दोहोरो चरित्रको मारमा छोरीहरू

दोहोरो चरित्रको मारमा छोरीहरू
सुन्नुहोस्

आजको पढेलेखेको जमात पनि यथार्थ नबुझी लहैलहैमा लागेको देख्दा भने निकै उदेक लाग्छ। एउटाले नराम्रो भन्यो भने अरूले पनि केही नबुझी प्याच्च लेख्दिहाल्ने ठूलो झुन्ड छ हामीकहाँ। के हाम्रो समाज छोरीमैत्री बन्ला ? चरित्रको पासो छोरीलाई मात्रै थमाइदिने हो र हामीले ?

केही समयको कारागार सजाय काटेर नायक पल शाह थुनामुक्त भएका छन्। मनोरञ्जनको क्षेत्रमा उनको योगदानका कारण उनका थुप्रै शुभचिन्तक छन्। आज ती सारा उनका लागि खुसी छन्। उनको जयजयकार जेलभित्र रहँदा पनि थियो भने उनी थुनामुक्त भएपछि खुसीयाली नमनाउने त कुरै आएन। यता बाहिरी संसारमा भएर पनि तिरष्कृत जीवन जिउन बाध्य पारिएको छ, गायिका समीक्षा अधिकारीलाई। घटना भएको यतिका समय बितिसक्यो। एक पात्रले सजाय काटेर निस्की पनि सके तर फेसबुकमा पल वा उनी सम्बन्धित कुनै समाचार वा भिडियोको तलपट्टि पल शाहलाई हाम्रो हिरो, वाहवाही तारिफमा मीठा–मीठा शब्दहरू देखिन्छन्। अर्कोतर्फ समीक्षा वा उनी सम्बन्धित समाचार वा भिडियोमा त्यहीँ मरी जा, अहिलेसम्म किन नमरेकी, यति लाखे, उति लाखे भनेर अति नै तल्लो स्तरका गालीगलौज गरेको देखिन्छ।

इन्स्टाग्राम, टिकटक, जहाँ–जहाँ उनको उपस्थिति छ, उहीं–उहीं पुगेर सुन्नै नसकिने शब्दहरू प्रयोग भएको देखिन्छ। समीक्षासँग किन यो जमातलाई यति सकस हो ? आज उनको जस्तै घटना तपाईंको परिवारमा परेकोे भए के यस्तो तिरस्कार सहन सक्नुहुन्थ्यो तपाईं ? हो, तपाईंको मनपर्ने हिरो आज अदालतले तोकेको सजाय भोगेर मुक्त भए। तपाईंलाई भरपूर खुसी हुने अधिकार छ तर यो कुरा पनि भुल्नु भएन कि उनी कानुनका नजरमा दोषी रहेछन्। नाबालिका केशकै कारण कानुनले नाबालिकाको संरक्षण गरेको रहेछ। उनी शारीरिक सम्पर्कका लागि योग्य भए पनि र राजीखुसी भए पनि त्यो उमेरमा बौद्धिक हिसाबले के सही र के गलत भनेर छुट्ट्याउन नसक्ने ठहरिएकै कारण पल दोषी साबित भएका हुन्। यो विषयमा अदालतको निर्णय पर्खनु पर्ने थिएन ? किन न्यायाशीशमात्र बन्यौं हामी ? हामीले कसैलाई माथि उठाउने नाममा अर्को पक्षलाई पछारेको पछार्यै किन गरिरह्यौं ? बरु यही घटनालाई ठण्डा दिमागले सोचेर परिवारका नानीहरूलाई होसियार हुन सिकाउन सक्दैनौं ?

