विपद् जोखिम छ, पूर्वतयारी छैन

विपद् जोखिम छ, पूर्वतयारी छैन

भनिन्छ– ‘विपद् बाजा बजाएर आउँदैन।’ विपद् भइसकेपछि उद्दार र राहत वितरण गर्नुलाई ठूलो काम ठान्छौं। विपद्को निवारण गर्न नसकिएतापनि विभिन्न माध्यमद्धारा यसको न्यूनीकरण भने गर्न सकिन्छ। मनसुन सुरु भएसँगै पहाडमा बाढीपहिरो र तराईमा डुबानको समस्या हुन्छ भन्नेसबैलाई थाहा छ। खै त थाहा भएका समस्याहरूको समाधानका पूर्वतयारी गरेको ? प्रकृतिलाई मानिसले जित्न सक्दैन। यो कुरा थाहा हुँदाहुँदै पनि प्रकृतिलाई दोहोन गरिरहेका छौं। विकासको बहानामा जताततै प्रकृतिलाई नांगो बनाइरहेका छौं। नेपालको भौगर्भिक बनोट कमजोर छ। जलवायु परिवर्तन, अव्यवस्थित पूर्वाधार विकासलगायत विविध कारणले नेपाल प्राकृतिक तथा गैरप्राकृतिक विपद्को अत्यधिक जोखिममा रहेका मुलुकमध्ये एक हो।

नेपाल विश्वमा भूकम्पीय जोखिमको दृष्टिले एघारौं तथा बाढीपहिरोको दृष्टिकोणबाट तिसौं अति जोखिमयुक्त मुलुकमा पर्दछ। यहाँ विभिन्न प्रकारका विपद्हरूको जोखिम रहेकाले हरेक वर्ष औसत पाँच  सय भन्दाबढी विपद्का घटना हुने गरेका छन्। विपद् प्रभावका कारण नेपालको भौतिक, आर्थिक, सामाजिक विकास र प्रगतिमा समेत प्रतिकूल प्रभाव परिरहेको छ। पूर्वाधारबिना सहर थपिएका छन्। नक्साबिनाका घरहरू निर्माण भएका छन्। विधान, नीति, नियम कार्यान्वयन हुनुको सट्टा हात्तीको देखाउने दाँतजस्तो भएको छ। हामीहरू कुरा एकथोक गर्छौं अनि काम अर्कोथोक। हरेक नेपाली एक पुरुषलाई एउटा ठूलो घर चाहिन्छ। सबैको घर घरमा पुग्ने फराकिलो बाटो चाहिन्छ। खै प्रकृतिले कसरी धानोस् विचरा। हामीले एउटा बोटबिरुवा पनि रोप्दैनौं। घरसम्म बाटो लैजान भन्दै हाम्रा पूर्खाले रोपेका हजारौं रुखहरू सजिलै काट्छौंतर काटेपछि त्यत्ति नै विरुवा रोप्दैनौं।

आजभोलि त बजारबस्तीमाआँखालाई हरिया जंगल होइन, कंक्रिटका पहाड मनपर्छ। प्रकृतिको सुन्दरता होइन, मानवनिर्मित विकासका कोलाहल र भीडभाड मनपर्छ। माथिपट्टि भिरालो जमीनदेखे पनि तल घर बनाउँछौं। जानी जानी खोलानदीको किनारमा घर बनाउँछौं। काम गर्ने बेलामा एक हात पर किन सोच्दैनौं ?आफूलाई सुरक्षा नहुने ठाउँमा किन हामीले आफू बस्ने संरचना बनाउँछौ ?खेतीयोग्य जमीन जति सबै घर बनाएर पनि घर पुगेको छैन हामीलाई। जंगल फाँडेर घर बनाउँदैछौं। विपद् सबैको सरोकारको साझा विषय हो। यसको न्यूनीकरणका लागि सबै नागरिक चनाखो हुनु जरुरी छ। वर्षभरि पर्ने पानीको करिब असी प्रतिशत पानी मनसुनको समयमा पर्ने गर्दछ। हरेक वर्ष मनसुन सुरु हुनासाथ बाढीपहिरो र डुबानले दुःख दिन्छ। कतिका घरपरिवारलाई तहसनहस पारिदिन्छ। सबै जान्दाजान्दै पनि मनसुनपूर्व गर्ने तयारीमा सधैं चुक्यौं।

सबैले विपद् न्यूनीकरण र व्यवस्थापन समस्या हो भनेर काम गर्नुपर्छ। केही गर्छौं, गरे सम्भव छ भन्ने मानसिकतामा पुग्नुपर्छ। प्रभावकारी प्रतिकार्य क्षमता अभिवृद्धि गर्न आधुनिक उपकरण, बन्दोबस्ती,प्रविधि र दक्ष जनशक्ति निर्माणमा जुटौं।

हिउँदभरि बाढीपहिरो र डुबानबारेन त सरकारलाई चासो हुन्छ न त नागरिकलाई नै। सबैजना हाइसन्चो मानेर बस्छौं। जब वर्षात्सँगै पहाड बगेर तराई डुबाउन थाल्छ अनि बल्ल सुरु हुन्छ विपद्का कुरा। सर्वसाधारण नागरिकदेखि सरकारले समेत तत्काल केही राहत बाँड्नुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ। अगाडिको वर्षको बाढीपहिरोको समस्याले घरबारविहीन भएकाकोसमाधान नहुँदै नयाँ पीडितथपिन्छन्। आखिर किन यस्तो भइरहेको छ भनेर सरोकारवालाको आँखा किन खुल्न सकेन ?विपद् न्यूनीकरणमा सरकारलगायत सबैको उदासिनताले पीडित शारीरिक समस्याका साथै पीटीएसडी, डिप्रेसन तथा मनोत्रासबाट ग्रसित छन्। बाढीपहिरोमा परेका घाइतेलाई शारीरिक चोटपटकमा साथै मानसिक चोटलाई पनि साम्य बनाउन मनोपरामर्शलगायत विविध उपाय अपनाउनु जरुरी छ। नागरिक स्वास्थ्य हुनु व्यक्तिको लागि मात्र नभएर सिंगो मुलुकका लागि पनि निकै महत्वपूर्ण कुरा हो। मानव विकासका लागि सबै नागरिक रोग, भोक र शोकबाट मुक्त हुन सक्नुपर्छ। यसका लागि सरकारले अभिभावकको भूमिका निभाउँदै अन्य सरोकारवाला सबै चनाखो बन्नुपर्छ।

