राजकीय सम्मानसाथ एलिजाबेथको अन्त्येष्टि
लन्डन : बेलायतमा सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सोमबार मध्यान्ह लन्डनको वेस्टमिन्स्टर आबीमा राजपरिवारका सदस्य, देशका पूर्वप्रधानमन्त्रीसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा कूटनीतिक प्रतिनिधिको उपस्थितिमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टि समारोहपछि महारानीको शवलाई पश्चिम लन्डनस्थित विन्ड्सर क्यासलमा पुर्याएर समाधिस्थ गरिएको छ। विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा महारानीका पति फिलिपसँगै उनको समाधिस्थ गरिएको हो। अन्त्येष्टि पूर्वमहारानीकोे शवपेटिकालाई बेलायती सेनाको गन क्यारेजमा राखेर वेस्टमिन्स्टर आबीमा ल्याइएको थियो।
शवपेटिकाको अगाडि बेलायती सेनाका स्कटिस तथा आइरिश रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एयर फोर्सका सैनिक परम्परागत बाजा बजाउँदै परेडमा हिँडेका थिए। राजा चाल्र्स तृतीयसहित राजपरिवारका सदस्यहरू शवपेटिकालाई पछ्याउँदै हिँडेरै अन्त्येष्टिस्थल पुगेका थिए। अन्त्येष्टि समारोहमा विश्वका विभिन्न सय बढी मुलुकका राष्ट्रप्रमुखसहित ५ सय उच्चपदस्थ विदेशी पाहुनाहरूको सहभागिता थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ उपराष्ट्रपति वांग क्युशान, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुदेखि क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डका प्रधानमन्त्री साथै फ्रान्सेली राष्ट्रपतिसम्मका विश्वका प्रमुख नेताहरू महारानीको अन्त्येष्टिमा सहभागी भए। नर्वे, स्वीडेन, नेदरल्यान्ड, बेल्जियम, स्पेन, जापानलगायतका मुलुकबाट राजारानी तथा राजपरिवारका सदस्यहरू पनि उपस्थित थिए। नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले गरे।
इतिहासमै सबैभन्दा धेरै विश्व नेताहरू लन्डनमा भेला भएको महारानीको ऐतिहासिक अन्त्येष्टि समारोहमा रुस, बेलारुस, म्यानमार, सिरिया, भेनेजुएला, अफगानिस्तानजस्ता केही मुलुकलाई भने निमन्त्रणा गरिएको थिएन। उत्तर कोरियामा भने राष्ट्रप्रमुखलाई नभई कूटनीतिक प्रतिनिधिलाई मात्रै निम्त्याइएको थियो। अन्त्येष्टि समारोह पूरा हुनुपूर्व रानीका पाइपरबाट राष्ट्रिय गानको धुन प्रस्तुत भएको थियो भने देशैभर दुई मिनेटसम्म मौनधारण गरिएको थियो। अन्त्येष्टिपछि महारानीको शवपेटिकालाई समाधिका लागि विन्ड्सर क्यासलतर्फ लैजाँदै गर्दा उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सडकछेउमा लाखौं सर्वसाधारण लामबद्ध भएर बसेका थिए।