बालविवाह रोक्न म्याग्दीको मुनामा किशोरी सम्मेलन

बालविवाह रोक्न म्याग्दीको मुनामा किशोरी सम्मेलन
म्याग्दीको मुनामा भएको किशोरी सम्मेलनमा सहभागी । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालविवाह नियन्त्रण,बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ । 

गर्ल्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको संगमका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिए ।   

धवलागिरी गाउँपालिकाको ताकम, मुना, मुदी र लुलाङको ४ वटा वडाका ११ वटा विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ जना प्रतिनिधिहरूको सहभागिता थियो । किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको थियो । 

किशोर अवस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने,  बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा बिवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ । 

सबै बिद्यालयमा महिनावारी हुदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीले महिनावारी हुँदा सफा र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

बीस वर्ष नपुगी विवाह गर्ने जोडीको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको बिरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् । 

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने,घरबाट बाहिर निस्कन नदिने,मिठो मसिनो खान नदिने अन्धविश्वास र रुढीबाढीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् । 

बाच्न,संरक्षण,विकास र सहभागीताको नैसर्गिक अधिकारको सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । कार्यक्रममा जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले विभेदका कारक बनेका गलत सामाजिक संस्कारको अन्त्य गर्नुपर्ने बताए । कानुनले अपराध मानेको बालविवाहको एक कारण गलत सांस्कृति भएको बताए । बालविवाहले महिलाको शिक्षा, स्वास्थ्य, सामाजिकलगायत धेरै क्षेत्रमा असर गरेको बताए । 

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बालविवाह न्युनीकरण र विकृति न्युनीकरणका लागि बाल सञ्जाल र संघ संस्थाले गर्ने कार्यक्रममा साथ दिने बताए । गरिबी,पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोग बालविवाहको कारण उनीहरूको भनाइ थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.