ठोक्काउँदै, भाग्दै !
काठमाडौं सहर, हेर्दा लाग्छ रहर। तर मानिसको भीडभाड र सवारीसाधनको चापले थपेको छ कहर। सडकतिर निस्क्यो धूलोधुवाँको कहर। एकले अर्को सवारीलाई पेलेर सवारी हाँक्नेका के कुरा ? सबैलाई हतार नहुने। विस्तारै हाँके पनि पुगिन्छ भन्ने कोही भेटिन्नन्।
यहाँ मेरो विषय चाहिँ हिट एन्ड रन को हो। बटुवा वा अर्को सवारीलाई ठक्कर दिएर भाग्ने सम्बन्धमा। गएको वर्ष २०७९ मा हिट एन्ड रनका २५५ निवेदन परेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तीमध्ये १७० फस्र्योट भएको छ भने बाँकीमा अनुसन्धान जारी छ। २०७६ साल मंसिर २७ गते भएको हिट एन्ड रन केसका दोषी पृथ्वी मल्ललाई उच्च अदालत पाटनले हालै सजाय सुनाएको छ। उनले अब ४ वर्ष जेलजीवन बिताउनुको साथै ४० हजार जरिवाना पनि तिर्नु पर्नेछ। बूढानीलकण्ठमा भएको घटनामा गोरखाकी लीला देवकोटाको ज्यान गएको थियो।
म पनि यस्तै घटनाको पीडित हुँ। घटना चैत्र २६, २०७५ को हो। घटना पुरानै भए पनि मैले पाएको घाउ अहिले पनि बल्झिरहन्छ। सडकमा आज पनि ठक्कर दिएर कुलेलम ठोक्नेहरूको संख्यामा कमी आएको छैन। त्यो वर्ष नानीहरूको परीक्षा सकेर सबैजना तराई जानुपर्ने भयो। काठमाडौंमा सानी छोरी र म थियौं। विदेश रहनु भएका श्रीमान्का लागि सामान पठाउने कामले म रोकिएकी थिएँ। सामान किन्नको लागि असन बजार गएँ।
फर्किंदा दिउँसोको साढे २ बजेको हँुदो हो। कुलेश्वर जनमैत्री क्याम्पस जाने चोकनिर भित्री सडकबाट आएको मोटरसाइकलले मेरो स्कुटरलाई ठक्कर दियो। म लडेँ। मुख्य रोडमा म थिएँ। रोड अनुशासनअनुसार सहायक रोडबाट आएको वाहनले पर्खेर, हेरेर मात्र जानुपर्ने हो। मलाई उठाउन अन्दाजी ६० वर्षका बा आउनु भयो। मेरो थाईमा मेरै स्कुटीको स्ट्यान्डले जोरसँग थिचिरहेको थियो। हत्केला र पाखुराको छाला ददारिएको थियो। स्कुटीको देब्रेपट्टिको लुकिङ ग्लास फुटेको थियो। मलाई उठ्ने सहारा दिँदै बाले भन्नुभयो ... ए ! रोक रोक भनें। असतीले रोकेन नानी। नानीलाई झन्डै मारेन पापीले। म उठिसक्दा परबाट ट्राफिक आएको देखेँ। तर मलाई ठक्कर दिएर जाने बाइकले नेटो काटिसकेको थियो।
ट्राफिकले समाउन सकेन न त त्यहाँ भेला भएका २/४ जनाले नै। तपाईंलाई चोट त छैन बहिनी ? ट्राफिकले सोधे। आफूलाई थाईमा बेस्मारी दुख्यो पनि, सानी छोरी छोडेकाले घर पुग्नैपर्ने बाध्यता रहेको सुनाएँ। ती ट्राफिकले नै स्कुटी उठाएर स्टार्ट गरिदिए। देब्रे ऐना नभएको स्कुटी लिएर म कीर्तिपुर घरतर्फ लागें। घर पुगेर छोरीलाई च्याप्प अँगालो हालेँ। उसले मेरो हत्केलाको चोट देखिहाली। मैले घटना बताएँ। ऊ मलिन भई। साँझ पर्दै गयो। शरीर रन्किँदै आयो। घटनाबारे श्रीमान्लाई बताएँ। जति पीडा महसुस भएको थियो त्यो भन्दा कम। परदेशीहरू घरका कुराले बढी आत्तिन्छन्। जरो आउला जस्तो भो। निद्रा परेन। बरु मनमा कुरा खेल्न थाले। म उठ्नै नसक्ने गरी घाइते भएको भए ? पछाडिबाट आएको अरु गाडीले मलाई किचेको भए ? वा मेरो अन द स्पट डेथ भएको भए ?
