दलनको जलन

दलनको जलन

भातले नपुग्ने हुँदा सधैंजसो ढिँडो खान्थ्यौं। चामलको भात त अलिअलि सबैले पुर्‍याइपुर्‍याई खान्थ्यौं। पातको टपरीभित्र भातको सिता अड्किएको हुन्थ्यो। हामी पात गाँसेको सिन्का निकालेर टपरी चाट्थ्यौं।


गोरखा जिल्लामा जन्में, हुर्कें। सानो छँदा आफू को हुँ ? भन्ने महसुस नै भएन। ७, ८ वर्षकी हुँदा अलि फरक खालको नमिठो अनुभूति हुन थाल्यो। एउटै उमेरका ४, ५ जना साथी सँगै खेल्थ्यौं। घर नजिकैको मन्दिरमा प्रवेशका लागि साथीलाई बन्देज थिएन। उनीहरू मेरो घरमा पनि सहजै प्रवेश पाउँथे। तर, मलाई न मन्दिर न उनीहरूको घर दुवैमा प्रवेश निषेध थियो। म मात्र कथित दलित परिवारको थिएँ।

यस खालको फरक व्यवहार मनमा गढ्थ्यो। सहन गाह्रो भयो। एक दिन मेरो आदर्श व्यक्तित्व बुवा (रूपबहादुर)लाई सोधें। उहाँको जवाफ थियो, ‘छोरी, हामीलाई यो समाजले अछूतको ठाउँमा राखेको छ। तिमी ठूलो भएपछि यस खालको व्यवहारको अन्त्यका लागि काम गर्नुपर्छ। त्यसका लागि तिमीले पढ्नु पर्छ। तिमीले पढेनौं भने यो काम गर्न सक्दैनौं।’ बुवाका यी शब्द अहिले पनि  मनमस्तिष्कमा ताजै छन्। हरपल स्मरण भइरहन्छ। बाल्यकालमा भोगेको विभेदपूर्ण व्यवहार किशोरावस्थामा भोगें। दलित भएकै कारण काठमाडौंमा पटकपटक डेरा सर्नुपर्ने बाध्यता भोगें।

पढाइको भोक

मैले ढिलो पढें। १, २ कक्षामा पढ्दा नै पढाइ रोकियो। मामाघर जानु पर्‍यो। पछि ३ कक्षामा भर्ना भएँ। स्कुलमा घैंटोमा पानी हुन्थ्यो। अरूले घैंटोबाट पानी सारेर पिउँथे। हामीलाई नेवार थरका स्कुलका सहयोगी (पियन)ले अलि टाढा राखेर हातको अञ्जुलीमा दिन्थे। यी सबै दृश्यले मन दुख्थ्यो। त्यसरी किन पानी खाने ? बरु घरै गएर पानी खाने भन्ने लाग्थ्यो। कति दिन त पानी नै खाइनँ। तर, मलाई पढाइको प्यास थियो। जतिखेर पनि पढ्नुपर्छ भन्ने भाव आइरहन्थ्यो। कक्षामा दोस्रो हुनु परेन। जहिल्यै पहिलो। दुःखको कुरा, अरूलाई जाँचमा नसिकाएको वा चिट नचोराएको जस्तो कुरा सुनिन्थ्यो।

पढाइको भोक त थियो नै तर हाम्रो घर सानो थियो। घरमा पढ्ने वातावरण थिएन। घरका कोठाहरू पनि साँघुरा थिए। कोठाको एक कुनामा बुवाले लुगा सिलाउनु हुन्थ्यो। अर्को कुनामा आमाले दाउरा बालेर खाना बनाउनु हुन्थ्यो। त्यसैले स्कुलमा भएको बेला स्कुल पछाडि जान्थें। एकान्तमा पढ्थें। घरमा छु भने पनि डोको लिएर जंगल जान्थें। घाँस काट्थें। त्यसपछि गृहकार्य भ्याउँथे। कतिपयले त मलाई जंगली पनि भने। कहिलेकाहीँ घरमा सबै सुतेपछि पढें। मट्टीतेल किन्ने पैसा हुँदैनथ्यो। बाबा पनि रातभरि लुगा सिलाउनु हुन्थ्यो। त्यही बत्तीमा पढ्थें। तर, मायाले होला बाबाले मलाई छोरी यति रातिसम्म नपढ भन्नुहुन्थ्यो। बाबा सिलाएको लुगा लिएर गाउँगाउँ पुग्नुहुन्थ्यो।

