राजनीतिक चस्माले भ्रष्टाचारलाई नहेरौं
भ्रष्टाचारले मुलुक नै डुबाउन लाग्यो। अहिले जे देखिएका छन् त्यो नमुनामात्रै हुन्। यो पुराना केही मुद्दामात्रै खोतलिएको हो। तर, यसमा के आशंका गर्न सकिन्छ भने, यो भ्रष्टाचार नियन्त्रणका लागि खोतलिएको हो, वा अन्य केही उद्देश्यले खोतलिएको हो।
पछिल्लो समयमा भ्रष्टाचारका नाममा बचाउने र फसाउने खेल भइरहेको छ। हुन त पहिले पनि हुन्थ्यो होला। कसैलाई बचाउने र कसैलाई फसाउने खेल छताछुल्ल भएर आएको छ। जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा तागत जुट्न सकेको छैन। नियन्त्रणका काम गर्नेहरूलाई माथिल्लो निकायबाट मनोबल बढाउने भन्दा गिराउने कम भइरहेको छ। उदाहरणकै लागि सीआईबीको व्यथा हेरौं न। सीआईबीले केही गर्न खोजेजस्तो देखिएको थियो। तर, माथिल्लो निकायको हस्तक्षेपका कारण केही गर्न सकेन। काम गर्ने निकायले गर्न पाएका छैन। नगर्ने निकायको कुरै नगरौं।
मुलुकभरिका स्थानीय सरकारलाई नै भ्रष्टाचारले डुबाउन लागेको छ। आम नागरिक पीडित छन्। भष्टाचार कहाँ छैन ? संघमा मात्र होइन नि ? सबै तहमा तप्कामा भ्रष्टाचारले गाँजेको छ। त्यो सुशासनको पक्षमा छैन। सरकारले खासै केही गरिरहेको देखिँदैन। राजनीतिक रूपबाट भ्रष्टाचारलाई हेरिएमा कहिल्यै नियन्त्रणमा आउँदैन। पछिल्लो समय भ्रष्टाचारलाई राजनीतिक चस्माले हेर्न थालिएको छ। त्यसैले यी मुद्दा निष्कर्षमा पुग्न समस्या छ।
अब सरकार भ्रष्टाचारका मुद्दामा कति बलियो भएर जान सक्छ त्यसमा निर्भर हुन्छ। तर, अझै पनि कुर्सीलाई सुरक्षित राखेर मात्रै भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरा गर्नुपर्ने अवस्था सरकारको देखिएको छ। कुर्सीकै कारण बलियालाई बचाउनुपर्ने कुरा आउँदो रहेछ। अहिले पनि त्यही भइरहेको छ। जनताले अब को भ्रष्टाचारी रहेछ भनेर थाहा पनि पाइसकेका छन्। शक्तिका कारण हाललाई उम्केलान्, तर पनि जनताको नजरमा छताछुल्ल भइसकेका छन्। सबैले निरपेक्ष रूपमा भ्रष्टाचार नियन्त्रणमा सरकारलाई र सम्बन्धित निकायलाई बलियो बनाउनुपर्छ।
(थापा पूर्वसचिव एवं ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुन्)