१६ वर्षपछि विश्व भारोत्तोलनमा नेपाल
काठमाडौं : नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ। भदौ १७ देखि ३१ गतेसम्म साउदी अरेबियाको रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
पुरुषको ८१ केजी तौल समूहमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन्। यस्तै महिला ५५ केजीमा टिकामाया गुरुङ र ६४ केजीमा शारदा चौधरीले खेल्ने छन्।
प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन्। गुप्त शुक्रबारै रियाद प्रस्थान गरिसकेका छन्। नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन रियाद जाने छन्।
व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टिकामाया सोमबार रियाद जाँदै छन्। यस्तै सेप्टेम्बर ८ मा विशाल र विकास रियाद उड्ने छन्। अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरे।