समाजका शिल्पकार

समाजका शिल्पकार

नारी अस्य समाजस्य कुशलवास्तुकारा अस्ति। भनिन्छ, महिला समाजको आदर्श शिल्पकार हुन्। त्यसैले त मानवको सृष्टिमा महिलाको भूमिका अलग हुन सकेन। नारी पुरुष एक रथका दुई पांग्रा भनेर समान भूमिका र परिचय दिइयो। एउटा घरलाई घर जस्तो बनाउन महिलाकै भूमिका रहन्छ भनेर परापूर्वकालदेखि बखान गरिँदै आइयो। आधा आकाश ढाकेका महिला भन्ने उदगारले महिलाको भूमिका र जिम्मेवारी दुवैको बोध गराउँछ। त्यति हुँदाहुँदै पनि शारीरिक, मानसिक, भावनात्मक, आर्थिक र आध्यात्मिक रूपमै महिलाको भूमिका, सम्मान, अवसर, सुरक्षा र भविष्य निर्माणका हिसाबले पनि महिला हुनु सहज छैन भन्ने अनुभूति धेरैको सुनिन्छ। समाजमा घट्ने गरेका धेरै घटनाले नै महिला अझै पीडित, दमित र असहज वातावरणमा आफूलाई बाँच्न सिकाइरहेका छन् भनेर प्रष्ट हुन्छ। त्यसो त माथिको श्लोकमा उल्लेख गरेअनुसार महिला समाजकै शिल्पकार हुन्। भन्नुको तात्पर्य समाजका बहुआयाममा महिलाको भूमिका नहुने हो भने त्यो सुन्दर रचना बन्न सक्दैन। जे पनि चिज र परिस्थिति आइपर्छन्, त्यसमा सुन्दरता थप्ने र सहज रूपमा मिलाउने गरिन्छ। महत्त्वपूर्ण योगदान पुर्‍याउने काम महिलाबाट भएकाले पूर्ण, सत्य र सुन्दर समाजको चित्रणमा ठूलो योगदान छ।

परम्परागत धारणा र परिवर्तन

विकासको क्रममा जब भौतिक विकासले गति लिन थाल्छ। तब व्यक्तिको धारणा, सोचाइ र व्यवहारमा पनि विस्तारै परिवर्तन आउन जरुरी हुन्छ। हिजो धेरै धार्मिक, सांस्कृतिक र व्यावहारिक कारणले पछि परेका महिला आज तिनै घरमा असल व्यवहार पाउन थालेका प्रशस्त उदाहरण छन्। महिनावारी, छुवाछूत, बालविवाह, शिक्षा, स्वास्थ्य र मातृत्व सुरक्षाको विकासमा आज विभिन्न माध्यमले सहयोग पुर्‍याएका छन्।

हिजोको शिक्षाको स्तर र आजको स्तर, शिक्षाले विकसित बनाएको सोच र त्यसको परिणामस्वरूप घरायसी वातावरणमा रूपान्तरण ल्याएको छ। यसले महिला माथिको सम्मान बढ्दै गएको कुरा नकार्न सकिन्न। आजका दिनमा महिनावारी र भान्छा नछुने प्रचलन विस्तारै हट्दैछ। यसको पछाडिको कारण संयुक्त परिवारबाट छुटेर आफ्नो मात्र सानो परिवारमा कामको बाँडफाँट पनि सम्भव छैन। दोस्रो, घरका महिला–पुरुष, सासू–बुहारी दुवै नोकरी या व्यवसायमा व्यस्त हुन थाले। अब यस्तो अवस्थामा छुई भनेर घरै बस्ने र भान्छाको काम नै ठप्प पार्ने कुरा पनि भएन। समयले जसरी विकास ल्याउँछ, त्यसरी नै सोचाइ र व्यवहारमा परिवर्तन हुन बाध्य बनाउँछ।