त्यो बेला हामीलाई पेटभरि खान पुग्दैनथ्यो। नयाँ लुगा घर घर पुर्‍याएपछि आमाले केही माना चामल ल्याउनु हुन्थ्यो। त्यो चामलको भात सबैलाई पुग्दैनथ्यो। भातले नपुग्ने हुँदा सधैंजसो ढिँडो खान्थ्यौं। चामलको भात त अलिअलि सबैले पुर्‍याइपुर्‍याई खान्थ्यौं। पातको टपरीभित्र भातको सीता अड्किएको हुन्थ्यो। हामी पात गाँसेको सिन्का निकालेर टपरी चाट्थ्यौं। अहिले पनि यो कुरा घरमा चल्ने गर्छ।
गाउँमा ७ कक्षासम्म पढें। ८ कक्षाका लागि अर्कै स्कुलमा भर्ना हुनुपर्‍यो। शुल्क तिर्नु पथ्र्यो। त्यो मलाई पहिल्यै थाहा थियो। मैले भर्नाका लागि पैसा जुटाएँ। एकदिन मनकामना स्कुलका शिक्षकहरू घर आउनु भयो। उहाँहरूले बुवासँग स्कुलमा कक्षा ८ मा भर्ना गरिदिने कुरा गर्नुभयो। विष्णुलाई आफ्नो स्कुलमा भर्ना गराउन पाए अरू विद्यार्थीले पनि सिक्छन् भन्ने सोच उहाँहरूको थियो। उहाँले भर्ना शुल्क र कक्षा शुल्क तिर्न नपर्ने बताउनु भयो। अन्य कुनै शुल्क पनि लिँदैनौं भन्नुभयो। तर, स्कुल टाढा थियो।

बुवा टोपीमा चामल लिएर आउनु हुन्थ्यो। त्यो पकाएर खान्थ्यौं। धेरै पटक ढिँडो नै खान्थ्यौं। टिफिनको रूपमा कोदो र मकैको रोटी बाटोमा लुकाएर राख्थ्यौं। त्यो पनि अरूले चोरेर खाइदिए भने भोकभोकै घर फर्कनुपथ्र्यो। बुवाले भैंसी किन्नु हुन्थ्यो। त्यो भैंसी घरखर्च चलाउन ब्याउने बेला बेच्नुहुन्थ्यो। हामीले दूध खान पाउँदैनथ्यौं। दुई घण्टा हिँडेर स्कुल पुग्थें। मनकामना स्कुलमा पढ््न पाउनु मेरो सौभाग्य हो।
९ कक्षामा पढ्दा अमेरिकन पिसकोरका स्वयंसेवक शिक्षक मनकामना हुनुहुन्थ्यो। उहाँलाई अचम्म लागेछ, विष्णु किन अरू बच्चासँग खेल्दैन ? किन यसरी किताब लिएर कुनामा बस्छ ? भन्ने कौतुहल भएछ। मेरो अंग्रेजी राम्रो थिएन। उहाँलाई नेपाली भाषा आउँदैनथ्यो। आपसमा कुराकानी पनि राम्रोसँग हुन सकेन। तर, उहाँ स्कुलमाथि डाँडामा बस्नु हुन्थ्यो। २, ३ दिन त मलाई स्कुल आउँदा र स्कुलबाट घर फर्कंदा पछ्याउनु भयो। पछि उहाँले मेरो मेहनत र जेहेन्दार भएको थाहा पाउनु भयो। एक पटक गाउँमा घुम्न आउनु भयो। हाम्रो सानो झुपडीको घर देख्नुभयो। आर्थिक अवस्था बुझ्नुभयो। एकदिन भन्नुभयो, ‘विष्णु, तिमीले राम्रोसँग पढेर एसएलसी पास गर्‍यौं भने कलेज पढ्न पाउँछ्यौ।’

घरेलु हिंसा, जातीय विभेदविरुद्ध लड्ने र महिलालाई आर्थिक सबल बनाउने सोचका साथ जन्मस्थल फर्किएँ। जातीय विभेदविरुद्ध बल बन्दुक देखाएर परिवर्तन हुँदैन। 

