इमानको खडेरी

इमानको खडेरी
सुन्नुहोस्

इमान्दारले कहिलेसम्म सजाय पाउने ? भ्रष्ट सोचविचार, चिन्तन भएकालाई ठूला मान्छे किन बनाउँछौं ? परिश्रम गर्नेहरूलाई सबैले माया गर्न किन सक्दैनौं ? सदाचार र नैतिकता गुमाउनेहरूको अचाक्ली इमान्दारहरूले कहिलेसम्म खप्दै जाने ?

‘न्याय नपाए गोर्खा जानू’ भन्ने राम शाहका सन्तति हामी आज न्याय हराएको देश किन बन्दैछ ? श्रम, काम र इमान्दारलाई, असल व्यक्तिलाई हेला गर्ने, तिरस्कार गर्ने, सजाय दिने खराब सोच, विचार–चिन्तन र मानसिकताले किन प्रश्रय पाएको छ समाजमा ? केही सातापहिले प्रेमप्रसाद आचार्यले आत्मदाह अगाडि लेखेको असफलताको कथा भाइरल भयो। 

पढ्दै गर्दा मन–मस्तिष्क हल्लियो। हातखुट्टामा कम्पन आयो। मर्नु हुन्थेन उनी मरे। राष्ट्रप्रेमले, राष्ट्रभक्तिले देशमा नै पौरख पोख्नेहरूको असफलताको कथा हो। आफूलाई भन्दा देशलाई माया गर्ने असल अनि इमान्दारहरूको कथा हो। रातदिन पसिना बगाउँदा पनि टिक्न गााह्रो छ, समाजमा। श्रमको मूल्य पच्दैन हामीलाई।

मुलुकमै बस्ने, रातदिन दसनंग्रा खियाउनेहरूको जीवनस्तर कहिल्यै सुध्रिएन यहाँ। आफू अन्यायमा परेको कुरा, आफ्नो श्रम, सीप, व्यवसायले मूल्य नपाएको कुरा कसैले सुन्दैन। दुःख पाउने मेहनती हातलाई तिरस्कार गर्दै रमिते बन्न खप्पिस छौं। अर्कोतिर अवैध क्रियाकलापबाट एकै रातमा महल ठड्याउनेहरूलाई उच्च ओहोदामा विश्वासको मत दिन्छौं। 

उसैलाई चाकरी गर्ने, चिप्लो घस्ने र उसैको सेवक बन्नेहरूको ताँती पनि कम छैन। कहिले होला देशमा थिति, विधि र पद्धतिको व्यवस्थापन ? मौकामा चौका हान्नेहरू नै पुग्छन् प्रगतिको शिखरमा। कानुन, विधि, पद्धति, संस्कृति, सदाचार र नैतिकता सबै छोडेर जसरी पनि पैसा कमाउनेहरूलाई मालामाल भएको छ यो देश। धनी झन् बढी धनी हुँदै जाने र गरिब झन् बढी गरिब हुँदै जानुको प्रमुख कारण पनि हो यो।

एउटा इमान्दार, गरिखाने, दैनिक पसिना बगाउनेहरूको पीडा कहिल्यै सुन्दैन सरकार, समाज। इमान्दारहरूले इमान्दारिता देखाउन आत्महत्या नै गर्नुपर्ने कहिलेसम्म हो ? असललाई असल, खराबलाई खराब, राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न पनि नसक्ने कस्ता नेपाली हौं ? आचार्यको आत्मदाह पछाडि आत्मदाह गर्नेहरूको संख्या व्यापक बढेको छ। 

चौबिसै घण्टा श्रम गर्दासमेत गाँस, बास, कपासको आधारभूत आवश्यकता माथि नै समस्या हुँदा मानसिक अवस्था कमजोर हुनुलाई अनौठो मान्नु हुँदैन। मुलुक सुन्दर छ, सानो छ। अलिकति उच्च राजनीतिक संस्कारयुक्त नेतृत्वको जरुरी छ। राजनीति आफैंमा उत्कृष्ट नीति हो तर हाम्रो नेतृत्व वर्ग नै दलगत स्वार्थ, सत्ताको स्वार्थ, आफ्नो र आफ्नाहरूको स्वार्थभन्दा माथि उठ्न नसक्नु ठूलो विडम्बना हो।