धर्मकर्म, पूजाआजा, व्रत, उपवासमा पनि छुई भएको अवस्थामा सामेल हुनुहुन्न भन्ने मान्यता अब परिवर्तन हुँदैछ। अधर्मको कारणले महिला महिनावारी हुने होइन, आज सबैले बुझ्न थालेका छन्। कुनै धर्मशास्त्र र मन्दिरमा अछूत महिला र प्रवेश निषेध लेखिएको छैन। महिनावारी हुँदा महिलामा आउने शारीरिक र मानसिक परिवर्तन अनि सरसफाइका दृष्टिले छुट्टै बस्ने कुरा स्वास्थ्य र विज्ञानका दृष्टिले हेर्न थालिएको छ। महिनावारी र सुत्केरी हुँदा महिलालाई आवश्यक पर्ने खाना, पोषण र मनोबलको बारेमा बुझ्न थालिएको छ। धेरै सकारात्मक पक्ष छन्। परम्परागत हानिकारक अभ्यास न्यूनीकरण हुँदै महिलाको सम्मान गर्ने परिपाटी बसेको छ। जन्मदेखि मृत्युसम्मका क्रियाकलाप र संस्कारमा फरक धारणा थियो। छोरा र छोरीको भूमिका त्यसमा रूपान्तरण सुरु भएको छ।

पछिल्लो समय समाजको यो सोचमा पनि परिवर्तन आइसकेको छ। परिवारमा हुने प्रत्येक निर्णयमा दुवैको समान भूमिका रहेको पाइन्छ।

छोरा जन्म्यो या छोरी चासो बन्ने गरेको विषय अहिले सन्तान जन्म्योमा परिणत भएको छ। बाआमाको काजक्रिया र दागबत्ती दिने अनि पितृ श्राद्धजस्ता कार्यमा छोरीले पनि छोरासरह भूमिका निभाउन थालेका छन्। छोरा जन्माउन ४–५ छोरी जन्मेपछि पनि छोराकै लागि गर्भवती हुनुपर्ने अवस्था अहिले धेरै घर र समाजमा छैन। तर, यो चेतनको बिगुल गाउँगाउँमा फुक्नु जरुरी छ। सबैतिर यो सद्भाव र प्रेम कसरी फैलिन्छ ? त्यसमा ध्यान दिनु जरुरी छ। समानता विवेक र प्रेमको अभिव्यक्तिले अनुभूति गर्ने कुरा हो। लडाइँ, झगडा गरेर, नीति, नियम र कानुनबाट मागेर कतिञ्जेल पाइन्छ र महिला अधिकार अनि सम्मान। प्रत्येक घरका महिलालाई प्रेमको भावले हेर्न जान्ने कलाको विकास हुनु नै महिला माथि हुने विभेद अन्त्यको अभियान हो।

महिला शिक्षाले उकासेको सोच  

समाजमा छोरी पहिले बाआमाको रेखदेखमा हुर्किन्छिन्, बढ्छिन्। विवाहपश्चात् श्रीमान्को संरक्षणमा हुन्छिन्। त्यसपछि वृद्धावस्थामा छोराको संरक्षण, रेखदेखमा जीवनको बाँकी समय बिताउँछिन्। अहिलेको समयमा यो सोचाइ र परम्परामा परिवर्तन आउँदै छ। छोरीले पनि बाल्यावस्थादेखि नै शिक्षा, स्वास्थ्यमा छोरा समान अवसर पाइरहेका छन्। हुर्की–बढेपछि परिवारको आर्थिक क्षेत्रमा सहयोग गर्ने, आफ्ना भाइ–बहिनी, बाआमालाई सँगै राख्ने गरेका छन्। श्रीमान्लाई हरेक व्यवहारमा, आर्थिक रूपमा सहयोग गर्ने भएका छन्। एउटा घर व्यवस्थित हुन महिला–पुरुष दुवैको भूमिका महत्त्वपूर्ण हुने कुरा थाहा पाउन पनि शिक्षाको जरुरत रहन्छ। समाज पुरुषप्रधान भएकाले महिलाको स्थान पुरुषपछि नै छ भन्ने मान्यता धेरै हटेको छ। परिवारमा प्रत्येक निर्णयमा पुरुषकै प्रमुख भूमिका रहन्थ्यो। पछिल्लो समय समाजको यो सोचमा पनि परिवर्तन आइसकेको छ। महिलाले परिवारमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। परिवारमा हुने प्रत्येक निर्णयमा दुवैको समान भूमिका रहेको पाइन्छ। कानुनले पनि नारी–पुरुषलाई समान हक–अधिकार दिएको छ। शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक लगायतका सबै क्षेत्रमा दुवैको समान अवसर छ। 

