दैन। कसैले भ्रष्टाचार गरेका भए कारबाही गर्ने संस्थाहरू नेपालमा सक्रिय नै छन्। म चुनौती दिन चाहन्छु कि प्रमाण ल्याउनुस् र कारबाही गर्नुस्।
मानव सभ्यता नै लज्जित हुने शब्द प्रयोग गरेर गोयबल्स शैलीमा वामदेव गौतमजस्ता नेकपाका शीर्ष नेतालाई गाली गर्ने विजयजीजस्ता लेखकलाई कायरबाहेक के नै भन्न सकिन्छ र ?
वामदेवको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टीको चुनावी घोषणापत्र, वामदेवले लेख्नुभएका ‘नेपाल नवनिर्माणको महाअभियान’, ‘बहुदलीय समाजवाद’ लगायतका लेख, रचना सबैमा मधेसी जनताको उच्च सम्मान गर्नुभएको छ। मधेसको विकास र समृद्धिका पक्षमा जोडदार ढंगले वकालत गर्नुभएको छ। तर विजय शर्माले नैतिक एवं आत्मिक शक्ति गुमाइसकेको दन्त्यकथाका छट्टु स्यालले झैं गौतमलाई कपोलकल्पित मधेसविरोधीको आरोप लगाउन खोजेका छन्। ‘सत्य’ सँग लडाइँ गरेपछि एक दिन धुलोमा मिलिन्छ भन्ने कुरा एक दिन प्रमाणित हुने नै छ। नेपालको एकीकरण एवं प्रजातन्त्र प्राप्तिको आन्दोलनमा मधेसी जनताको ठूलो योगदान छ। श्रमजीवी, पवित्र मधेसी जनताले उठाएका एवं उठाउने जायज मागलाई उचित सम्बोधन गर्नुको सट्टा जहिले पनि क्षेत्रीय अखण्डतासँग जोडेर हेर्ने केन्द्रको प्रवृत्ति खतरनाक छ भन्ने वामदेवजस्ता नेतालाई मधेसी दमन गर्नेजस्ता हदैसम्मको आरोप लगाउनु अपराधपूर्ण कार्य हो।
नेपाली राजनीतिको सबभन्दा खराब, मूल्यहीन, उपयोग हुने, अस्थिर, ‘लपलपे’, शिखण्डी, ‘काँचो वायु’, महाभ्रस्ट, हास्यास्पद, गुटका प्रतीक, जोखाना हेर्ने र भँडुवाजस्ता निकृष्ट एवं मानव सभ्यता नै लज्जित हुने शब्द प्रयोग गरेर गोयबल्स शैलीमा वामदेव गौतमजस्ता नेकपाका शीर्ष नेतालाई गाली गर्ने विजयजीजस्ता लेखकलाई कायरबाहेक के नै भन्न सकिन्छ र ?
निष्कर्ष
‘विवाद’ जीवन्तताको पर्याय हो र संसारका कोही पनि राजनेता विवाद मुक्त छैनन् र हुँदैनन् पनि किनकि निरन्तरतामा क्रमभंगता गर्दा विवाद हुन्छ नै। शतप्रतिशत पर्फेक्ट दुनियाँमा कोही, केही पाउन सकिन्न।
यो युग निषेधको युग होइन, बरु सहमति, सहकार्य, सौहार्दता, शिष्टता र कम्प्रोमाइजको युग हो। प्रभावकारी सञ्चारले जस्तोसुकै कुरा पनि मिलाउन सकिन्छ। अन्धभक्तता र अन्धविरोध दुवै अतिवाद हुन्। रिस, ईष्र्या, डाह, द्वेष, आक्रोश, प्रतिशोध, बदला लिएर आत्मसन्तुष्टि लिने प्रवृत्तिको विनाश निश्चित छ। उदारता, त्याग, माया, प्रेम, सद्भावले धेरै ठूला काम गर्न सकिन्छ।
मानिससँग तर्कको अन्त्य भएपछि नयाँ कथा रचना गरेर होहल्ला र गाली गर्ने मानिसको प्रवृत्ति हुन्छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको चुनावी मोर्चा निर्माण र त्यसको व्यवस्थापनमा लामो समय दिनुपर्दा आफ्नो निर्वाचन क्षेत्रमा समय दिन नपाउँदा र विदेशी दलाल र अन्तरघातीका कारणले हालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले मात्र विजयी नहुनुभएका वामदेवलाई जनताबाट अलग भएको भन्नु खुरापातको पराकाष्ठा मान्नुपर्छ।
समाजको जरासम्म भिजेको, लाखौं कार्यकर्ता र जनताको साथ रहेका, असीम इच्छाशक्ति भएका, आधा शताब्दीदेखि कम्युनिस्ट आन्दोलनमा लागेका, एउटा साहसिक, त्यागी, विचारक, निष्ठा र संघर्षको प्रतिमूर्ति, सिद्धान्तकार, देशभक्तलाई कथित आरोप लगाई हदैसम्मको अपमान गर्नु कायरता हो। लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ। कुरा काट्नमा आनन्द आउँछ। तर आलोचना र प्रतिशोधको पनि निश्चित विधि, सीमा हुन्छन् होइन र ?
उज्यालो सम्भावना बोकेको हाम्रो देशलाई हरतरहबाट माफिया कमजोर पार्न चाहन्छन्। दलालहरू मौकाको चौका हान्न कोसिस गरिरहेका छन्। नेपाललाई सधैं अस्थिर र गरिब देख्न चाहने त्यही अदृश्य शक्तिले नै जननेता मदन भण्डारीको हत्या गरेका थियो। ‘एकता’ लाई ‘भ्रम’ भन्ने नेपाल र नेपालीको शत्रु नभए के हुन्छ ?
– अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्य हुन्।