राजनीतिक वातावरणमा सदाचारको खोजी

राजनीतिक वातावरणमा सदाचारको खोजी

सर्वदा व्यवहारे स्यात् औदार्यं सत्यता तथा।

ऋजुता मृदुता चापी कौटिल्यं च न कदाचन।।

व्यवहारमा सधैं उदारता, सत्यता, सरलता र मधुरता हुनुपर्छ। व्यवहारमा करुणा हुनुपर्छ कटुता होइन। जीवन पाउनु जीवनलाई सु–संस्कृत अनि सभ्य वातावरणमा जिउन पाउनु मानिसको आधारभूत आवश्यकता जस्तै हो। घर, संस्था, कार्यालय, विद्यालय, राजनीतिक क्षेत्र सबैको वातावरण अनुकूल व्यवहारले मात्र व्यक्तिको जीवन र राष्ट्र दुवैमा विकासको अनुभूति गर्न सकिन्छ। कसैको घरको वातावरण शान्त, प्रेमिल, एकआपसमा विश्वासको वातावरण महसुस गर्न सकिन्छ। कुनै घरमा परिवारका सदस्यबीच पनि झैं झगडा, लडाइँ भइरहेको भेट्छौं। सरकार र राजनीतिक वातावरण इमान्दार भएका देशहरूका नागरिकहरू पनि इमान्दार, कानुनको पालन गर्ने र सहयोगी भेटिन्छन्।

भ्रष्ट वातावरणमा हुर्केका व्यक्तिबाट इमान्दारिताको परिणाम खोज्नु कठिन कुरा हो। आज राजधानीको सडकमा भएका आन्दोलन र अराजकताको परिणाम यही भ्रष्ट संस्कारको परिणाम हो। जबकि अराजकतामा सामेल हुने नागरिक युवा, अधबैंसे या वृद्ध जो होऊन्, राजनीतिक विचारधाराका अनुयायी होऊन् या सामान्य नागरिक, समाजमा हुर्केको अराजकतारूपी संस्कारको फल हो। संस्कृति जहिले पनि उच्चतम तहमा रहन्छ। हामीले कस्तो वातावरण सिर्जना गरेका छौं हाम्रो वरिपरि त्यो महत्त्पूर्ण पक्ष हो। नकारात्मक वातावरणमा सकारात्मक व्यवहारको अपेक्षा गर्न गाह्रो छ। जहाँ असभ्य समाज र व्यवहार हुन्छ त्यहाँ अराजक कानुन बन्छ। इमान्दार नागरिक ठग, बदमाश र चोर बन्छ। त्यसो हो भने, हामी जुन वातावरणमा छौं वा हामीले अरूका लागि जस्तो वातावरण सिर्जना गरेका छौं, त्यसको मूल्यांकन गर्ने बेला आएको छैन ?
व्यक्तिमा मनोवृत्ति निर्धारण गर्ने कारकहरू यदि हाम्रो वातावरणको कारण जीवन नकारात्मक दृष्टिकोण र अभ्यासमा अघि बढेको छ भने परिवर्तनको जरुरी रहन्छ। हाम्रो मनोवृत्ति निर्धारण गर्ने मुख्यतया तीनवटा कारकहरू छन्। जसमा वातावरण, अनुभव र शिक्षा प्रमुख रहन्छन्।

