कोरोनामा मुक्तिको उपाय

कोरोनामा मुक्तिको उपाय

जब महामारी र प्रतिकूलता आइपर्छ तब दुःख, कष्टको महसुस हुनु स्वाभाविक हो। यस्तो समयमा मन धेरै अत्तालिन्छ त्यसैले मनलाई शान्त कसरी राख्ने त्यो नै दुःख मुक्तिको उपाय पनि हो। किनकि मन आत्तिँदैमा समस्याको समाधान हुँदैन। बरु दुःखमा पनि मन शान्त राख्न सके समाधानका उपाय थाहा लाग्दछ। गतवर्षभन्दा फरक तरिकाले फैलिएको कोरोना भाइरसले छिट्टै आक्रमण गर्ने लक्षण देखिएको छ। छिमेकी मुलुक भारतमै अकस्मात तिब्र गतिमा फैलिएको आँकडाबाट महसुस गर्न सकिन्छ अब केवल सकेसम्म घरभित्रै एकान्त र शून्यतामा समय बिताउनु बुद्घिमानी हुनेछ। त्यसका लागि एकान्तपन के हो, शून्यता र निराकारलाई कसरी जीवनशैली बनाउने र यसबाट आन्तरिक लाभ के हुन्छ अनि यो महामारीमा धैर्यता र समझको विकास कसरी हुन्छ ? केही आयामलाई जान्ने र व्यवहारमा उतार्ने कोशिस गरौं :

शून्यता र एक्लोपनको जीवन 
एक्लै त बस्नै सक्दिनँ। एक्लै बस्दा त बिरामी परेजस्तै लाग्छ। एक्लै हुँदा नरमाइलो लाग्छ। यस्ता अभिव्यक्तिहरू प्रायःजसोबाट सुन्नमा आइरहन्थे। भिडभाड, घुमघाम, भेटघाट र कुराकानी गरेर समय बिताउन मन लाग्छ धेरैलाई। यसको अर्थ रमाइलो पनि अरूबाट लिनुपर्छ, अरूबाटै पाइन्छ, एक्लै रमाउन सकिन्न भन्ने धारणा बसिसकेको छ। बहिर्मुखी भएको छ स्वभाव, एक्लै रमाउने र अन्तर्मुखी हुने कला विकास भएको छैन। तर, विगत एक वर्षदेखि कोरोनाको कारण अस्तित्वमा यस्तो परिस्थिति आयो कि– घरमा भिड सहर शून्य छ, मानिस आफ्नै घरमा कैदी भए, पैसा सस्तो लाग्छ बरु आज जिन्दगी महंगो भएको छ। अस्तित्वको नियम पनि गजबको छ एक्लै बस्नुलाई सजाय सम्झने मानिसलाई आज एक्लै बस्न पाए म खुसी हुने थिएँ, रोग मुक्त हुने थिएँ र जीवन पाउने थिएँ कि भन्न बाध्य बनाइदिएको छ। कस्तो महामारी सृजना भएको होला जसको उपचार केवल एक्लै हुनु र टाढा हुनुमा छ। यसमा विमति जनाउनासाथ अस्पतालको शै¥यामा पुग्नुपर्ने अवस्था आउन सक्छ। 

बाहिरी आकर्षणबाट माथि उठ्न सकेमा मात्र स्व–बोधमा जान सहज हुन्छ। स्व–बोध र आत्मसत्ताको अनुभूति गर्न पाउनु जत्तिको ठूलो उपलब्धि र सिकाइ अरू के होला जीवनमा ?

एकान्तवास र ध्यानको अभ्यास
हामी एक्लै बस्न नसक्नुको कारण हामीमा ध्यानको अभ्यास छैन। ध्यान भनेको नोकरीबाट अवकाश पाएपछि अभ्यास गर्ने हो, उमेरमा परिश्रम नै गर्नुपर्छ। उमेरमै अर्थात् शरीरमा ऊर्जा हुँदैमा ध्यान गरेर समय खेर फाल्नु हुँदैन। यो समय त कमाउने या आर्जन गर्ने समय हो, धन संकलन गर्ने, भविष्यका लागि केही संग्रह गर्ने समय हो भनेर पढालेखाहरूबाट नै सुन्न पाइन्छ। अर्कोतिर संसार हेर्न बानी परेका हामी ध्यान भनेको आँखा बन्द गरेर एकाग्र हुनु हो जुन कठिन अभ्यास हो भन्ने गरेको सुनिन्छ। ध्यान आँखा बन्द गरेर भित्र हेर्नु मात्र होइन, बन्द आँखाले भित्र हेर्दा जुन निराकार देखिन्छ त्यसमा स्वयंको स्वभाव र गुणवत्ता थाहा पाउने अभ्यास पनि हो। यो अन्तर्मुखी हुने अभ्यासले बौद्घिक तथा मानसिक विकारहरूलाई परास्त गर्ने मात्र होइन, जीवनमा अनुशासन कायम राख्नसमेत मद्घत गर्दछ।

जब प्रतिकुलता र महामारी फैलन्छ तब हाम्रो मन अशान्त, चिन्तित र भययुक्त बन्छ। यो भय र चिन्तामुक्तको उपचार नै ध्यान हो। ध्यानको अभ्यासले मानसिक प्रवृत्तिलाई नियन्त्रण गर्न मद्घत गर्दछ। नकारात्मक सोच र व्याकुलतालाई निर्मुल गर्दछ। स्वासको माध्यमबाट अन्तर्मुखी हुने अभ्यासले थाहा नपाइकन निराशा, तनाव र अस्थिरतालाई शान्त बनाउँछ र शून्यतामा पनि कति गहिराइ छ भन्ने बोध दिलाउँछ। जीवनलाई सहजता, संयमता र धैर्यताको शीलले कसरी अगाडि बढाउने त्यो कला प्रदान गर्दछ। 

