७ वर्ष बितिसक्दा पनि पत्ता लागेन रुपा गौतमको हत्यारा

७ वर्ष बितिसक्दा पनि पत्ता लागेन रुपा गौतमको हत्यारा

बागलुङ : हरितालिका तीज पर्वका दिन माइत गएर फर्कने क्रममा रुपा गौतमको दिउँसै सडकमा हत्या गरिएको ७ वर्ष पूरा भएको छ। काठेखोला गाउँपालिका- ६ दोबिल्लाकी ३६ वर्षीया गौतमको हत्या भएको ७ वर्ष पूरा भइसक्दा पनि हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन। 

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय बागलुङले सुरुदेखि नै ‘अनुसन्धान जारी रहेको’ एउटै रेडिमेड जवाफ दिएर पन्छिने गरेको छ। हरेक प्रहरी प्रमुख आउँदा रुपा गौतम हत्या प्रकरणको अनुसन्धानलाई तीव्रता दिने कबुल गरेपनि दोषी पत्ता लाग्न सकेको छैन।

७ वर्ष बितिसक्दा पनि अनुसन्धान भइराखेको प्रहरीको जवाफमा नागरिकले कुनै दबाब र प्रभावमा परेर अनुसन्धान फितलो बनाएको र हत्याराको संरक्षणमा लागेको सशंयको रुपमा हेर्ने गरेका छन्। गौतमको २०७१ भाद्र १२ गते तीजको दिन माइतबाट घर फर्किने क्रममा बानपा-३ बोक्से खाल्डोमा दिउँसै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। 

हत्याको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि महिला अधिकारकर्मी, नागरिक अगुवाले लामो समयदेखि आवाज उठाउँदै आएका छन्। अहिलेसम्म प्रहरी प्रशासनले ध्यान नदिँदा हत्यारा पत्ता लाग्न नसकेको गौतमका श्रीमान रामप्रसाद गौतमले बताए। हत्या भएकै समयमा प्रहरी प्रशासनले गम्भीर भएर लागेको भए उति बेलै हत्यारा पत्ता लाग्ने उनको भनाई छ। ‘प्रहरी प्रशासनले केही गरेन, अब त हत्यारा पत्ता लाग्ने भन्ने आश पनि हराईसक्यो, यतिका वर्ष भयो अझैसम्म पनि केही अत्तोपत्तो छैन,’ गौतमले भने, ‘अब हुँदैन होला, हामीले न्याय पाउन सकेनौँ, त्यसमा प्रहरी प्रशासनको कमजोरी छ।’

अधिकारकर्मी राम शर्माले यो रहस्यमय घटना भएको भन्दै प्रहरी घटनाको नजिक पुगेर चुकेको बताउँछन्। प्रहरीले नजिकबाट अनुसन्धान नगर्दा हत्यारा पत्ता नलागेको उनको भनाई छ। प्रहरीले सुरुमा अनुसन्धानमा गम्भीर भएर लागेको भए दोषी उतिबेलै पत्ता लाग्न सक्ने उनका तर्क छ। ‘प्रहरी सुरुमै चुकेको हो, यो घटना रहस्यमय छ, घटनाको नजिक पुगेर अनुसन्धान गरेको भए दोषी उतिबेलै पत्ता लाग्ने थियो, नजिकबाट अनुसन्धान नगर्दा अहिलेसम्म पनि दोषी पत्ता लाग्न नसकेको हो,’ शर्मा भन्छन्।
महिलाहरुको महान पर्व तीजकै दिन भएको यो घटनाले महिलाहरुलाई झस्काउने गरेको छ। हत्याराको पहिचान र कारबाही नहुँदा महिलाहरुको अस्मिता र असुरक्षालाई बढावा दिएको शर्मा बताउँछन्। प्रहरीले अनुसन्धानको लागि सुरुमा अनुसन्धानमा खटिएका प्रहरीलाई ल्याएर पुनः अनुसन्धान थाल्नुपर्नेमा उनको जोड छ। ‘त्यति बेला घटनाको अनुसन्धानमा संलग्न प्रहरीलाई ल्याएर अनुसन्धानमा लगाउनु पर्छ, अझै पनि केही बिग्रेको छैन, कसैको दबाव, अभाव र प्रभावमा नपरी अनुसन्धान गर्ने हो भने दोषी पत्ता लाग्न सक्ने प्रशस्त सम्भावना देखिन्छ,’ शर्माले भने।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले अनुसन्धानमा सुरुवाति चरणमा प्रहरी चुक्दा अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेको बताउँछन्। ‘अहिले पनि अनुसन्धान जारी छ, मिसिल म आएपछि पनि हेरेको छु, तर अभियुक्तलाई पहिचान गरेर कानुनी कठघरामा नल्याएसम्म अनुसन्धान कहाँ पुग्यो भन्न सकिने अवस्था छैन,’ उनले भने। 
‘मान्छेको हत्या भएको कुरा हो, हत्यारालाई कानुनी दायरामा नल्याएसम्म अनुसन्धानको यहाँ पुग्यो भनेर म भन्न सक्दैन, अनुसन्धान जारी नै छ,’ प्रहरी प्रमुख पल्लीले भने ‘घटनाको सुरुमै अनुसन्धानमा चुकेको हो कि भन्ने मलाई लागेको छ, सुरुमा अलि बढी गहिरिएर गरेको भए सायद त्यतिबेलै हत्यारा पत्ता लाग्न सक्ने थियो होला।’ पहिलेको अनुसन्धानभन्दा अलि फरक तरिकाले केन्द्रीय तथा क्षेत्रीय अनुसान्धान व्यूरोसँग समन्वय गरेर घटनाको अनुसन्धानलाई निरन्तरता दिइएको पल्लीले बताए। 
बागलुङ बजार नजिकै तीजको दिन दिउँसै सडकमा विभत्स हत्या गरिएकी रुपा गौतम। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.