वातावरण : घर, विद्यालय, कार्यालय, सञ्चार माध्यम, सांस्कृतिक पृष्ठभूमि, धार्मिक पृष्ठभूमि, परम्परा र विश्वासहरू, सामाजिक परिवेशको साथमा राजनीतिक परिवेशको वातावरण महत्त्वपूर्ण छन्। प्राकृतिक वातावरण र संस्कृतिक वातावरण दुवैले मानव जीवनमा महत्त्व राख्छन्। भौतिक वातावरण, प्रकृति, नदीनाला, स्वच्छता, अनि प्रदूषित वातावरणले बाहिरी जीवनमा जसरी प्रभाव पारेको हुन्छ। त्यसैगरी, प्रदूषित सोचले आन्तरिक मन, चेतना र जीवनशैली वातावरणमै प्रभाव पारेको हुन्छ। नकारात्मक सांस्कृतिक वातावरणले व्यक्ति, समाज र राष्ट्रमै अशान्ति सिर्जना गरेको तथ्य प्रष्ट छ। मानसिक सोचको कारणले जसरी मानिसले बाहिरको वातावरण प्रदूषित गराएका छन् त्यसैगरी स्वयंको मानसिकतामा नकारात्मक सोच र अभ्यासले मानसिक अशान्ति सिर्जना गरिरहेको पत्तो नै पाउँदैनन्। सुरक्षा, शान्ति, करुणा, सभ्यताजस्ता गुण आन्तरिक र बाह्य दुवै प्रकृतिको लागि आवश्यक छन्।

अनुभव र संस्कार
प्रत्येक व्यक्तिले आफ्नो वातावरणअनुसार सँगालेको अनुभव र घटनाहरूले उनीहरूको जीवनशैली र व्यवहार अभ्यासमा आएको हुन्छ। सुन्दर, न्यायमूलक, समतामूलक, करुणावान्, प्रेमल  संस्कार र जीवनशैली पाएका व्यक्तिसँग सकारात्मक अनुभव हुन्छ भने, उनीहरूप्रतिको हाम्रो मनोवृत्ति सकारात्मक बन्छ। त्यसैले भन्ने गरिन्छ घरबाट बाल्यकालदेखि नै सु–संस्कृत र सभ्य व्यवहार अभ्यासमा ल्याउन र आफ्ना नानीहरूलाई दिन जान्यो भने मात्र भविष्यमा सभ्य नेतृत्वको निर्माणमा सघाउ पुग्दछ। अन्यथा निमको बीउ रोपेर आँपको फल खोज्नुजस्तै हुन्छ। जीवनमा जस्तो संस्कारबाट जस्तो अनुभव हासिल भएको हुन्छ त्यसअनुरूप व्यक्तिले समाजमा देखाउने व्यवहार र अभ्यासको विकास हुन्छ। आजको राजनीतिक अभ्यासको क्रियाकलाप हिजो सिकाइएको संस्कार र त्यसलाई अनुसरण गर्दै गएको अनुभवको परिणाम मान्न सकिन्छ कि ? संस्कारलाई सुसंस्कृत बनाउन सुध्रिन सकिन्छ, सुधारको आवश्यक पर्छ। सुधारिएको राजनीतिक अभ्यास नै विकासको मापन बन्न सक्छ। त्यसैले अनुभव र संस्कारले हानिकारक अभ्यासमा प्रेरित गर्छ भने त्यसबाट रूपान्तरित भएर माथि उठ्नु जरुरी छ।

शिक्षा
व्यक्तिको जीवन विकासमा औपचारिक र अनौपचारिक दुवैथरीको शिक्षा आवश्यक रहन्छ। शैक्षिक योग्यता मात्र शिक्षा होइन। व्यक्तिले सिकेका र योगदान पुर्‍याएका आधारमा उसको विवेक र सभ्यताले शिक्षित व्यक्तिको परिचय दिन्छ। मनोवैज्ञानिक ज्ञानले बुद्धि र विवेकमा सकारात्मक रूपान्तरण ल्याउन सघाएको हुन्छ। जसको माध्यमले सफलता सुनिश्चित गर्दछ। हामीसँग बाहिरी जानकारी र सूचना प्रशस्त छन् तर आन्तरिक ज्ञान, समझ र विवेकको सधैं अभाव र अपूर्णता महसुस हुन्छ। जीवनयापन, दलगत राजनीति र समय सहजतासँग बिताउन मात्र शिक्षा र प्रमाणपत्र होइन कि जीवन कसरी शान्त, संयम, करुणावान् भएर बाँच्न र समाजमा सकारात्मक योगदान दिन सकिन्छ त्यो ज्ञान शिक्षाको रूपमा विकास भएको हुनुपर्छ।

