ताप्लेजुङमा समावेशी रोपाइँ जात्रा
ताप्लेजुङ : परम्परागत रुपमा निकालिँदै आएको रोपाइँ जात्रा शुक्रबार ताप्लेजुङमा विभिन्न अभिनयका साथ मनाइएको छ। मौलिक पर्वका रूपमा रहेको रोपाइँ जात्रामा धान रोप्दा गरिने जातजातिको संस्कृति र कला झल्काउने खालको अभिनय प्रस्तुत गरिएको थियो।
रोपाइँ गीतका साथमा अघिअघि गोरु-हली अनि पछिपछि रोपाहारले हिलोमा धान रोपेको अभिनय गर्दै एक सयभन्दा बढी बालबालिका र युवायुवती जात्रामा सहभागी भएको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए।
पहाडको लेकाली क्षेत्रमा जेठ लाग्दादेखि नै सुरु हुने धान रोपाइँ नदी किनार र बेसी क्षेत्रमा साउन अन्तिमतिर सकिन्छ। गर्मी हुने कतिपय पहाडी स्थानमा त भदौ पहिलो सातासम्म पनि रोपाइ जारी हुन्छ। आफ्नो खेतमा रुज्दै भिज्दै रोपाइँ गर्ने किसानको सम्मानमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रत्येक वर्ष रोपाइँ जात्रा आयोजना हुने गरेको छ।
यसैगरी गाउँको काम सक्ने मौका पारेर प्रत्येक वर्ष नेवार समुदायले सदरमुकाममा लाखे नाच पनि निकाल्ने गरेका छन्। रक्षाबन्धनको दिनदेखि निकालिने लाखे नाच श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट नवमीको दिनसम्म चल्ने गर्छ। रोपाइँ तथा लाखे नाचले गाउँ र सहरको सम्बन्धलाई स्थापित गर्ने गरेको छ भने सांस्कृतिक परम्परालाई जोगाउन पनि मद्दत पुर्याएको छ।