ओ माई गड ! मेरो खुसीको सीमा रहेन। १० कक्षाको टेस्ट जाँचका लागि घ्यालचोक आएँ। एक रात त साथीसँग बसें। मेरो जात सोध्थे। कसैले कोठा नै दिएनन्। बल्लतल्ल जंगलनिरको कार्की थरका व्यक्तिले गोठ दिनुभयो। भैंसी, बाख्रा बाँधेको गोठको माथिल्लो भागमा म बसें। साँझ खान खाने बेला डर लाग्थ्यो। एकान्त ठाउँमा जनावर कराउँथे। खाएको ठाउँमा गोबरले लिप्नु पथ्र्यो। मैले छोएको भाँडाकुँडा सुनपानी हालेर मात्र भित्र लैजान्थे।

नेवार थरकी साथी जो मसँगै बस्थिन् उनले केही गर्नु पर्दैनथ्यो। यो घटनाले मलाई टर्चर भयो। तर, पनि केही वास्ता गरिनँ। बाबाले भनेको कुराले छुन्थ्यो। पढ्नु पर्छ भन्ने भावना मात्र थियो। अरूले भनेका÷गरेका व्यवहारलाई बवास्ता गरें। एसएलसीमा मैले दोस्रो श्रेणीमा उत्रीर्ण भएँ।

जीवनको टर्निङ प्वाइन्ट 

एसएलसी पास गरेकोमा खुसी थिएँ। काठमाडौं गएर पढ्ने चाहना थियो। बाबासँग जम्मा ६० रुपैयाँ रहेछ। स्कुल पढ्दा पिसकोरका स्वयंसेवकले व्यक्त गरेको वचन स्मरण भइरहेको थियो। त्यो आसमा काठमाडौंमा जाने योजना बनाएँ। असनमा सिलाइको काम गर्ने अलि टाढाको मामा नाता पर्ने व्यक्तिहरू हुनुहुन्थ्यो। उहाँहरू रातिसम्म सिलाइको काम गर्नुहुन्थ्यो।

राति रक्सी सेवन गर्नुहुन्थ्यो। उहाँहरूलाई खुवाएर भाँडा माझेर सुत्दा त कतिपटक अबेला भइसकेको हुन्थ्यो। बिहान ५ बजेको कक्षा लिनसमेत भ्याउँदैनथें। उहाँहरू घरपरिवारका सदस्यहरूसहित हुनुहुन्थ्यो। एकदिन त उहाँहरूले सुत्न अप्ठेरो भयो अर्कै ठाउँ कोठा खोज्न भन्नुभयो। म ‘ड्रप आउट’को अवस्थामा थिएँ। त्यसपछि गार्मेन्टमा पुगें। त्यहाँ कार्यरत चिनेका व्यक्तिहरूको भाँडा माझ्ने, लुगा धुने र खाना बनाउन थालें। दिनभरि कलेजमा बसेर पढ्थें।

पिसकोरको स्वयंसेवक सर जोनको बारेमा सोधीखोजी गर्न थालें। पिसकोरको अफिस पत्ता लगाएँ। स्कुलमा पढाउँदाको पिसकोरको स्वयंसेवक सरले मेरो नाममा पैसा पठाउनु भएको रहेछ। त्यो बेला मेरो नाममा तीन सय डलर आउने रहेछ। त्यो समयमा तीन सय डलर ठूलो रकम थियो। एक जना वाइबा थरका केटीले एक वर्षदेखि नै मेरो नाममा आएको पैसा खाइरहेको जानकारी पाएँ। उनले मलाई राम्रो रेस्टुरेन्टमा लैजान्थिन्। मीठो खुवाएर पठाइदिन्थिन्।

स्वयंसेवकले मेरो फोटोमा नाम र ठेगाना दिनुभएको रहेछ। साथी ठमेलमा ट्राभल एजेन्सीमा काम गर्नुहुन्थ्यो। फोटोमा स्वयंसेवक जोनको फोन नम्बर रहेछ। उनैलाई फोन गरिदिन आग्रह गरें। फोन गर्दा जोन बोलेझैं लाग्यो। सबै कुरा भनें तर उताबाट केही जवाफ आएन। यहाँ दिन हुँदा उता रात हुन्छ भन्नेसमेत थाहा थिएन त्यसबेला। मैले बोलेको उता (अमेरिकामा) रेकर्ड भएको रहेछ। पछि जोनले त्यही नम्बरमा फोन गर्नुभयो। उहाँले आडभरोसा दिनुभयो। सम्झाउनु भयो। वास्तवमा मेरो जीवनमा उहाँ (जोन) भगवान् भएर आउनुभयो।

