जहाँ सिंगो पुस्ता युद्धसँगै हुर्किँदैछ !

जहाँ सिंगो पुस्ता युद्धसँगै हुर्किँदैछ !

विश्वकै सबैभन्दा विवादास्पद र जटिल द्वन्द्व मानिएको इजरायल प्यालेस्टाइन समस्या फेरि बल्झिएको छ। समग्र विश्व समुदाय कोरोना भाइरसको संक्रमणसँग जुधिरहँदा इजरायल र प्यालेस्टाइन आफैं जुधिरहेका छन्।गत साता प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायल प्रहरीबीचको झडपले हिंसात्मक रूप लिँदै जाँदा फेरि युद्ध बल्झिएको हो।सयौं प्यालेस्टाइनी प्रदर्शनकारीहरूलाई गम्भीर घाइते हुने गरी इजरायल प्रहरीले दमन गरेपछि प्यालेस्टाइनी लडाकुहरूले रकेट हमला गरे। जवाफी हमलाको रूपमा इजरायलले पनि हवाई आक्रमणलाई तीव्र बनायो। यस क्रममा १४ बालबालिकासहित कम्तिमा ५९ जना मारिएका छन्।

एक सातादेखि नै यहाँ दुई पक्षबीच तनाव जारी छ। जसप्रति अन्तर्राष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गरेका छन्।चीनले बिहीबार मात्रै संयुक्त राष्ट्रसंघलाई यस द्वन्द्व समाधानका लागि छिट्टै कदम चाल्न आग्रह गरेको छ। राष्ट्रसंघले बुधबार एउटा आपतकालीन बैठक आयोजना गरेको थियो। तर अमेरिकाको असहमतिका कारण उक्त बैठक बिनानिष्कर्ष टुंगियो। संयुक्त वक्तव्यमा अमेरिकाले सहमति नजनाएपछि उक्त बैठक बिनानिष्कर्ष सकिएको थियो। यद्यपि राष्ट्रसंघले पहल गरिरहेको जनाएको छ। राष्ट्रसंघले फेरि अर्को आपतकालीन बैठकको तयारी गरेको छ।

विवादित सहरको रूपमा चिनिएको जेरुसेलमका विभिन्न क्षेत्रमा इजरायल सरकारले प्रतिबन्ध लगाइदिँदा आन्दोलन र झडप सुरु भएको हो।रमाजानको महिना चलिरहँदा थुप्रै मुस्लिम जेरुसेलमको अक्सा मस्जिदमा प्रार्थनाको तयारी गरिरहेका थिए। ठीक त्यसअघि मात्रै इजरायल सरकारले सहरमा प्रतिबन्ध लगाइदियो। अक्सा मस्जिद विश्वभरका मुस्लिमहरूको तेस्रो ठुलो तीर्थस्थल मानिन्छ।

जेरुसेलमः एक विवादित सहर
प्राचीन र ऐतिहासिक सहर जेरुसेलम विभिन्न धर्मावलम्वीको पवित्र तीर्थस्थल मात्रै होइन, विश्वकै सबैभन्दा विवादित सहर पनि हो।सन् १९६७ मा भएको अरब–युद्धदेखि इजरायलले जेरुसेलममाथि कब्जा जमाउन थालेपछि जेरुसेलम थप विवादित बन्न थालेको हो।मुस्लिम, यहूदी र क्रिस्चियन धर्मावलम्वीका लागि यो सहर भावनात्मक रूपमा विशेष महत्वको मानिन्छ। यी तीनै धर्म मान्नेहरू यस सहरलाई पवित्र तीर्थस्थल मान्छन्।यसै कारण पनि यहाँ विभिन्न धर्म र सम्प्रदायबीच हुनेगरेका साना विवाद पनि ठुलो झडपको रूपमा तनाबमा बदलिने गरेका छन्।