एक्लोपन सन्तुलनको विज्ञान 
ओशो भन्नुहुन्छ– अरूलाई ध्यान दिनु प्रेम हो र स्वयंलाई प्रेम गर्नु ध्यान हो। त्यसैले ध्यान र प्रेम मेरा दुई सूत्रलाई जीवनमा उतार्नेले जीवनमा कष्ट होइन उत्सवको अनुभूति लिन सफल हुन्छ। केही प्रतिशतलाई छोडेर, हामी किन ध्यानको अभ्यासमा डुब्न सक्दैनौं त ? के हामी अरूलाई ध्यान दिन या प्रेम दिन सक्षम छैनौं ? हामी स्वयंलाई प्रेम गर्न जान्दैनौं ? हुन पनि सक्छ हाम्रो धारणाले त प्रेम अरूबाट पाउने हो र स्वयंलाई त किन प्रेम गर्नु पर्यो भन्ने संस्कारबाट नै विकसित भएका छौं अधिकांश हामी। संसारको सफलताकै भागदौडमा हाम्रो मन र विचार यति प्रवाहमान भइरहेको हुन्छ कि भावनात्मक सन्तुलनबाट हामी पर पुगिसकेका हुन्छौं। मनले जितिसकेको हुन्छ, भावना, करूणा, संवेदनशिलताको सट्टामा कठोरता, स्वार्थ र लोभीपनाको विकास भएको हुन्छ। एकान्तमा ध्यानको अभ्यास बढाउदै जाने हो भने मन स्थिर, विचार शान्त, स्वभाव सहज र जीवनमा सन्तुलनको अवस्था अनुभूति हुन थाल्दछ। आन्तरिक शान्ति, प्रेम, करूणा विकसित भएको स्वयं महसुस गर्न सकिन्छ। बाहिरी आकर्षणबाट माथि उठ्न सकेमा मात्र स्व–बोधमा जान सहज हुन्छ। स्व–बोध र आत्मसत्ताको अनुभूति गर्न पाउनु जत्तिको ठूलो उपलब्धि र सिकाइ अरू के होला जीवनमा ? किनकि बाहिरको मिहिनेतले भौतिक सफलता त हात लाग्छ नै। भौतिक सफलतासँगै ध्यान स्वयं घटित हुन्छ त्यो जरुरी छैन। ध्यानको अनुभूतिका लागि आफूलाई समय दिएर २४ घन्टाको समयमा केही क्षण छुट्टयाउनै पर्ने हुन्छ। समय छैन भनेर बहाना गर्नेले यो महामारीको समय र जीवनको मूल्य अनि आन्तरिक सुख र सन्तोष खोजिरहेको अवस्थालाई ध्यानको अभ्यासमा लगाउनु उपयुक्त समय आएको छ।

एकान्तपनलाई सहज बनाउने तरिका 
घरको एउटा निश्चित कोठा या कुनै कुनामा जहाँ अरूको हल्ला सकभर नआओस्। बाहिरको होहल्लाले मनलाई बाहिरै लैजाने हुँदा एकान्त ठाउँले ध्यानमा केन्द्रित हुन मद्घत गर्दछ। वास्तवमा ध्यानको लागि यहि नै समय भनेर छुट्टयाउनु पर्दैन, जुन समय फुर्सद निकाल्न सकिन्छ त्यो नै उपयुक्त समय हुन्छ तैपनि बिहानको आफ्नो नित्य कर्महरू सकेर, विचार शान्त भएको समय ध्यानको लागि उपयुक्त समय हुन्छ। दिनभरको कर्म सकेर साँझ घर फर्केपछि केही समय छुट्टयाएर एकान्तमा ध्यानमा बस्नु उपयुक्त हुन्छ। वातावरण शान्त र सौम्य हुन सकेमा ज्यादै नै प्रभावकारी हुन्छ। ध्यानका लागि तयारी हुने भाव आउनासाथै विचार शिथिल, शरीर सहज र मन शान्त बन्दछ। सुरुसुरुमा ध्यानको अभ्यास गर्दा कस्तो आसन लगाउने आदि जिज्ञासा उत्पन्न हुन सक्दछ। सुखासन, जसरी बस्दा सुख र सहज हुन्छ त्यो आसन नै उपयुक्त आसन हो। शरीरलाई बिस्तारै निस्कृय बनाउने, शिथिल बनाउने, हातमा ज्ञान मुद्रा बनाउने, मेरुदण्ड सिधा हुनेगरी पदमासन लगाउने या सहज बस्ने, आउंदै जादै गरेको स्वासलाई ध्यान दिने, स्वास सहज हुन दिने, केवल जागृत रहने र भित्र डुब्ने यही नै ध्यानमा प्रवेश गर्ने विधि हो। ध्यानको विधिमार्फत ध्यानमा प्रवेश गरिन्छ। विधिमार्फत प्राप्त हुने शून्यता, निर्विचार, अन्तराकाशको फैलावट, अनन्तताको महसुसजस्ता बोध नै ध्यानको अनुभूति हो। जसले शान्त, सहज र ग्रहणशील बनाउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.