चिसोमा घरेलु कामदार

चिसोमा घरेलु कामदार

केही दिनअघि कामविशेषले चिनजानका आफन्तकोमा पुगें। पुस महिना सुरु भएको थियो। चिसो राम्रैसँग बढिसकेको थियो। १३÷१४ वर्षकी नानी भाँडा माझिरहेकी थिइन्। उनी घरेलु सहयोगी हुन् भनेर छुट्याउन समय लागेन। अघिल्लो वर्ष त्यही घरमा तातोपानी आउने बिजुली–धारा भर्खर जडान गरिएको थियो। त्यो राम्रो र सजिलो हुन्छ तपाईं पनि जोड्नुहोस् भनेर ती घरधनीले मलाई सल्लाह दिन भ्याएकी थिइन्। ती सानी नानी भाडा माझ्दै गर्दा पुलुकपुलुक मतिर हेर्थिन्। पानी चिसो भएर हात कठ्यांग्रिएको संकेत गरेको झैं भान भयो।

तातोपानी आउने धारा नदेखेपछि आफन्तलाई सोधें, पोहोर तातोपानी आउने धारा राख्नुभएको थियो हैन र ? खै अहिले त देखिनँ नि ? बिग्रियो कि ? उनले हातको इशाराले चुप लाग्न भनिन्। कुराको सिलसिलामा ती नानीलाई गाउँबाट पढाइदिने सर्तमा ल्याएको बुझें। पढाएबापत आफूले सकेको काम गर्नुपर्ने रहेछ उनले। ती आएपछि काम गर्ने भइहालिन्, किन बिजुलीको बिल बढी उठाउने ? भनेर तातोपानी आउने धारा निकालेछन्। आफन्त भनिएकी घरधनी दिदीका कुरा सुनेपछि बिनापैसाको सल्लाह दिन पछि परिनँ। यस्तो चिसो छ, चिसोपानीकै कारण यी नानी बिरामी परिन् भने ? तपार्इंले बिजुलीको पैसा हिसाब गर्नु त हुन्छ तर उपचार गर्नु पर्दा लाग्ने खर्च सोच्नुभएको छ ? बिरामी पर्दाको समय घरको काम कसले गर्नुपर्छ ?

त्यस्तै, चिनेकै एउटा घरमा घरेलु कामदारको रूपमा ६० वर्ष उमेर कटेकी महिला बस्छिन्। घरमा लुगा धुने मेसिन छ, तर बिजुली र पानी धेरै खर्च हुन्छ भन्ने सोच ती घरधनी महिलामा छ। कामको भार पनि पुग्दैन भनेर मेसिन चलाउँदैनन्। ती महिलालाई चिसो पानीले लुगा धुन लगाइन्छ। बालिका र वृद्धाका यी दुई घटना प्रतिनिधि मात्र हुन्। टोलतिरको घरहरूमा कहिलेकाहीँ काम विशेषले जाँदा यस्ता घटना प्रशस्त देखिन्छन्, भेटिन्छन्। सोलारबाट पानी आउने धारो भान्सामा हुन्छ तर बाहिरपट्टि चिसो पानी आउने धारामा भाडा माझ्न र लुगा धुन लगाइन्छ। तातेको पानी यसै खेर गइरहेको हुन्छ। सोच फराकिलो हुन नसक्दाका परिणाम हुन् यी। आफूलाई गाह्रो अरूलाई जेसुकै होस्, पैसा तिरेर काम लाएकै हो भन्ने मानसिकता कहिले बदलिएला ?

प्रत्येक वर्षको जाडोमा धेरै जोडी बाक्ला पञ्जा फटाएकी हुन्छु। तराईमा जन्मीहुर्केर होला, राजधानीको चिसोसँग असाध्यै डर लाग्छ। अझ चिसो पानीसँग। छोराछोरीलाई चाहिँ चिसो लाग्ला भनेर धेरै सचेत हुन्छौं। काम गर्न राखेका छोराछोरीकै उमेरका बालबालिकाबारे  किन यत्ति विधि अनुत्तरदायी बन्छौं ? हामी र छोराछोरीलाई हुने चिसो अरूलाई हुँदैन ? बुबाआमालाई लाग्ने चिसो अरूका आमाबुवालाई लाग्दैन ? सन्तान अरूको घरमा यसरी नै काम गर्न पुग्दाको अवस्था यस्तै व्यवहार पाए भने के होला ? अरूका सन्तानलाई काम लगाउने कुन अभिभावकले सोचेको होला ? अर्काको घरमा घरेलु श्रमिक बनाएर पठाउँदा कुन अभिभावकको मन अमिलो नहोला ? आफूसँग पुग्ने भए किन अर्काको जुठोभाँडो गर्न पठाउँछन् विद्यालय जाने उमेरका छोराछोरी ?