चार भागमा विभाजित जेरुसेलम
विभिन्न समयमा भएका द्वन्द्व र संघर्षसँगै यो सहर अहिले विभिन्न चार धर्म वा सम्प्रदायले चार भागमा विभाजन गरेका छन्। ती चार धर्मावलम्वी क्रिस्चियन, मुस्लिम, यहूदी र अर्मेनियाली हुन्।तिनै सम्प्रदायबीच यहाँ तनाव र द्वन्द्व भइरहन्छ। सहरको बीच भागमा प्राचीन सहर छजसको एक वास्तुकलाले भरिएको छ।पुरानो सहरको चारैतिर सुरक्षाका लागि पर्खाल छ। यसको आसपास पनि ठुलो बस्ती छ र यसलाई पनि पवित्र स्थल नै मानिन्छ।

चार क्षेत्रमध्ये एक हो अक्सा मस्जिद। यो त्यही मस्जिद हो जहाँ गत साता प्यालेस्टाइनीहरू र प्रहरीबीच हिंसात्मक झडप भएको थियो। र सयौं घाइते भएका थिए।मुस्लिम समुदाय यसलाई तेस्रो ठूलो पवित्र तीर्थस्थल मान्छन्। रमाजानको क्रममा यहाँ भीड नै हुने गर्छ। सोही क्रममा यस वर्ष पनि मुस्लिम समुदाय प्रार्थनाको तयारी गरिरहँदा इजरायलले प्रतिबन्ध लगाइदिएपछि तनाव सुरु भएको थियो। जहाँ धार्मिक आस्थासँग जोडिएको डोम अफ रक छ।

यहाँको प्राचीन पर्खालऐतिहासिक स्थल हो। यहूदीहरूको धार्मिक केन्द्र पनि। यसलाई उनीहरू पवित्र पर्खाल भन्छन्।वाल अफ द माउन्ट पनि भनिने यस पर्खाललाई पश्चिमी पर्खा पनि भनिन्छ। जहाँ हरेक वर्ष लाखौं यहूदीहरू प्रार्थनाका लागि पुग्छन्।यहूदीहरू आजको विश्व यहीबाट सुरु भएको विश्वास गर्छन्। पैगम्वर अब्राहमले ईश्वरप्रति विश्वास पुष्टि गर्न छोरा आइजकलाई नै बली दिन तयार भएको किंवदन्ती छ।जेरुसेलममा अर्को ऐतिहासिक केन्द्र हो चर्च। विश्वभरका क्रिस्चियनको आस्थाको केन्द्र। बाइबलका अनुसार जिसस क्राइस्टलाई सूलीमा चढाएर हत्या गरिएको यही ठाउँमा हो।सोही कारण पनि क्रिश्चियन यस ठाउँलाई पवित्र मान्छन्।

विवादित सहरको रूपमा चिनिएको जेरुसेलमका विभिन्न क्षेत्रमा इजरायल सरकारले प्रतिबन्ध लगाइदिँदा आन्दोलन र झडप सुरु भएको हो।

यिनै कारण पनि जेरुसेलम एक विवादित सहरको रूपमा चिनिएको छ। प्राचीन र ऐतिहासिक सहर हुँदा हुँदै पनि यहाँका विभिन्न सम्प्रदाय र धर्मका मानिसको द्वन्द्वले गर्दा बारम्बार झडप र तनाव भइरहन्छ।जब १९४८ मा इजरायलको स्थापना भयो। त्यसबेला जेरुसेलमको पश्चिमी भागमा यो अवस्थित थियो। तर १९६७ को युद्धपछि इजरायलले जेरुसेलमलाई कब्जामा लियो। यद्यपि इजरायलको यो कदमलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता मिलेको छैन।

पुरानै युद्ध
इजरायल र प्यालेस्टाइनको युद्धसँगै एउटा सिंगो पुस्ता हुर्किसकेको छ। नयाँ पुस्तामा युद्धका असर नराम्ररी गडेका छन्। यतिसम्म कि युद्धबाटै समाधान सम्भव छ भन्ने तर्क बलियो रूपमा स्थापित भएको छ।इजरायल र प्यालेस्टाइनबीच हालजस्तो तनाव चलिरहेको छ यो पुरानै द्वन्द्वको श्रृंखला हो। १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको सुरुतिर अरब–इजरायल द्वन्द्व यसको मूल जरो हो। त्यसबेला यहाँ मध्यपूर्वी मुलुकहरू राष्ट्रवादी आन्दोलनको क्रममा नै विभाजित थिए। दुवै पक्ष आफ्ना जनतालाई सार्वभौम बनाउनतिर नै लक्षित थिए।