काठमाडौंको गैह्रीधारामा रहेको एक प्रोजेक्टमा आएका विद्यार्थीबाट सात सय डलर पाएँ। मलाई त्यतिबेला त्यो रकम अहिलेको सात करोडजस्तो महसुस भयो। पहिलो पटक बैंक एकाउन्ट खोलें। सबै पैसा खर्च गर्न मन लागेन। अलिकति घरमा पनि पठाइदिएँ। असनमा छुट्टै कोठा लिएर बसें। पढ्दापढ्दै त्रिपुरेश्वरस्थित गोलमोल रेस्टुरेन्टमा पनि काम पाएँ। राहतको महसुस गरें। जीवनमा अनेकौं टर्निङ प्वाइन्ट हुँदा रहेछन्।
पढाइ सकियो। त्यसपछि अमेरिकन संस्थामै रिसर्च असिस्टेन्टको काम पाएँ। त्यसपछि आर्थिक अवस्था सुध्रन थाल्यो। गाउँमा रहेको घरको झुपडीमा कायापलट भयो। घर पनि ठूलो बनाउन सफल भयौं। गाउँमा रहेकी दिदीलाई काठमाडौं बोलाएँ। पिलग्रिम्स बुक हाउसमा दिदीले काम गर्न लागेपछि हामी त कमाउने भयौं। हामीलाई विगतमा जस्तो खान, लगाउनको समस्या भएन। जुन झुपडीमा बसेर बाबाले मलाई अर्ती दिनु भएको थियो। आज त्यहीं घर ठूलो भएको थियो। नयाँ ठूलो घरमै बाबा बित्नुभयो।

मेरो लक्ष्य भनेको गाउँमा गएर सेवा गर्नु थियो। जातीय विभेदविरुद्धको कुरालाई अघि बढाउनु थियो। मुसहर बस्तीमा गएँ। लघुवित्तीय कार्यक्रममा काम गरें। गरिब दलित बस्तीमा काम गर्दा झन् धेरै सिक्ने अवसर पाएँ। जातीय विभेदविरुद्ध लड्ने संकल्प थियो। गरिब, दलित र मुसहरलाई त कुनै ऋणसमेत दिइएन। संस्थाप्रति असहमति जनाउँदै निस्कें। तराईंमा छुवाछूतको के कस्ता समस्या छन् र मैले के भोगें ? यी सबै कुरा अहिले भनिसाध्य छैन।

घरेलु हिंसा, जातीय विभेदविरुद्ध लड्ने र महिलालाई आर्थिक सबल बनाउने सोचका साथ जन्मस्थल फर्किएँ। १८ वर्षकी दमैकी छोरी म कुइँरेसँग हिँडेकी भन्दै कुरा काट्न थाले। गाउँमा विश्वासै गरेनन्। सय जना महिलालाई समेट्न सफल भएँ। पाँचवटा समूह बनाएँ। अहिले लाग्छ, जातीय विभेदविरुद्ध बल बन्दुक देखाएर परिवर्तन हुँदैन। महसुस भए मात्र परिवर्तन आउँछ। महिलाका तिनै समूहलाई अक्षर चिनाउन थालें। पैसा गन्न सिकाएँ। बाबा लालटिन लिएर सँगसँगै हिँड्नु हुन्थ्यो। १० हजारका दरले बीउँ पुँजीको रूपमा समूहलाई वितरण गरें। त्यो रकम अमेरिकी साथीहरूबाटै सहयोगस्वरूप प्राप्त भएको थियो। त्यो बेला महिलाबाट दुई हजार संकलन गरिएको थियो। अहिले संकलित रकम ५०÷६० लाख भएको छ।

दसैंको बेला थियो। रिसर्चमा आएका ११ विद्यार्थीलाई इलाम लगें। चियाबारीमा गफ गर्दा एक जना विद्यार्थीले आमाले धेरैलाई अमेरिका लगेको सुनाए। मेरो कामबाट प्रभावित ती विद्यार्थीले अमेरिका जाने अवसर आएमा जानुहुन्छ ? भनी सोधे। हुन्छ भन्दै सहमति जनाएँ। पढ्न जान्छु तर पढेर आएर यहीं काम गर्छु भन्ने जवाफ फर्काएँ। ती विद्यार्थीको आमा नेपाल आउनुभयो। त्यतिबेला बुवालाई ब्रेन ह्यामरेज भएको थियो। शिक्षण अस्पतालमा मैलाई भेट्न आउनु भयो। अमेरिका आउन आग्रह गर्नु भयो।

