कसले बिगार्‍यो देश ?

कसले बिगार्‍यो देश ?
सुन्नुहोस्

देश त्यसले पनि बिगारेको हो, जो आफूले केही बिगारेको छैन भन्छ र अरूले बिगारेको टुलुटुलु हेरेर बस्छ। अनि अरूलाई गाली गर्छ र आफू भने एक सिन्का पनि भाँच्दैन।

अभिशप्त देशमा स्वाभिमानको सशक्त उज्यालो भएर आओस् वर्ष २०८०।’ नव वर्षको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा भेटिएको धारणा हो यो। ‘अभिशप्त’ शब्दले ‘स्ट्राइक’ गरेपछि नेपाली शब्दकोश पल्टाएँ– ‘सरापिएको, सराप दिइएको, श्रापित।’ अर्थले दिमागको चेतनालाई हृदयतिर पुर्‍यायो। मन चसक्क छोयो। मनले आफैंलाई प्रश्न गर्‍यो– ‘के हाम्रो देश श्रापित नै हो ? कोही कसैले देशलाई पनि सराप्ला ?’

इतिहासका पानामा काजी भीम मल्लकी रानीले आफू सती जाने बेलामा ‘यो देशमा राम्रो गर्नेको कहिल्यै भलो नहोस्’ भनेर श्राप दिएकी थिइन् भन्ने नपढेको होइन। बोलीचालीमा पनि धेरैले यो ‘सतीले सरापेको देश’ भनेको पनि नसुनेको होइन। तर इतिहासको यो कहानीमा केही अनुत्तरित प्रश्न भने बाँकी छन्। के सती जाने बेलामा कसैले देशलाई सराप्यो होला ? सरापेकै भए पनि आफ्नो पतिमाथि अन्याय गर्नेको पो भलो नहोस् भनेर सरापिन् होला, देशको कुभलो कसरी चिताइन् होला ? उनले सरापेकै रहेछ भने पनि यसमा देशको के दोष ? सरापेकै हो भने पनि सरापिने देशलाई होइन, बरु सराप्न बाध्य पार्नेलाई बढी दोष दिऊँ न।

इतिहास छाडेर वर्तमानका कुरा गरौं। देश बिग्रेकोमा कसैलाई गुनासो छ भने सरापेको देश भनेर देशप्रति होइन, देश बिगार्नेप्रति गुनासो गर्ने होला। त्यसो भए सतीले सरापेको देश किन भनेको ? सराप्नेहरू जन्मनुमा देशको दोष छ र ? त्यसो त सतीले सरापेको देशमात्र होइन, कहिलेकाहीं सामाजिक सञ्जालतिर ‘कठै मेरो देश !’, ‘भ्रष्टहरूको देश !’ भनेर देशका अगाडि सुन्दै अप्रिय लाग्ने विभिन्न विशेषण जोडेर विद्वता छाँटेको पनि देखिन्छ। ‘कठै’ भनेर देशप्रति सहानुभूति देखाएर आफ्नो देशभक्ति र विद्वताको प्रदर्शन गर्न मन छ भने देशलाई होइन, बरु ती देश बिगार्नेका विवेकहीन बुद्धिलाई पो ‘कठै’ भन्ने कि ?

यो देशका दोषी देशलाई सराप दिने होइनन्, बरु कर्तव्य निर्वाह नगर्नेहरू हुन्। यो देश बिगार्ने भनेर धेरैजसो राजनीतिक व्यवस्था, पार्टी र माथिल्लो तहका नेतामाथि दोष थोपरिन्छ। हो, देश बिगारेको नेताले हो, शासकले बिगारेको हो। तर, नेताले मात्र चाहिँ देश बिगारेको होइन, उनीहरूको कुकर्ममा अन्धधुन्ध समर्थन जनाउने विवेकहीन कार्यकर्ताले पनि देश बिगारेको हो। देश प्रशासकले बिगारेको हो। तर, प्रशासकले मात्र होइन, प्रशासकलाई गलत काम गर्न अनुचित दबाब र प्रलोभनमा पार्ने देशको सामाजिक संरचना र राजनीतिक संयन्त्रले पनि हो।