विपद् व्यवस्थापन भनेको उद्धार तथा राहत मात्रै हो भन्ने मानसिकताबाट माथि उठ्न सक्नुपर्छ। हरेक वर्ष एकै प्रकृतिका विपद् किन घट्छ र यसलाई नघटाउन कसले के के गर्नुपर्छ भन्ने कार्ययोजना बनाएर सबै खट्नुपर्छ। विपद् न्युनीकरणमा आवश्यक बजेट विनियोजन गरी त्यसको सदुपयोग सही काममा गर्नुपर्छ। बजेटको खर्चले लक्षित उपलब्धि हासिल गरेको छ छैन भनी अनुगमन र मूल्यांकन गर्न सरोकारवाला सशक्त बन्नुपर्छ। विपद् सबैको साझा समस्या हो। मात्रात्मक रूपमा कसैलाई बढी र कसैलाई कम असर गर्ला त्यो फरक कुरा हो तर विपद्ले यो ठूलो मान्छे र यो सानो मान्छे भन्दैन। विपद् आइपरेपछि तत्काल प्रभावितका लागि आवश्यक उद्धार, अत्यावश्यक राहत तथा सो समयमा तत्कालीन बसोबासको बन्दोबस्त मिलाउनु प्रमुख आवश्यकता हो।

यसको अतिरिक्त विपद्बाट बच्न दीर्घकालीन कार्ययोजनाअघि सार्नमासबै केन्द्रित हुनुपर्छ। बाढी र पहिरोजन्य जोखिमबाट नेपाल उच्च जोखिममा छ। यसको पूर्वतयारी र प्रतिकार्यका लागि सबै तहका सरकारलगायत सबै तम्तयार भएर काम गर्नुपर्छ। कुनै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हुन्छ। विपद् व्यवस्थापनमा पनि विपद् पछाडिभन्दा विपद् न्युनीकरण गर्ने उपायहरूमा सबैको ध्यान केन्द्रित हुन जरुरी छ। यसका लागि अहिले केही ठाउँमा स्थापना भएका बाढीको पूर्वचेतना प्रणाली आवश्यक पर्ने सबै ठाउँमा बिस्तार गरौं। जथाभावी सडक निर्माण नगरौं। भिरालो जमीनमा संरचनाहरूको निर्माण नगरौं। जमीनको भारवहन क्षमता भन्दा बढी लोड थुपार्ने परिपाटीको अन्त्य गरौं। अनावश्यक रूपमा जमीनभित्रको पानीलाई अत्यधिक रूपमा निकाल्ने नगरौं। वन फडानी रोकीवृक्षारोपण प्रणालीलाई संस्थागत गरौं। अहिले विद्यमान रूपमा रहेका अव्यवस्थित सिँचाइलगायत अव्यवस्थित रूपमा खानी खन्ने प्रचलनलाई हटाई व्यवस्थित बनायौं।

आजको समयमा पनि सधैं प्रकोप गइसकेपछि राहत वितरणमा मात्र केन्द्रित विपद् व्यवस्थापन प्रणाली परिवर्तन गर्नु अत्यावश्यक छ।विपद् न्युनीकरणका लागिसंवैधानिक प्रत्याभूति छ। विपद् न्यूनीकरण राष्ट्रिय नीति २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना, २०१८–२०३० लगायतका विद्यमान नीतिगत तथा कानुनी व्यवस्था हुनुले राम्रोसँग काम गर्ने अवसर सिर्जना भएको छ।समस्या भनेको मौजुदा व्यवस्थाहरूको पूर्णरूपमा कार्यान्वयन नहुनु हो। अबका दिनमा यसको पूर्णरूपमा कार्यान्वयन गर्न सक्नुपर्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भई सञ्चालनमा आएको छ। सबै तहका सरकारमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको अधिकार र जिम्मेवारीको बाँडफाँट भएको छ।

मात्र अब सबैले आआफ्नो जिम्मेवारी बिनासर्त पूरा गर्नुपर्छ। सबैले विपद् न्यूनीकरण र व्यवस्थापन समस्या हो भनेर काम गर्नुपर्छ। अबको काम भनेको हामी केही गर्छौं, गरे सम्भव छ भन्ने मानसिकतामा पुग्नसक्नुपर्छ। प्रकोप र विपद् जोखिमको पूर्वानुमान, सूचना सम्प्रेषण,खोज तथा उद्धार, प्रतिकार्य र पुनर्लाभलाई प्रभावकारी बनाउनविपद् व्यवस्थापन सूचना प्रणालीको स्थापना र उचित व्यवस्थापन गर्नेकार्यमा अगाडि बढौं। प्रभावकारी प्रतिकार्य क्षमता अभिवृद्धि गर्नआधुनिक उपकरण, बन्दोबस्ती,प्रविधि र दक्ष जनशक्ति निर्माणमा जुटौं।सबैको साझा प्रयासबाट मानवीय नोक्सानी, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षति र असर कम भई विपद् उत्थानशील विकास पद्धतिको स्थापना गरौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.