मुगु जिल्लामा कार्यक्रम थियो। पढ्नका लागि पत्र आएपछि अमेरिका गएँ। त्यहाँ पुगेर स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरें। अहिले घरेलु र यौनहिंसाविरुद्ध काम गर्ने एक संस्थाको निर्देशक छु। अमेरिका लैजाने ती मदरलाई जन्मदिनको दिन सल (पछ्यौरा) उपहार दिएकी थिएँ। त्यो सल ती मदरलाई राम्रो लागेछ। त्यो सल अमेरिकामा बेचौं र धेरै गरिबलाई पढाउँ भन्ने सल्लाह दिनुभयो। हामीले पहिलो वर्ष नै सल बेचेर ६ हजार डलर बनायौं। अमेरिकाबाट दुई चोटी नेपाल आउँथे। ठमेलको सडकमा बिक्री गर्न राखिएको पछ्यौरा, गहना लिएर अमेरिका गएँ। बिक्रीपछि आएको रकम नेपाल पठाउन थालें।

स्कुलमा घैंटोमा पानी हुन्थ्यो। अरूले घैंटोबाट पानी सारेर पिउँथे। हामीलाई नेवार थरका स्कुलका सहयोगी (पियन)ले अलि टाढा राखेर हातको अञ्जुलीमा दिन्थे। 

अहिले नेपालमा १ सय १९ वटा महिलाको समूह छ। ६० हजारभन्दा बढी महिला संलग्न हुनु भएको छ। २५ हजारभन्दा बढी बालबालिकालाई सहयोग गरेका छौं। यसका लागि धेरै सहयोगी दाताहरूको योगदान छ। अमेरिका र नेपालमा रहेको हाम्रो टिमवर्कले यो सम्भव भएको हो। कार्यक्रमको अझै विस्तार गर्न चाहन्छु। समुदायमा सकारात्मक परिवर्तन ल्याएका कारण विस्तार गर्ने योजना बनाएका छौं। गोरखा, चितवनलगायत नौवटा जिल्लामा हाम्रो कार्यक्रम छ। तपाईंहरूलाई पायक पर्ने जिल्लामा गएर अवलोकन गर्न सक्नु हुनेछ। श्रीमान्को चुटाइ खाएर हिँड्ने महिलाहरू अहिले घरेलु हिंसाविरुद्ध लड्न तत्पर छन्। पहिलो ऋण नपाउने महिलाहरू अहिले अरूलाई ऋण दिने हैसियत बनाएका छन्।

बदलिएको भूमिका

अमेरिका जानुअघि त्यहाँ पढिसकेपछि स्वदेश आउने सोच थियो। तर, स्वदेश आइसकेपछि कतिजनालाई सहयोग गर्न सक्छु र ? भन्ने प्रश्न मनमा खेलिरहन्छ। अमेरिकास्थित न्यु जर्सी राज्यको जर्सी सिटी सहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त भएकी छु। सन् २०२४ सम्मका लागि समितिको सदस्यमा नियुक्त भएकी हुँ। यसअघि जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको डाइभर्सिटी र इन्क्लुसिभ बोर्ड (विविधता तथा समावेशी सञ्चालक समिति) को सल्लाहकार थिएँ। जर्सी सिटी सहरको सिस्टर सिटीका लागि इमिसरी (विशेषदूत) छु।

मेरै पहलमा सन् २०१९ मा जर्सी सिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध (सिस्टर सिटी) कायम गरिएको छ। सन् २०१७ मा मेरै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झन्डा फहराइएको थियो। जर्सी सिटी मेयर फुलपकी सल्लाहकार भएपछि झन्डोत्तोलनका लागि पहल गरेकी थिएँ। एनआरएनए आईसीसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकी संस्थापक अध्यक्ष पनि हुँ। यसअघि, जर्सी सिटी सहरद्वारा सन् २०१५ र २०१८ मा परिषद् सभापति रोलान्डो लाभारोको सबल नेतृत्व र मेरो तत्परतामा अमेरिकामा रहेका नेपालीका लागि टीपीएस (अस्थायी सुरक्षित दर्जा) परिषद् प्रस्ताव पारित गरिएको छ।

