'गठबन्धनलाई भोट दिन जनता आतुर'

'गठबन्धनलाई भोट दिन जनता आतुर'

जनताले सत्ताा गठबन्धनलाई स्पष्ट बहुमत दिने दाबी गर्छन्, कांग्रेसका युवा नेता एनपी साउद । चुनावपछिको ५ वर्ष पनि गठबन्धन कायमै रहने उनको तर्क छ। चुनावी रणनीति र समसामयिक राजनीतिबारे अन्नपूर्ण पोस्ट्का नरेन्द्र साउदले कांग्रेस नेता साउदसँग गरेको कुराकानी: 


चुनावी प्रचार–प्रसारको अन्तिमतिर पुग्दा जनताको प्रतिक्रिया के–कस्तो पाउनुभएको छ ? 

जनताबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौं। चुनावप्रति जनतामा उत्साह छ। लोकतन्त्रलाई समृद्ध, परिस्कृत र जीवन्त बनाउने भनेको आवधिक निर्वाचन हो। नेपाली कांग्रेस र गठबन्धनका पक्षमा जनता छन्। संविधानको रक्षा, देशको विकास र समृद्धिका पक्षमा जनताको मत प्रकट हुने विश्वास छ। हामीले भोट माग्दा जनताले हार्दिकतापूर्वक स्वागत गरेका छन्। र, गठबन्धनले चुनाव जित्नुपर्छ भनिरहेका छन्। त्यसैले ४ गते गठबन्धनका पक्षमा मतदान गर्न जनता आतुर छन्। 

तपाईंकै क्षेत्रको एउटा प्रदेशसभामा गठबन्धनबाट साझा उम्मेदवार चयन गर्न सक्नुभएन। त्यसले चुनावी प्रचारमा के कस्तो कठिनाइ भयो ? 

त्यस्तो कठिनाइ छैन। प्रदेश (ख) मा गठबन्धनका साझा उम्मेदवार तय गर्न सकेनौं। त्यसैकारण, त्यो प्रदेशको चुनावमा गठबन्धनका दलहरूबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हौं। त्यहाँ पनि साथीहरूले हार्दिकतापूर्वक प्रचार–प्रसार गरिरहनुभएको छ। उहाँहरू दुवै जनाले प्रतिनिधिसभामा मलाई सहयोग गरिरहनुभएको छ। मित्रवत प्रतिस्पर्धा भए पनि गठबन्धनका उम्मेदवार जित्नुपर्छ भन्नेमा उहाँहरू प्रतिबद्ध हुनुहुन्छ। मित्रवत प्रतिस्पर्धाका कारण गठबन्धनमा कुनै समस्या आउँदैन। जनताको मन र भावना पनि त्यही नै छ। गठबन्धनका दल र कार्यकर्ताहरू इमान्दार छन्। जहाँ जुन पार्टीको उम्मेदवार भए पनि आफ्नै पार्टीको ठानेर मतदान गर्नेमा ढुक्क छौं। 

चुनावपछि गठबन्धन के हुन्छ ? 

कुनै रहर र लहडले गठबन्धन बनाएका होइनौं। तत्कालीन नेकपाका प्रधानमन्त्री केपी ओलीले जननिर्वाचित संसदलाई दुई–दुई पटक विघटन गरेर देशलाई अस्थिरता र अँध्यारो सुरुङतिर धकेल्ने कोसिस गर्नुभयो। संविधान च्यात्ने, मुलुकलाई असंवैधानिक कदमतिर लैजाने र लोकतान्त्रिक गणतन्त्रकै भविष्य संकटमा पार्ने कुचेष्टा भएपछि परिवर्तनकारी ५ दल एक ठाउँ उभिएका थियौं। ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दल सडक संघर्षमै होमियौं। उक्त आन्दोलनमा नागरिक समाज, 
बौद्धिक वर्ग र विभिन्न पेसागत संघ–संस्थाले ऐक्यबद्धता जनाए। 

हाम्रै जोडबल र जनताको बलमा संसद् पुनःस्थापना भयो र उपलब्धिहरू जोगिए। परिवर्तनलाई नरुचाउने र मुलुकलाई अस्थिरतामै राख्न खोज्ने तत्वहरू अझै सक्रिय छन्। तिनीहरूविरुद्ध परिवर्तनकारी शक्तिहरू एकजुट हुन जरुरी छ। त्यसैले ५ दलीय गठबन्धन चुनावपछि पनि कायम रहन्छ। जबसम्म संविधान, गणतन्त्र र जनताका अधिकार सुनिश्चित हुँदैनन्, तबसम्म गठबन्धन अघि बढछ।

चुनावपछिको प्रधानमन्त्री को हो ?