हाम्रोमा कामधन्दा गर्न आएनन् भने यिनीहरूको चुलोमा आगो बल्दैन भन्ने अहंकारले हामी जेलिएका छौं। सोच्दैनौं कि यिनले सजिलो बनाइदिएका छन्।

छोराछोरीको लालनपालन र शिक्षादीक्षाका लागि होस् वा घरव्यवहार धान्न, उमेर कटेका आमाहरूले अर्काको घरमा गएर बिहान–बेलुका काम गर्नुपर्छ। यो रहर होइन। बाध्यताभित्र धेरै पीडा लुकेका छन् भनेर बुझेका पनि हुन्छौं। बुझेपछि पनि हामी उनीहरूबाट झन् फाइदा उठाउन खोज्छौं किन ? त्यसो गर्नेमा सबैभन्दा बढी शिक्षित, राम्रो जागिर र आर्थिक अवस्था हुनेहरू अनि समाजका प्रतिष्ठितहरू नै  देखिन्छन्। हाम्रोमा कामधन्दा गर्न आएनन् भने यिनीहरूको चुलोमा आगो बल्दैन भन्ने अहंकारले हामी जेलिएका छौं। सोच्दैनौं कि यिनले सजिलो बनाइदिएका छन्। कठ्यांग्रिँदो जाडोमा पुराना कपडा लगाएर बिहानै काम गर्न आउँदा ती पाइला कति गह्रौं भए होलान् ? उल्टै गर्वसाथ ठूलो स्वरमा भन्छौं– पैसा दिएर त लगाएको हो नि। सित्तैमा लगाएको छैन क्यारे।

श्रम सबैले स्तरअनुसार गर्नैपर्छ। जो कोहीले स्तरभन्दा माथि महत्त्वकांक्षा राख्नु उसको कमजोरी हुन जान्छ। कामको सम्मान सबैले गर्न सके सायद कोही पनि हेपिनुपर्ने थिएन। विकसित देशहरूमा कामको सम्मान सबैले गर्ने हुँदा सानो काम गर्नेले हेपिनुपर्ने अवस्था सिर्जना हुँदैन। हाम्रोजस्तो विकासोन्मुख मुलुकमा श्रम गरेर खानेहरूले चारैतिरबाट अपहेलित हुनुपर्ने अवस्था छ। धनसम्पत्ति र प्रतिष्ठाको आधारमा निमुखालाई हेप्दै र अमानवीय व्यवहार गर्दै आएका छौं। यस कुरामा शिक्षितहरूको पनि आँखा खुल्न सकेको छैन। राज्य त बेखबर नै छ भन्दा फरक नपर्ला। संविधानमा उल्लिखित श्रमसम्बन्धी व्यवस्था र सबैको सम्मानपूर्वक बाँच्न पाउने अधिकार व्यवहारमा लागू भएको पाइँदैन।

होटलभित्र गएर हेर्‍र्यौं भने १४/१५ वर्षका बालबालिका आफूभन्दा ठूला भाँडाका रास चिसो पानीले सफा गरिरहेका हुन्छन्। तिनका हात चिसो र चिसो पानीले थाहा नपाउने भइसकेका हुन्छन्। त्यही भएर आधा भाँडा जुठो नै हुन्छन्। भाँडा जुठो राखेकोमा साहुको थप्पड पनि थपिन्छ तिनमाथि। तिनको दिमागमा थप्पड दिनुको साटो एक जोर लामो पञ्जा र खुट्टामा एक जोर तातो मोजा अनि गमबुटको व्यवस्था गरिदिन किन आउँदैन ? सरकारी कर्मचारी, पार्टीका नेता, विद्यार्थी नेता, अधिकारकर्मी, सामाजिक संस्थाका प्रतिनिधि होटल पुगिरहेकै हुन्छन्। बालश्रमिकलाई कस्तो प्रकारको निकृष्ट श्रममा लगाइएको हुन्छ, एक दृष्टिसम्म फाल्दैनन्। तिनका बारेमा कसले बोलिदिने र सुनिदिने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.