सडकमै कसरी पुरिइन् महिला ?

सडकमै कसरी पुरिइन् महिला ?

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ।

शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्न गएका थिए। अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन्। ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो शव पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो।’

सरस्वतीका छोरा सन्तबहादुर कुमालले यो घटनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आशंका गरे। ‘चालक आफैंले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन्’, सन्तबहादुरले भने, ‘चालकले आफूभन्दा माथिकालाई सोधेर घटना लुकाउन नियतवश यो सब गरेको कुरामा हामीलाई शंका छ।’

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले घटनामा मुछिएको डोजरका चालक फरार रहेकाले विस्तृत अनुसन्धान हुन नसकेको बताए। ‘ती महिलाको शव हामीले माटोले पुरिएको अवस्थामा निकालेका हौं। डोजरले ठक्कर दिएपछि मृत्यु भएर जानाजान पुरियो कि घाइते अवस्थामै पुरियो कि ? एक ठाउँमा घटना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अनुसन्धानमै छौं’, एसपी खड्काले भने।

घटनापछि आक्रोशित स्थानीयले उक्त डोजरमा आगजनी गरेका थिए। डोजर चालक, डोजर साहु अथवा सडकका ठेकेदारलाई पक्राउ गर्नुपर्ने माग राख्दै स्थानीयले शव उठाउन पनि दिएका थिएनन्। सोमबार दिउँसो १ बजेतिर घटना भए पनि साँझसम्म सरोकारवाला पक्ष सम्पर्कमा नआएपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका थिए।

‘प्रहरीले डोजर चालक, साहु ठेकेदार कोही नआउँदै शव उठाएर पोस्टमार्टमका लागि लैजान खोजेपछि हामीले प्रहरी चौकी घेराउ गरेका हौं’, नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने,। साँझपख प्रहरी चौकीमै ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरेको थियो।

स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। पीडित परिवारलाई रोजगारी र क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरूले राखेका छन्। स्थानीयको असन्तुष्टिका बीच प्रहरीले मंगलबार घटनास्थलमा जाँचमुचुल्का गरी २४ घण्टापछि सरस्वतीको शव पोस्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाएको छ। बुधबार बिहान १० बजेसम्म आरोपित पक्षलाई प्रहरीमा बोलाउने मौखिक सहमतिमा शव पोस्टमार्टम गर्न पठाइएको स्थानीयले बताएका छन्।

फरार चालकको खोजी कार्य तीव्र बनाइएको धादिङ प्रहरीले जनाएको छ। ‘सडक निर्माण कम्पनीका प्रतिनिधि, डोजर साहुका प्रतिनिधि पनि प्रहरीको सम्पर्कमै छन्’, जिल्ला प्रहरी प्रमुख खड्काले भने, ‘चालक पक्राउ गर्न जिल्लाका सबै प्रहरी युनिटमा हुलिया पठाएर नाकाहरूमा विशेष निगरानी गर्न निर्देशन दिएका छौँ।’

सरस्वती फर्किरहेको सडक कालोपत्रे गर्न चौडा पार्ने काम भइरहेको थियो। यात्रुले कोही व्यक्ति पुरिएको देखेपछि घटना थाहा पाएको स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.