खुम्चिँदो बहिरंग सेवा

खुम्चिँदो बहिरंग सेवा

इन्धन बचत र अन्य मितव्ययितालाई ध्यानमा राख्दै नेपाल सरकारले परीक्षणात्मक रूपमा आउँदो जेठदेखि कर्मचारीको साप्ताहिक ४० घण्टे कार्यभार यथावत् रहने गरी हप्ताको दुई दिन बिदा हुने निर्णय गरेको छ। यसका सकारात्मक पक्ष होलान्। हप्ताको दुई दिन बिदा गर्दा उपचारात्मक स्वास्थ्य सेवा र खासगरी अस्पतालमा उपलब्ध हुने बहिरंग सेवा भने प्रभावित हुने देखिन्छ।

पूर्वनियोजित तरिकाले लिन मिल्ने सेवा र नसोचिएको समयमा आवश्यक पर्न सक्ने स्वास्थ्योपचार सेवामा फरक छ। जन्मदर्ता, नागरिकता वितरण, जग्गा पास, वृद्धभत्ता वितरणजस्ता सेवा हप्ताको केही दिन बन्द रहेर ठूलो फरक पर्दैन। स्वास्थ्य सेवा जतिखेर पनि आवश्यक पर्न सक्छ। सीमित अस्पतालमा उपलब्ध हुने आपत्कालीन (इमर्जेन्सी) सेवा बहिरंग सेवाको विकल्प हुन सक्दैन। यसै पनि उपलब्ध भौतिक संरचना र जनशक्तिको अनुपातमा सरकारी अस्पतालका आपत्कालीन सेवाहरूमाथि अत्यधिक चाप छ। आपत्कालीन सेवा कक्षमा एउटै शैय्यामा तीनजनासम्म बिरामी राख्नपर्ने, बिरामीको अत्यधिक चापले खुट्टा हाल्ने ठाउँसम्म नरहने, स्वास्थ्यकर्मी र कुरुवालाई आवत्जावत गर्नसमेत मुस्किल पर्ने अवस्था धेरै अस्पतालमा देखिन्छ। स्वास्थ्यकर्मी बिरामीको भीडमा कसलाई पहिले हेर्नु भन्ने समस्यामा पर्ने गरेका छन्। लगातार दुईदिनसम्म बहिरंग सेवा बन्द हुँदा त्यसको प्रत्यक्ष चाप इमर्जेन्सी सेवामा पर्न जान्छ। सरकारी इमर्जेन्सी सेवाले धान्न नसकेपछि बिरामी या त निजी अस्पताल धाउन बाध्य हुन्छन्, या त स्वास्थ्य सेवाबाट वञ्चित हुन्छन्। पछिल्लो अवस्था भनेको नेपाली नागरिकले  संविधानले व्यवस्था गरेको स्वास्थ्यसम्बन्धी अधिकार नपाउनु हो।

हप्ताको दुईदिन बिदा हुने देश संसारमा धेरै छन्। छिमेकी देश भारतमा शनिबार र आइतबार सरकारी बिदाको व्यवस्था छ। अस्पतालका बहिरंग सेवा शनिबार पनि खुल्छन्। बंगलादेशमा शुक्रबार र शनिबार सरकारी बिदा हुन्छ, तर बहिरंग सेवा शनिबार पनि खुल्छ। चीनमा शनिबार र आइतबार सरकारी बिदा भए पनि बहिरंग सेवा साताको एक दिनभन्दा बढी बन्द हुँदैन। शनिबार र आइतबार बिदा हुने पाकिस्तानमा (अहिले शनिबारको बिदा कटाइएको छ) शनिबार पनि बहिरंग सेवा खुल्ने गरेको थियो। जापान र दक्षिण कोरियामा सातामा दुई दिन सरकारी बिदा भए पनि बहिरंग सेवा एक दिनमात्र बन्द हुन्छ। समष्टिमा, साताको दुई दिन सरकारी बिदा हुने देशमा पनि बहिरंग सेवा एक दिनमात्र बन्द गर्ने चलन छ।