छोरीहरू टुहुरा हुन्थे। आमा कति रुन्थिन् होला। निदाएकी छोरीलाई चरप्प समातेँ।
जब मान्छे बाटोमा हिँड्दा कसैसँग सामान्य छोइँदा त सरी भनेर जान्छ भने आफैंले हानेर लडाएको मान्छेलाई एकचोटी सोधपुछ गरेर जाँदा तिनको के जान्थ्यो होला ? मानव शरीर बोकेको तर मानव मन नभएको त्यो बाइकधारीलाई सम्झिँदा मानवीय मूल्य मान्यतामा साँच्चिकै ह्रास आएको अनुभव गरेँ। देब्रे कोल्टो फेर्न मिलेन। जसोतसो रात बित्यो। अर्कोदिन बिहान झोला बोकेर लागें कलंकीतिर। एक साताअगावै टिकट लिइसकेकी थिएँ, पाल्पा जाने। बडो मुस्किलले ८÷१० घण्टा छिचोलेर पाल्पा पुगें। घटनाबारे आमालाई बताएँ। रगत जमेर नीलै भएको थाई देखेर आमा पिरोलिनुभयो। त्यो दिन दुखाइ र थकानले वरफले सेक्न सकिनँ। अर्को दिन बरफले सेकें। एक साता बित्यो तर घाउ कम भएन। बरु त्यो थिचिएको ठाउँमा रगत जमेर गाँठो पर्दै गयो। २०७६ को नयाँ सालसँगै म पाल्पाबाट कपिलवस्तु गएँ।
खरेन्द्रपुरमा रहेको मेडिकलमा देखाएँ। १८ सयको एन्टिबायोटिक दिइयो। म काठमाडौं फर्किएँ। चेकअपका लागि कीर्तिपुर हस्पिटल पुगें। त्यहाँका डाक्टरले पहिले सुईले त्यो डल्लो तान्ने कोसिस गरे। जमिसकेको थियो आएन। एक÷दुई दिनमा अप्रेसन गरेर डल्लो फाल्नुपर्ने बताए। डाक्टरले भनेको दिन म फेरि हस्पिटल गएँ। अप्रेसन गर्ने डाक्टरलाई भेटेर उहाँको प्रेस्कृप्सन बोकेर अप्रेसन अगाडिको अनेक प्रोसेसका लागि काउन्टरमा पैसा बुझाउन जानुपर्ने म, सरासर बाहिर निस्केँ। घाउ चिर्नुपर्ने डरले म हस्पिटलमाथि बाटोमा पुगेँ। अहँ... म यो घाउ नचिरेरै निको पार्छु भन्ने अठोट लिएर घर हिँडे। दिन, महिना कटाउँदै गएँ। डल्लो छामिरहन्थेँ। डल्लो सानो हुँदै गएको छ है, म आफैंलाई ढाडस दिन्थेँ। एकदिन, उक्त समयमा कालीमाटी ड्युटीमा खटिएका ट्राफिक राजेश राना मगरलाई भेटेर घटनाबारे बताएँ। उनले दुर्घटना भएको ठाउँमा सीसी क्यामेरा नभएको बताए। म निराश भएर फर्किएँ। दुर्घटना भएको कम्तीमा ६ महिनापछि जमेको रगतको डल्लो हटेर त गयो तर चिसो दिन परेका बेला भने अहिले पनि त्यो ठाउँमा दुखिरहन्छ। चस्किरहन्छ। घटना भएको दिन स्मरण गराइरहन्छ।
कानुनमा कसैलाई अंगभंग हुने गरी हानेर हिँडेमा उपचार खर्च व्यहोर्नुपर्ने र सवारीको क्षति भएको खण्डमा मर्मत खर्च व्यहोर्नु पर्ने उल्लेख छ। ज्यानै गएको खण्डमा ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा लाग्छ। प्रथमतः सडक हाम्रो साझा सम्पत्ति हो। सडक अनुशासनको पालना गर्नु हाम्रो नै साझा जिम्मेवारी हो। तर हामीमा अनुशासन फिटिक्कै छैन। छिटो पुग्ने सुरमा अर्कालाई हानेर घाइते पारेर सुईंकन कसैले नपाओस्। बटुवा वा अर्को सवारीलाई हानेर हिँड्नेलाई ट्राफिक प्रहरीबाट हरसम्भव खोजीको प्रयास होस् र नियमअनुसारको कार्बाही होस्।
अहिले त महानगरमा मेयर बालेन्द्र साह छन्। उहाँबाट नागरिकले धेरै आशा पनि गरेका छन्। धेरै ठाउँमा ट्राफिक लाइट जडान भएका छन्। नियमविपरीत हुइँकिने तीव्र गतिका सवारीलाई सचेत गराउँदै अटेर गर्नेलाई कार्बाही पनि हुन थालेको छ। सहरका व्यस्त सडकमा सक्दो धेरै सीसी क्यामेरा जडान हुन सकोस्। हिट एन्ड रनका दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाओस्। मलाई जस्तो आफ्नो गल्तीबिना हैरानी खेप्न नपरोस्। हान्नेले हान्यो भाग्यो। घटनापछि निम्तिने शारीरिक, मानसिक, आर्थिक समस्याको लेखाजोखा कस्ले गरिदिने ?