अस्थायी सुरक्षित दर्जा (टिपीएस) प्रस्ताव पारित गर्ने जर्सी सिटी एक मात्र अमेरिकी सहर हो। मेरो नाममा अमेरिकाको केन्टकी राज्यको लुइभिल सहरले सन् २०१५ को सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो। विश्वभरका १ सय ५५ भन्दा बढी देशका न्युयोर्कमा स्थापित वाणिज्य दूतावासहरूको संगठन ‘सोसाइटी अफ फरेन कनुल्स इन न्युयोर्क’ले विश्व नारी दिवस २०१८ को अवसरमा १७ देशका नारीहरूसँगै मलाई पनि सम्मानित गरेको थियो।

अझै पनि श्रीमतीले श्रीमान्को थर लेख्ने चलन छ। तर, श्रीमान्ले मेरो थर लेख्नुहुन्छ। उहाँ थापा हुनुहुन्छ। प्रदीप परियार थापा लेख्नुहुन्छ। पेसाले सञ्चारकर्मी हुनुहुन्छ।

अमेरिकामा बसेर नेपालका लागि मैले ‘फन्ड रेज’ गर्नमा सक्रिय छु। नेपालमा बस्ने हो भने ‘फन्ड रेज’ गर्न सम्भव छैन। र, अमेरिकामा पनि मैले अझै धेरै काम गर्नु छ। जातीय विभेद उन्मूलनका लागि अन्तर्राष्ट्रियरूपमा पनि ध्यानाकर्षण गराउनु पर्छ। जातीय विभेदविरुद्धको मुद्दालाई विभिन्न विश्वविद्यालयमा पढाउने पुस्तकमा मलाई पनि समेटिएको छ। विश्वभरबाट ५२ जना व्यक्तिको कथा संग्रृहीत छ। हावर्ड युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीले पढ्छन्।

यस पुस्तकको एउटा च्याप्टरमा मेरो प्रोफाइल छ। पुस्तकमा नेपालको जातीय विभेद र अमेरिकाको रंगभेदविरुद्धमा के फरक छ ? भन्ने कुराको विद्यार्थीले अध्ययन गर्न पाउँछ। यदि म नेपालमा भएको भए यो सम्भव हुने थिएन। अमेरिकामा पनि सरकारी संस्थामा बसेर काम गरेकी छु। विभिन्न विश्वविद्यालयमा पढाउने र जातीय विभेदविरुद्ध छलफल गर्छु। विभिन्न ठाउँमा पुगेर फन्ड रेजको काम गर्छु।
नेपालका लागि कसरी सहयोग गरौं ? भन्ने कुरालाई ध्यान दिइरहेकी छु। जातीय विभेद अमेरिकामा पनि छ। नेपालमा जस्तो छुवाछूत अमेरिकामा छैन। पूजाआजामा भने त्यो विभेद देखिन्छ। गोरा र कालो वर्णका व्यक्तिबीच विभेद छ। जुन विभेद विस्तारै घट्दो क्रममा छ। सानो परिवर्तन पनि अर्थपूर्ण हुनुपर्छ।

लक्ष्यसँग जोडिएको चुनौती

अझै पनि श्रीमतीले श्रीमान्को थर लेख्ने चलन छ। तर, श्रीमान्ले मेरो थर लेख्नुहुन्छ। उहाँ थापा हुनुहुन्छ। प्रदीप परियार थापा लेख्नुहुन्छ। पेसाले सञ्चारकर्मी हुनुहुन्छ। जातीय विभेदविरुद्ध वकालत गर्नुहुन्छ। हाम्रो घरमा चार जनाको अन्तर्जातीय विवाह भएको छ। हामीले सुरुमा लक्ष्य लिँदा असम्भव जस्तो लाग्छ। तर, त्यो सम्भव छ। लक्ष्य पूरा गर्ने क्रममा अवरोध र चुनौती आउँछ। ती अवरोध र चुनौतीलाई अवसरका रूपमा लिनुपर्छ। चुनौती पन्छाएर अघि बढ्नुपर्छ। समाजको तल्लो तहमा के गर्नुपर्छ ? कसरी परिवर्तन ल्याउनुपर्छ भन्ने कुराको चुरो थाहा नपाउँदासम्म दिगो विकास सम्भव हुँदैन। त्यसमा घनिभुत ढंगमा छलफल हुनुपर्छ।

- डा. परियार अमेरिकास्थित न्युजर्सी राज्यको जर्सी सिटीको रोजगारी र तालिम समितिको सदस्य एवं एड्वान संस्थाकी संस्थापक अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.