देश घुस खाने कर्मचारीले बिगारेको हो। तर घुस खाने कर्मचारीले मात्र चाहिँ बिगारेको होइन, आफ्नो अनुचित काम गराउन घुस खुवाउने सेवाग्राहीले पनि बिगारेको हो। देश कालोबजारियाले बिगारेको हो। तर, कालोबजारियाले मात्र बिगारेको होइन, कालोबजारीको विरोध नगर्ने तपाईं हामी जस्ताले पनि बिगारेको हो। देश गलत कानुन बनाउनेले मात्र बिगारेको होइन, राम्रै कानुन भए पनि गलत तरिकाबाट कार्यान्वयन गर्नेले पनि बिगारेको हो। देश निष्पक्ष न्याय नदिनेले मात्र बिगारेको होइन, न्यायमा अनुचित प्रभाव पार्न चलखेल गर्नेले पनि हो। देश कानुनको गलत व्याख्या गर्नेले मात्र बिगारेको छैन, कानुनको व्याख्यामा आफूलाई फाइदा हुँदा कुव्याख्या नै भए पनि समर्थन गर्ने र फाइदा नहुँदा राम्रै व्याख्याको पनि धुवाँधार विरोध गर्नेले पनि बिगारेको हो।

यो देश सतीले सरापेको देश होइन। आफू केही नगर्ने, तर अरूले केही गरेनन् भन्दै उपदेश दिनेहरूले देश सबैभन्दा बढी बिगारेको हो। देश त्यसले पनि बिगारेको हो, जो आफूले केही बिगारेको छैन भन्छ र अरूले बिगारेको टुलुटुलु हेरेर बस्छ। देश त्यसले बिगारेको हो, जो म एक जनाले राम्रो काम गर्दैमा देश बन्ने हो र भन्दै उदासीन बन्छ। देश त्यसले बिगारेको हो, जो मैले त होइन, अरूले देश बिगारेको हो भन्दै गाली गर्छ र आफू भने एक सिन्का पनि भाँच्दैन।

देश उसले बिगारेको हो, देश तपाईंले बिगारेको हो, देश मैले बिगारेको हो। देश हामी सबैले बिगारेको हो। मात्र बिगारेको हिस्सा घटीबढी होला। देश सुधार्न म पनि लाग्नुपर्छ। देश बिग्रनुमा सबैभन्दा ठूलो जिम्मेवारी मेरो हो। म भनेको हरेक व्यक्ति हो र म नै यसलाई बनाउनमा पनि पहिलो हिस्सेदार हुनुपर्छ। अरूलाई गाली गरेर देश बन्ने भए न्वारानदेखिको बल निकालेर अर्कालाई गाली गर्ने थिएँ र धेरैले गरिरहेकै पनि छन्। अरूलाई उपदेश दिएर देश बन्ने भए म हजारौं पृष्ठको उपदेश पुराण नै लेख्ने थिएँ। आरोप र प्रत्यारोपले देश बन्ने भए अरूलाई गाली गरेर फेसबुकमा सयौं स्टाटस पोष्ट गर्थें, ट्विटरका भित्ता उपदेशले रंग्याउँथें।

तपाईं र मेरा उपदेशले यो देश बन्नेवाला छैन। फेसबुके र ट्विटे विद्वताले देशको हविगत बदलिँदैन। कोरा उपदेशले तासको काल्पनिक महल ठडिएला तर देशको आधार पिलर चाहिँ बन्दैन। देशको विकासका प्रदर्शकका रूपमा हामीले महाथिर र लि क्वानको नाम धेरै पटक लिएका छौं, तर उनीहरूले उपदेश बाँडेनन् बरु काम गरे भन्ने सिकेनौं। लोकतन्त्रका लागि अब्राहम लिंकन, महात्मा गान्धी र नेल्सन मण्डेलाहरूले गरेको योगदानको गुणगान गायौं तर उनीहरूले भाषण मात्र छाँटेनन् कर्म गरे भन्ने कुरा सिकेनौं। कर्मयोगीको अनुशरण गर्नुसट्टा अरूलाई उपदेश दिएर समय खेर फाल्यौं।

​​​​​​​ नेपाल देश अभिशप्त छैन। हामी अभिशप्त छौं, मन अभिशप्त छ। हाम्रो विचार र दृष्टि अभिशप्त छ। हाम्रो दोषी दृष्टिले देशलाई अभिशप्त देखिरहेको छ। हो, हामी श्रापित छौं, तर अरूबाट होइन, हाम्रै मन, विचार, कर्म र दृष्टिबाट श्रापित भएका छौं। त्यसैले, हे उपदेशकहरू हो! कर्म गर, भागमा परेको कर्तव्यको हिस्सा पूरा गर। देशप्रतिका गुनासा सबै सकिने छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.