आज घन्टाकर्ण गाथामोग चर्‍हे : ‘घन्टाकर्णबारे अझै भ्रम बाँकी छ’

आज घन्टाकर्ण गाथामोग चर्‍हे : ‘घन्टाकर्णबारे अझै भ्रम बाँकी छ’

भक्तपुर : प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन मनाइने गाथामोग चर्‍हे (घण्टाकर्ण) बारे अझै धेरै भ्रम बाँकी रहेको संस्कृतिविद्हरु बताउँछन्। उनीहरुका अनुसार सर्वसाधारण गाथामोगलाई पिचासको संज्ञा दिन्छन् तर वास्तवमा गाथामोग पिचास होइनन्।

गाथामोग स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक भएको उनीहरुको तर्क छ। उनीहरुका अनुसार गथामुख भाग्यभन्दा बढी कर्ममा विश्वास गर्ने पात्र हुन्, नास्तिक हुन्।‘गाथामोगलाई बालबालिका मारेर खाने राक्षसको रुपमा बढी चित्रण गरिएको पाइन्छ। समाजलाई दुःख दिने भएकाले दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ भन्ने भ्रम व्याप्त छ’, संस्कृतिविद् ओमप्रसाद धौभडेल भन्छन्, ‘तर गाथामोग राक्षस होइनन्। गाथामोग देवताको नाम सुन्न नचाहने नास्तिक हुन्। सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने व्यक्तित्वका धनी हुन्।’

उनका अनुसार देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूल्ठूला घण्टा झुण्डाइराख्ने भएर उनलाई नाम घण्टाकर्ण भनिएको हो। यसका धेरै प्रमाणसमेत रहेको धौभडेल बताउँछन्। ‘अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण भएको हो’, उनी थप्छन्, ‘त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश र ने.स. ७९२ को एउटा नेपालभाषाको गीतमा स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख गरिएको छ।’

उनले ने.स. ८१८ मा भक्तपुर दरबारको मालती चोकमा भेटिएको एउटा शिलापत्रमा यस दिनलाई स्पष्टसँग गाथामोगल चवदश भनिएकोसमेत जानकारी दिए।
गाथामोग चर्‍हेको दिन भक्तपुरको नवदुर्गा देवगणभित्र महादेवको उत्पत्ति हुने परम्परासमेत रहेको छ। यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने दिनलाई गाथामोग चर्‍हे भनिएको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले स्पष्ट पारे।

शिवलिङ्ग साँच्चिकै शिवलिङ्ग जस्तो नभई मोग (डल्लेठो) जस्तो बन्छ। यसैको सम्झननास्वरुप यस दिनलाई गाथामोग भनिएको उनी तर्क दिन्छन्।


यस हिसाबले पनि गाथामोग कुनै राक्षस वा पिचास नभई महादेव भएको उनको भनाइ छ। ‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ। जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हुन्’, श्रेष्ठ स्पष्ट पार्छन्, ‘चैत कृष्ण चतुर्दशी पिशाच चतुर्दशी हो, जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो। यता फागुन कृष्ण चतुर्दशी महाशिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो। त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गाथामोग पनि शिवकै रुप भएकोमा दुईमत हुन सकिँदैन।’

उनका अनुसार गाथामोगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ। जुन उन्मक्त भैरव पनि महादेवकै एक रुप भएको उनी बताउँछन्। यस दिन काठमाडौं उपत्यका एवं देशभरका छरिएर रहेका नेपालभाषीहरुले गाथामोग चर्‍हे धुमधामसँग मनाउने गरेका छन्। स्थानीय वासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले बनाइएको गाथामोगलाई नांग्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरुको माला, भोगटेलगाययतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरेर गाथामोग पर्व मनाइन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.