पछिल्लो समयमा थुप्रैपटक इजरायल र प्यालेस्टाइनबीच शान्ति वार्ताका लागि प्रयास भए। तर पनि समाधान हुन सकिरहेको छैन।केही वर्ष युद्ध रोकिए पनि सानो विवादले पनि दुई देशबीच युद्ध नै निम्तिने गरेका छन्। द्वन्द्व जति पुरानो हुँदै गयो उति नै यो समस्या झन् जटिल बन्दै गएको छ।प्यालेस्टाइनलाई जब यहूदीहरूको मातृभूमिको रूपमा सन् १९१७ मा सार्वजनिक घोषणा पत्र जारी गरियो। त्यही घोषणा नै युद्धको प्रारम्भिक जग थियो भनिन्छ। यस्तो घोषणा गर्नुमा बेलायत मुख्य जिम्मेवार थियो।

समयक्रममा प्यालेस्टाइनमा सानो संख्यामा रहेको अल्पसंख्यक यहूदी जनसंख्या पछि यहूदी प्रवासीहरूको रूपमा उल्लेख्य जनसंख्या बढ्यो। प्यालेस्टाइनको जनादेशसँगै पछि बेलायत सरकारले प्यालेस्टाइनलाई ‘यहूदीहरूको राष्ट्रिय घर’को रूपमा घोषणा गरिदिएपछि पनि यहूदी र अरब समुदायबीच साम्प्रदायिक द्वन्द्व बढ्दैगयो।साम्प्रदायिक द्वन्द्व बढ्दै जाँदा सन् १९४७ मा अरब–इजरायल युद्ध भयो।इजरायल र प्यालेस्टाइनको स्थिति यो १९६७ को ६ दिने युद्धपछि सुरु भएको हो। जतिबेला इजरायली सेनाले प्यालेस्टाइनी भूमिलाई ६ दिनसम्म कब्जा गरेको थियो।

लामो शान्ति वार्ताका बावजुद इजरायल र प्यालेस्टाइनबीच सम्झौता हुन सकिरहेको छैन। यद्यपि १९९३देखि १९९५ मा ओस्लो सम्झौताको रूपमा पहल गरिएको ‘दुई राष्ट्र समाधान’ शान्ति वार्ताको एउटा खुड्किलो थियो। तर उक्त सम्झौता पनि आज समाधानको सट्टा समस्या बन्दै गएको छ।सम्झौता सबैभन्दा पहिले इजरायलले उल्लंघन गर्‍यो। अहिले इजरायलले गाजा क्षेत्रलाई कब्जामा राख्दैआएको छ। गाजा क्षेत्रमा इजरायललेसेना राखेको कुराको विरोध प्यालेस्टाइनले गर्दैआएको छ। गाजा क्षेत्रसँगै इजरायलले ‘वेस्ट ब्यांक’का टापुहरूमा पनि सेना तैनाथ गर्दैआएको छ।सुरक्षा, सीमा, जल अधिकार, जेरुसेलमको नियन्त्रण, इजरायली बस्ती, प्यालेस्टाइनीहरूको आन्दोलन, घर फिर्तीको आन्दोलन नै यस क्षेत्रका प्रमुख मुद्दा हुन्।

इजरायल र प्यालेस्टान मात्रै नभएर यी दुई देशभित्र रहेका विभिन्न समुदाय पनि आपसमा विभाजित छन्। युद्ध नै एक मात्र निकासको उपाय भन्ने बिचारले विभिन्न समुदायलाई ग्रसित बनाएको छ। अर्धसैनिक दस्ता, आतंकवादी समूहको गठन गर्नु सामान्य जस्तै बनेको छ। यससँगै यहाँका द्वन्द्वमा धेरै अन्तर्राष्ट्रिय समूह सामेल छन्।ठुलो संख्यामा यहूदीहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा देख्न चाहेका छन्। इजरायलले पनि त्यस्तै सोच्ने गर्छ। तर वेस्ट ब्यांक र गाजा पट्टी आसपासमा रहेका प्यालेस्टाइनी र इजरायलीहरू दुई राष्ट्रको समााधनको बाटोमा छन्।
(एजेन्सीहरूको सहयोगमा)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.