दाइजो प्रथा, कुटपिट, सम्बन्धविच्छेद, गालीगलौज, अपहेलना, यातना, हिंसा, तिरस्कार, बालिका हत्या, बलात्कार, जबर्जस्ती करणी र वैवाहिक करणी समाजबाट पूर्णरूपमा हटेका छैनन्।

रोजगारका क्षेत्रमा पनि महिलालाई विशेष अवसर प्रदान गरिएको छ। सरकारी पदहरूमा त महिलालाई छुट्टै स्थानको पनि व्यवस्था छ। यसले गर्दा सरकारी कार्यालयहरूमा महिला कर्मचारीको संख्या पहिलेभन्दा वृद्धि भएको पाइन्छ। महिलाको इच्छा, आवश्यकता र स्वीकारोक्ति हेरी विधवा विवाहलाई कानुनले मान्यता दिएको छ। समाजले पनि विधवा विवाहलाई स्वीकृति दिइसकेको छ। एकल महिला तथा विधवालाई सरकारको तर्फबाट मासिक भत्ताको व्यवस्था पनि गरेको छ। राष्ट्रलाई नै जननी, मातृभूमि भनेर सम्बोधन गर्ने संस्कारबाट पनि प्रस्ट हुन्छ महिला सृष्टिकी सम्मान हुन्। समाजका परम्परागत मान्यता र धारणाले महिलाको मनोबल कम पार्ने कार्य गरिनु हुन्न। तर, सबै ठाउँमा यस्तो सोचाइ र व्यवहार नभएको पनि हुन सक्छ। त्यसका लागि सबै क्षेत्रको पहल आवश्यक छ। कसरी नेपालका कुनाकाप्चा, दूरदराजमा रहेका सबै महिलाले यस्तो अनुभूति गर्न सक्छन्। ती महिलाको जीवन विकासमा पनि सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहन्छ।

लज्जास्पद अभ्यासको अन्त्य हुनुपर्छ

यति धेरै सुधार आए पनि अझै हाम्रो देशका कतिपय जिल्लामा वादीप्रथा, छाउपडी प्रथा र बालविवाह प्रचलनमा छन्। यस्ता सामाजिक, धार्मिक कुसंस्कारहरूले महिला वर्गको शोषणमात्र होइन, अपमान पनि भइरहेको छ। यस्ता प्रथाहरू समाजबाट पूर्णरूपमा हटाउनुपर्छ। एकातिर देवीका रूपमा पूजा गर्ने र अर्कातिर महिलालाई श्रमयुक्त जीवनमा बाँच्नुपर्ने वातावरणले समाजको नकारात्मक पाटो उजागर गरिरहेको छ।

दाइजो प्रथा, कुटपिट, सम्बन्धविच्छेद, गालीगलौज, अपहेलना, यातना, हिंसा, तिरस्कार, बालिका हत्या, बलात्कार, जबर्जस्ती करणी र वैवाहिक करणी समाजबाट पूर्णरूपमा हटेका छैनन्। दाइजोका कारण जलाउने, एसिड आक्रमण, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, बोक्सीको आरोप, अपहरण, तस्करी, बेचबिखन आदि महिला हिंसा पनि कायमै छन्। महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन्। तर पनि दिनहुँजसो यस्ता घटनाबारे समाचार प्रसारण एवं प्रकाशित भइरहेकै छन्। यो अवश्य पनि दुःखद् एवं लज्जास्पद विषय भएकाले यस्ता अभ्यासलाई रोक्न अब ढिलो गरिनु हुन्न।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.