वास्तविक जीवनमा त लडेको मान्छेलाई हात दिएर उठाउँछौं होइन र हामी ? लडेकोलाई झनै घचेटिरहने कस्तो संस्कृति बसाउँदै छौं ? यस अर्थमा समीक्षाको पक्ष लिएको पक्कै होइन। जानअञ्जानमा उनी पनि दोषी हुन् तर पाको उमेरको हिसाबले हेर्ने हो भने पल ज्यादा सचेत रहनुपथ्र्यो। अब एक पटकलाई समीक्षालाई बैनी/छोरी सम्झेर हृदयदेखि स्वीकारेर हेर्नु त– कति तिरस्कार सहिरहेकी छन् दिनरात। घटना बाहिर आएको महिनौंपछि उनी जेनतेन हिम्मत बटुलेर एक स्टेज कार्यक्रममा पुगिन्। स्टेज उक्लेर, भनाइ राख्दै थिइन्– गीत गाउनै बाँकी थियो, सुरुआतमै उनलाई लक्षित गरी दर्शकदीर्घाबाट ढुंगा हानियो। लगत्तै उनी बोलिन्– कृपया यस्तो नगरिदिनुहोला। हजुरहरूका पनि दिदीबहिनी हुनुहोला आदि आदि...।null

एकदिन टिकटक स्क्रोल गर्दै थिएँ, उनको त्यो भिडियो देखें। कमेन्ट पढिसक्नु थिएनन्। गोलीजस्ता तिखा अनि तीता गालीको वर्षा। एउटै भए पनि राम्रो लेखेको भेटिन्छ कि भनेर अलि तलैसम्म पुगें तर अहँ भेटिनँ। जति कमेन्ट स्क्रोल गर्‍यो उति नै असभ्य र अपाच्य गाली। अरू निकृष्ट शब्दहरू। टिकटके जमातले हिजोसम्म पल कारागार हुँदा समीक्षालाई ढुंगा हान्नु ठीक हो भन्दै थियो। आज भन्दै छ, तिमी पल काण्ड हौं भन्न छोडिदिऔं अब जिउन दिऔं रे। वाह, पहिले घाइते पनि आफैं बनाउने अनि पछि उपचार पनि आफैं गर्न खोज्ने। के यो दोहोरो चरित्र होइन ? कसैलाई साथ दिइरहँदा कतिसम्म माथि चढाउने अनि कसैको विरोध गरिरहँदा कतिसम्म तल गिर्ने र गिराउने ?

त्यो घटना परिवारमा परेको छैन भन्दैमा अरूको छोरीचेलीलाई यतिसम्म गिरेर किन मुख छाडनु ? किन सत्तोसराप गर्नु ? अर्काको घरमा आगो लाग्यो भनेर, धनजनको क्षति भयो भन्दैमा खुसी हुन मिल्छ ? ग्याँस सिलिन्डर त तपाईंको घरमा पनि होला। सिलिन्डर तपाईंको घरमा पनि पड्कन्न भन्ने के ग्यारेन्टी छ र ? समयको चक्र हो। पल शाह जेलबाट छिटो छुटुन् भनेर कामना गर्ने पनि यही समाजमा थिए भने समीक्षालाई सुनी नसक्नुको बोलेर/लेखेर सत्तोसराप गर्ने पनि उही समाज। जबकि गलत काम दुवैबाट भएको हो भने छोरीका लागि किन यति निर्ममता ? यो अझै मरेकी छैन ? भनेर पलपल मार्नेहरू पनि समाजमै छन्।