मुलुकमा कानुनी राज्य कायम हुन सकेको छैन। दण्डहीनताको अवस्था बढेको छ। नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको लागिसमेत सरकारको क्षमता कमजोर छ। 
बिचौलियाहरूको चंगुलमा फसेका छन्। जति श्रम गरे तापनि उनीहरूको आर्थिक अवस्था माथि उठ्न सकेको छैन। हाम्रो समाजमा, हाम्रै बजारमा इमान्दार बिक्दैन, श्रमको मूल्य पच्दैन, सदाचार र नैतिकता हराउँछ, संविधान, नीति, नियम सबै कागजी घोडा बन्छ। 

यसको कार्यान्वयन हुँदैन। हुन्छ त केबल यहाँ सत्ता प्राप्ति शक्तिको लागि ताण्डव नृत्य। दण्डहीनताको कथा वाचन गर्न खप्पिस छन् न्यायकर्मीहरू। पैसामा बिक्नेहरू, नैतिकता र इमान्दारिता छोड्नेहरू नै जे खोज्छन् त्यही प्राप्त गर्छन्। 

इमान्दार व्यक्तिलाई पैसामा बिक्नेहरूले, श्रम नगरी आकर्षण पैसा कमाउनेहरूले निकै निम्न स्तरको व्यवहार गर्छन्। मानव भएर पनि आफ्नो दानव प्रवृत्ति देखाउँदछन्। सत्यको हार हुँदा विजय र्‍याली निकाल्छन्। यति मात्र कहाँ हो र ?

इमान्दारहरूले आत्महत्या गरिसक्दा पनि अझै केही कमाउने उद्देश्यका साथ उनीहरूको मृत्युको समेत व्यापार गर्छन्।

मृत्यु शाश्वत नियम हो। हामी जन्मँदा नांगै जन्मन्छौं अनि मृत्यु हुँदा कसैले केही लिएर जान पाउँदैनौ। यति हुँदाहुँदै पनि हामी किन असल नबन्ने ? असल, खराब, बेइमान, इमान्दार, राम्रो नराम्रो गुणवान् भ्रष्ट जो जसलाई जस्तो व्यवहार छ, जस्तो काम छ सोहीअनुसारको व्यवहार गरौं। राजनीति गर्नेले निष्ठाको राजनीति गरौं। 

हरेक क्षेत्रमा सबैले सदाचार र नैतिकताको व्यावहारिक प्रयोग गरौं। एउटा व्यक्ति खराब हुँदा उसलाई फाइदा होला तर अरू सबैलाई नोक्सान हुन्छ तर त्यही व्यक्ति असल बन्दा सबैलाई फाइदा नै फाइदा हुन्छ। इमान्दारहरूलाई सबैले माया गरौं। श्रमको यथोचित सम्मान गर्न सिकौं। अशक्त, असहायहरूलाई सक्दो सहयोग गरौं। सित्तैमा कसैको केही पनि नलिने बानीको विकास गर्नु जरुरी देखिन्छ।

मुलुकमा समृद्धिको लागि राजनैतिक नेतृत्वको उच्च भूमिका रहन्छ। जनप्रतिनिधि भनेका आम नागरिकहरूका आधारभूत आवश्यकता परिपूर्ति गर्दै समग्र मुलुकको विकास व्यवस्थापन गर्ने संयन्त्र हो। सक्ता, शक्ति, पद र पैसा प्राप्तिका लागि भइरहेका खराब आचरण र शैलीलाई जरैदेखि बदलौं। 

फोस्रा आडम्बरमा बाँच्नेहरूलाई, सत्ता, शक्तिको मात्र पूजा गर्ने जुकाहरूलाई सबैले बहिष्कार गरौं। असल काम कुराहरूको सुरुवात गर्नु–जग बसाल्नुलाई उपलब्धिका रूपमा लिन सकिन्छ। सिंगो मुलुकमा इमान्दारले पुरस्कार र खराबले दण्ड पाउने संस्कृतिको विकास गर्नु, गराउनु सरोकारवाला सबैको साझा दायित्व हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.