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ। शेरबहादुर देउवा नै प्रधानमन्त्री हो। गठबन्धनका दलहरूको सहकार्यमा सरकार बन्छ। अरू दलका नेता पनि आकांक्षी त हुनुहुन्छ होला। 

  •     नेपाली कांग्रेस र गठबन्धनका पक्षमा जनता छन्। 
  •     गठबन्धनका दल र कार्यकर्ताहरू इमान्दार छन्। जहाँ जुन पार्टीको उम्मेदवार भए पनि आफ्नै पार्टीको ठानेर मतदान गर्नेमा ढुक्क छौं। 
  •   ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दल सडक संघर्षमै होमियौं। उत्ताm आन्दोलनमा नागरिक समाज, बौद्धिक वर्ग र विभिन्न पेसागत संघ–संस्थाले ऐक्यबद्धता जनाए। 
  •     शेरबहादुर देउवा नै प्रधानमन्त्री हो। गठबन्धनका दलहरूको सहकार्यमा सरकार बन्छ। 
  •     प्रधानमन्त्रीका लागि इच्छा र चाहना राख्ने कुरालाई अन्यथा लिनु पनि हुन्न।
  •     जहाँ माओवादीले टिकट पाएको छ, त्यहाँ कांग्रेसले पनि हँसिया हथौडामा भोट हाल्ने हो।  
  •     केपी ओलीले जननिर्वाचित संसदलाई दुईपटक विघटन गरेर देशलाई अस्थिरता र अँध्यारो सुरुङतिर धकेल्ने कोसिस गर्नुभयो।

कांग्रेसकै गगन थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रचार गरिरहनु भएको छ नि ? 

त्यो त गगन थापालाई नै सोध्नुहोला। पार्टीमा त्यसबारे छलफल वा बहस भएको छैन। कांग्रेस विधि र नीतिमा चल्ने पार्टी हो। प्रधानमन्त्रीका लागि इच्छा र चाहना राख्ने कुरालाई अन्यथा लिनु पनि हुन्न। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावपछि पनि कांग्रेसकै नेतृत्व स्वीकार गर्नु होला त ? 

उहाँले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वाभाविकै हो। माओवादी केन्द्र पनि गठबन्धनको प्रमुख पक्ष हो। त्यस विषयमा गठबन्धनमा छलफल पनि होला। तर, मैले भन्नुपर्दा, शेरबहादुर देउवा नै प्रधानमन्त्री हो।

प्रधानमन्त्रीकै लागि विवाद भयो भने गठबन्धन भत्किने त होइन नि ? 

मलाई त्यस्तो लाग्दैन। गठबन्धन एउटा बलियो जगमा स्थापना भएको हो। हामीले स्थानीय तह निर्वाचनमा पनि गठबन्धनका दलहरू एक ठाउँ उभिएर चुनाव लडेका थियौं। अहिले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि एक ठाउँ उभिएका छौं। साझा उम्मेदवार बनाएर चुनाव लडेका छौं। त्यसैकारण चुनावपछि पनि गठबन्धन कायमै रहन्छ। त्यसपछिको सत्ता सञ्चालन पनि गठबन्धनका दलहरू मिलेर नै गर्ने हो।

तपाईंहरूबीच विवादका कारण चुनाव हार्नुहुन्छ भन्ने कार्यकर्ताको गुनासो छ नि ? 

हामीबीच अत्यन्तै सौहाद्रपूर्ण सम्बन्ध छ। कुनै तिक्तता छैन। हामी नमिलेर चुनाव हारेको भन्ने कुरामा सत्यता छैन। 

रूखमा भोट हाल्न पाइएन भन्दै कांग्रेसका थुप्रै नेताहरू स्वतन्त्र उठनु भएको छ नि ? 

उहाँहरूलाई पार्टीलाई कारबाही गरिसकेको छ। जहाँ कांग्रेसले टिकट पाएको छ, त्यहाँ न हँसिया हथौडा छ, न कलम छ। त्यहाँ सबैले रूखमा भोट हाल्ने हो। अनि, जहाँ माओवादीले टिकट पाएको छ, त्यहाँ कांग्रेसले पनि हँसिया हथौडामा भोट हाल्ने हो। गठबन्धनबाट ज जसले टिकट पाएका छन, ती सबै ५ पार्टीका उम्मेदवार हुन। त्यसैले कहाँ कसले के मा भोट हाल्योभन्दा पनि संविधान र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने मुख्य कुरा हो।

११–स्वतन्त्रहरू पनि बग्रेल्ती छन नि ? 

मुख्य सहरतिर होलान्। तर, यहाँका जनताहरू प्रमुख दलकै पक्षमा छन्। जसले संविधान बनाए, तिनीहरूले नै देश बनाउनुपर्छ। देशलाई सम्बद्ध बनाउनुपर्छ भन्नेमा यहाँका जनता एकमत छन्। 

पुराना नेताहरूविरुद्ध ‘नो नट अगेन’ भन्ने अभियान पनि सुरु भएको छ नि ? 

हेर्नुहोस, जसले इतिहास रचेका छन्। लोकतन्त्र र जनताको हितका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन्, ती नेताहरूको बेइज्जत गरेर रमाइलो गर्नु कदापी पनि राम्रो होइन। राम्रो काम गरेकालाई राम्रो भनौं, नराम्रो गरेकालाई नराम्रो भनौं। सबैलाई एउटै डालोमा हालेर सामाजिक सञ्जालमा बदनाम गर्ने काम लोकतन्त्र सुहाउँदो होइन। लोकतन्त्रमा दलको विकल्प अरू हुन सक्दैन। जसरी लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै हो। 

गठबन्धन भए पनि एमाले एक्लैले बहुमत ल्याउँछु भनिरहेको छ नि ? 

दाबी गर्न पाइन्छ। तर, व्यवहारमा त्यस्तो नतिजा आउँदैन। एमाले प्रमुख प्रतिपक्षी बन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.