बहिरंग स्वास्थ्य सेवा नखुल्नुको असर

बहिरंग सेवा आफैंमा सीमित रहँदैन। यसले प्रयोगशालाका परीक्षण, एक्सरेलगायत रेडियोग्राफी र रेडियोलोजी, फार्मेसी, शल्यक्रिया, अस्पताल भर्नाजस्ता धेरै सेवालाई प्रभाव पार्छ। बहिरंग सेवा निजी अस्पतालमा लिएपछि बिरामी अन्य सेवा पनि तिनै अस्पतालमा लिनपर्ने अवस्थामा पुग्छन्। यी सबै प्रकारका सेवा निजी क्षेत्रमा निकै महँगो पर्छन्। निजी क्षेत्र महँगो भएकैले अहिल्यै पनि बिरामीहरू नगरी नहुने शल्यक्रियाका लागि सरकारी अस्पतालमा महिनौं र वर्षौंको पालो कुर्छन्। साताको दुई दिन अस्पताल बन्द हुँदा बिरामीले थप सास्ती बेहोर्न पर्ने कुरा प्रष्ट छ।

सरकारी अस्पताल दुई दिनसम्म बन्द हुँदा निजी अस्पतालको कार्यशैली फेरिने सम्भावना पनि सानो छैन। केही वर्ष पहिलेको कुरा हो, अस्पताल फार्मेसी बन्द रहने रातको समयमा त्रिवि शिक्षण अस्पताल वरिपरिका फार्मेसीले औषधिको मूल्य महँगो गर्ने गरेका गुनासा आउने गरेका थिए। सरकारी अस्पताल खुला रहँदा निजी अस्पतालको सेवा पनि प्रतिस्पर्धी हुन पुगी बिरामीहरूलाई फाइदा पुग्छ।

स्तरीय स्वास्थ्य सेवाका लागि ग्रामीण क्षेत्रका बिरामीहरू अझै पनि सहरी क्षेत्रमै पुग्नपर्ने बाध्यता छ। जँचाउन थप एक दिन कुर्न पर्दा बिरामीले सहरमा बस्नखानमा थप खर्च गर्नुपर्ने र रोगले थप क्षति पु¥याउने अवस्था आउँछ। यसो हुँदा धेरै बिरामी औषधि पसलमा गएर दुखाइ कम गर्ने औषधि सेवन गर्न पुग्छन्। यसरी अन्दाजमा सेवन गरिएका औषधिले हानि पनि गर्न सक्छन्। तुलनात्मक रूपमा शिक्षित र व्यवस्थित अमेरिकामा त औषधिको नराम्रो असरबाट प्रतिवर्ष ३० अर्ब डलरबराबरको नोक्सानी हुने गरेको छ। यसरी नेपालको अवस्था कस्तो होला ? अझ दुई दिन बहिरंग सेवा बन्द हुँदा के होला ? यो भनेको मितव्ययी र गुणस्तरीय स्वास्थ्य सेवा सुलभ नहुनु हो।

नेपालमा के गर्नु उचित ?

अस्पताल हप्ताको एक दिन बन्द गर्ने कि दुई दिन भन्ने कुरामा छलफल हुँदैछ। स्वास्थ्य सचिव डा. रोशन पोखरेलको भनाइमा सरकारको निर्णय सबैलाई लागू हुन्छ, याने कि अस्पताल दुई दिन बन्द रहन्छन्। स्वास्थ्यकर्मीको आँखामा अरूले पाएको सुविधा उनीहरूले पनि पाउनु पक्कै पनि उचित हो। तर, उपचारात्मक स्वास्थ्य सेवा उपलब्ध गराउने निकाय बिरामीका आवश्यकताप्रति संवेदनशील हुनैपर्छ।