समाजले पललाई जसरी समीक्षालाई साहस दिन सक्ला त ? आखिर कहिलेसम्म उनले तिरस्कृत भइरहने ? देशभित्र यतिबिघ्न मेला महोत्सव भइरहेका छन् र बाहिरी देशमा पनि। तर खोइ, स्टेजहरूमा उनको निर्धक्कको प्रस्तुति ? सधैं यस्तै पाप, घृणा, द्वैष र कुण्ठामात्र पालेर बस्नु सुहाउँछ त आजको सभ्य समाजलाई ? के हाम्रो समाज छोरीमैत्री बन्ला ? समाजमा एसिड हानेको होस्, बलात्कार मुद्दा परेको होस्, श्रीमती मारेको होस्, बहुविवाह गरेको किन नहोस् ? समय बित्दै जाँदा पुरुषका सबै अपराध माफी हुन्छन्। त्यसो भए छोरीमान्छेलाई सधैं किन अपराधी ठानिरहने ? छोरीचेली कुनै दोस्रो ग्रहबाट आएकी त होइनन्। उनी पनि त आखिर कुनै आमाकी सन्तान हुन्। जति नै अपराध गरेको किन नहोस्, छोरो भोलि फेरि चम्किन सक्दोरहेछ त। उसले जिन्दगीमा नयाँ सुरुआत गर्न पाउँछ भने छोरीले किन नपाउने ? मेरो प्रश्न यत्ति नै हो। पुरुषले दोस्रो बिहे गरे पनि समाजले भन्छ, मर्दका १० वटी पनि हुन्छन्। तर फेरि कथंकाल छोरीको घर बिग्रेर वा एकल महिलाले दोस्रो बिहे गरिन् भने फलानालाई कति पोइ चाहिएको हो ? चरित्रहीन रै’छे आदि आदि सुन्नुपर्छ। छोरी चोलामा एकपटक कुनै कुराको खोट लागेपछि जिन्दगीभरि तातोभुंग्रोमा पिल्सिरहनुपर्ने ? कि त उसले शान्तिको सास फेर्नु छ भने मृत्यु रोज्नैपर्ने ?

एकाध घटनाबाहेक, सम्बन्धविच्छेद गर्ने पुरुष बहादुर रे ! खुट्टा भए जुत्ता कति कति रे ! तर महिला रुँदै हिँड्नु पर्ने अनि जिन्दगीभर विचरा बन्नुपर्ने ? महिला रोइधोइ गरेर/ बिचरी बनेर नहिँडे समाजले १० थरी संज्ञा दिइहाल्छ। निर्दयीपनको पनि पराकाष्ठा ! के छोरीलाई खुसी हुने अधिकार नै छैन ? के डटेर कमाउने, लाउने, खाने गर्नै नहुने छोरीचेलीले ? समय परिस्थितिले जान/अञ्जानमा कुनै घटना भइहाले सधैंभरि कठै ! विचरा ! भएरै बस्नुपर्ने ? हामीले सधैं यस्तो सोच पालिरहने हो ? यसरी कसरी समानता र समाज रूपान्तरणको पाइला अघि बढ्लान् ?

यहींनेर अर्को प्रसँग जोड्न चाहे। मिठासपूर्ण अनि आफ्नो वजनदार आवाजका धनी साइग्रेस पोख्रेल। उनको एकाउन्टमा कथा थपिएको छ, किशोरी गोमा श्रेष्ठको। अनाहकमा सोसल मिडियामा आएका टीकाटिप्पणीका कारण आफू निकै तनावमा परेको उनी बताउँछिन्। कथामा जनाइएअनुसार उनले पहिलेको सम्बन्धबाट बाहिर निस्केर बिहे गरिन् नातेदारसँग। समाजलाई त्यो कुरा पचेन। उनले साइग्रेसलाई पठाएको कथामा यो पनि भनेकी छन्– हो, चित्त नबुझे पीडादायी सम्बन्धलाई निभाउने छैन। हरघडी अपमानित मात्र भएर मायाको बदला रातदिन रोएर कटाउनुपर्छ भने त्यस्तो सम्बन्ध फेरि पनि निभाउने छैन। के छोरीमान्छेले मात्र सबै पीडा सहनुपर्ने हो ? उनको प्रश्न छ। समाज यस्तै छ, छोरीमान्छेलाई साथ दिँदैन। आजको पढेलेखेको जमात पनि यथार्थ नबुझी लहैलहैमा लागेको देख्दा भने निकै उदेक लाग्छ। एउटाले नराम्रो भन्यो भने अरूले पनि केही नबुझी प्याच्च लेख्दिहाल्ने ठूलो झुन्ड छ हामीकहाँ। के हाम्रो समाज छोरीमैत्री बन्ला ? चरित्रको पासो छोरीलाई मात्रै थमाइदिने हो र हामीले ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.