संस्कृति जहिले पनि उच्चतम तहमा रहन्छ। हामीले कस्तो वातावरण सिर्जना गरेका छौं हाम्रो वरिपरि त्यो महत्तवपूर्ण पक्ष हो। नकारात्मक वातावरणमा सकारात्मक व्यवहारको अपेक्षा गर्न गाह्रो छ।

नकारात्मक मानसिकता, अस्वस्थ शरीर जस्तै नै हुन्छ त्यसैले मनोवृत्ति विकास गर्ने खालको शिक्षाले वास्तविकता र यथार्थतालाई महसुस गराई रूपान्तरण गराउँछ। शिक्षा त्यस्तो होस् जसले उत्पादकत्व वृद्धिमा योगदान देओस्। सकारात्मक नेतृत्व क्षमताको विकास गरोस्। समस्या समाधानको लागि उचित पहल गर्न सकोस्। व्यक्तिगत विकास, सामाजिक विकास र नेतृत्व विकासमा गुणस्तरीयताको विकास गर्न सकोस्। अनुकूल वातावरणको निर्माणसहित बफादारिताको विकास होस्। किनकि नकारात्मक मनोवृत्ति विकासको बाधक बन्दछ। तनाव, क्रोध, लालच, द्वेष सबै नकारात्मक मनोवृत्तिका परिणाम हुन्। त्यसैले पनि आजको समाज कता जाँदैछ सडकमा, आन्दोलनमा, राजनीतिक दलका नेतृत्व र कार्यकर्तामा मात्र खोजेर भेटिन्न। प्रत्येक व्यक्तिको मनोविज्ञान, संस्कार, अभ्यास र जीवनशैली आचरणमा खोज्नु जरुरी छ।

सदाचारको गुण
सत्+आचार मिलेर सदाचार शब्द बनेको छ। सत्यको आचरण गर्नु सदाचार हो। सही आचरण, शिष्ट व्यवहार, अनुशासित जीवनशैली नै सदाचार हो। यसलाई जीवनमा अपनाउन के चिजले बाधा पार्दछ ? किन व्यक्ति सदाचारी बन्न सक्दैन ? जबकि सबैलाई थाहा छ– जीवनमा सदाचारको गुण जत्तिको महत्त्वपूर्ण आर्जन अरु हुन सक्दैन। धन, सम्मान, शिक्षा, पदभन्दा ठूलो सम्पत्ति हो सदाचार। किनकि सदाचार व्यक्तिमा नै धैर्य र संवेदनशीलताको विकास भएको हुन्छ। संवेदनशील र धैर्यवान् व्यक्तिले गरेको कार्य सदाचारको गुणले भरिएको हुन्छ अनि त्यही कार्य सफल हुन्छ। र अस्तित्वको अनि समाजको नियम भनेकै सदाचार हो।

त्यसैले सफलता प्राप्तिको लागि आन्दोलन, कडा परिश्रम, भ्रष्टाचार जरुरी छैन सदाचार नै महत्त्वपूर्ण छ। आत्मबलको अभाव, आत्मीयताको अभाव, वैरभाव र दुष्ट प्रवृत्ति राजनीति हो भनेर बुझ्न थालिएको आजको दिनमा आफ्नो गुणवत्ता विकास गरी  सामाजिक हितमा कार्य गर्नको लागि सदाचारमा स्थित रहन सक्नुपर्छ। झुट, बेइमानी, भ्रष्टाचारले धन मिल्ला, बाहिरी सम्मान पनि मिल्ला तर आत्मसम्मान मिल्दैन। सत्यतामा, सदाचारमा, इमान्दारिताको आचरणमा स्थित व्यक्तिको जीवनमा जतिसुकै सुख–दुख र अनुकूलता या प्रतिकूलता आए पनि विचलित हुँदैन। मानसिक रूपले सन्तुष्ट, मानवीय गुणले करुणावान्, व्यक्तिगत रूपमा खुसी, स्वस्थ र आनन्दित रहन धेरै धनसम्पत्ति होइन सदाचारी भए पुग्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.