जनस्वास्थ्यप्रति दायित्वबोध गरेर नै त्रिवि शिक्षण अस्पताललगायत धेरै अस्पताल पर्व वा अन्य सरकारी बिदा परेमा पनि शनिबारबाहेक अन्य सबैजसो दिन खुल्ने गरेका हुन्। यी अस्पतालले सरकारी बिदाको दिन काम गरेबापत आफ्ना कर्मचारीलाई सट्टा बिदा वा थप आर्थिक भत्ता दिने गरेका छन्। अस्पतालमा कार्यरत कर्मचारीको कार्यभार हप्ताको ४० घण्टाभन्दा बढी भएको तथ्यलाई मध्यनजर राखी शिक्षण र वीर अस्पतालले ५० प्रतिशत, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले २५ प्रतिशत र अन्य कतिपय अस्पतालले धेरथोर अतिरिक्त भत्ता दिँदै आएका छन्। कतिपय जिल्ला अस्पतालदेखि सामुदायिक स्वास्थ्य सेवा केन्द्र हप्ताको दुई दिन बिदा भए पनि कर्मचारीको कार्यभार हप्ताको ४० घण्टा नै रहने भएकाले हाल कायम रहेको समयतालिका यथावत् राख्दा अस्पताललाई थप आर्थिक भार पर्दैन। तुलनात्मक रूपमा हप्ताको एक दिन बढी अस्पताल जान पर्दा उत्पन्न हुने बाटो समय र बाटो खर्च बराबर र थप केही आर्थिक सुविधा थपिदिने हो भने कर्मचारी थप एक दिन काम गर्न सहमत हुन सक्छन्। बढीमा स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले यसतर्फ प्रयत्न गर्न आवश्यक छ। जसमा सरकारको सहमति नरहनु पर्ने कारण देखिँदैन।

बिरामीहरू शल्यक्रियाका लागि सरकारी अस्पतालमा महिनौंको पालो कुर्छन्। साताको दुई दिन अस्पताल बन्द हुँदा बिरामीले थप सास्ती बेहोर्ने निश्चित छ।

अहिले कतिपय जिल्ला अस्पतालले सार्वजनिक बिदामा वा एकै दिन २४ घण्टा काम गरेबापत काममा संलग्न स्वास्थ्यकर्मीलाई अतिरिक्त पारिश्रमिक दिने गरेका छन्। बहिरंग सेवासहित सिंगै अस्पताल खोल्ने व्यवस्था नभई बिरामीले पूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सक्दैनन्। यसर्थ अस्पतालका सबै सेवा कम्तीमा साताको ६ दिन खुल्ने गरी व्यवस्था हुन आवश्यक छ। सो व्यवस्थाको मुख्य गाँठो अतिरिक्त पारिश्रमिक नै हो।

समाधानस्वरूप बिरामीले बढी तिर्न पर्ने गरी साताको एक दिन विस्तारित स्वास्थ्य सेवा सञ्चालन गरिनुपर्ने विकल्प पनि अघि सारिएको छ। यस्तो प्रस्ताव गरिब बिरामीमैत्री छैन। शिक्षण अस्पतालकै हकमा बिरामी पुर्जी लिन नियमित सेवाको एक सय रुपैयाँ पर्छ भने सशुल्क सेवाको पाँच सय रुपैयाँ। अन्य सशुल्क सेवा पनि महँगा छन्। सम्पन्न व्यक्ति झन्झट बिसाउनभन्दा निजी अस्पतालतिर जाने गर्छन्। सरकारी अस्पतालको बहिरंग सेवा साताको एक दिनभन्दा बढी बन्द गर्न हुँदैन भन्ने कुरा गरिब बिरामीको हितलाई केन्द्रमा राखेर उठाइएको हो। सशुल्क विस्तारित स्वास्थ्य सेवाले यो मर्म बुझ्दैन। स्वास्थ्य सेवाका लागि पूरै खर्च गर्ने सामथ्र्य सरकारमा छैन भने सबै दिन उपलब्ध हुने सेवाशुल्कमा समान रूपले सामान्य वृद्धि गर्न सकिन्छ।

साताको दुई दिन बिदा गर्ने सरकारी निर्णयबाट स्वास्थ्य सेवामा पर्ने असरको दीर्घकालीन समाधानका लागि सरकारले अध्ययन र नीति निर्धारण गर्न आवश्यक छ। अहिलेलाई स्वास्थ्य सेवा साताको दुई दिन खुल्ने व्यवस्था गर्न र जनतालाई सुलभ स्वास्थ्य सेवाको प्रत्याभूति दिन आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.