काठमाडौं : एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई ३ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ। अर्जुन कुमालको शानदार ब्याटिङ र दिपेश कँडेलको कसिलो बलिङको सहयोगमा नेपालले सजिलो जित हात पारेको हो।
नेपालले प्रस्तुत गरेको ३ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी १९.१ ओभरमा ४६ रनमा अलआउट भएको हो।
नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ विकेट लिए। ९.१ ओभर बलिङ गर्दै कँडेलले १८ रन खर्चिए। नेपालका लागि आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट लिए।
साउदी अरेबियाका लागि बरुण सराभनान मुदलिएरले सर्वाधिक ११ रन बनाउँदा मुहमद घयोर अहमद र अबदुल्लाह सिराजले ९-९ रन बनाए। साउदीका अन्य ब्याट्सम्यान पनि सस्तैमा समेटिए।
यसअघि नेपालले नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४७ रनको विशाल योगफल तयार पारेको थियो। साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले शानदार ब्याटिङ प्रर्दशन गर्यो। जितसँगै नेपाल मलेसियामा जारी प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालका लागि अर्जुन कुमालको १ सय ४३ रनको शानदार इनिङ्स खेले। यसैगरी आकाश त्रिपाठीले ९० रनको योगदान गरे।
ओपनर दिपक बोहराले २९ रन बनाउँदा बिशाल बिक्रम केसीले अविजित २४ रन बनाए। दिपक प्रसाद डुम्रेले १४ रन बनाउँदा दिपेश कँडेलले १३ र मिलन बोहराले ९ रन बनाए। कप्तान देव खनाल भने शून्य रनमा पेभिलियन फर्किए।
साउदीका मुहमद अहमद राजा, अब्दुल्लाह सिराज र मुहमद घयौर अहमदले समान २/२, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान १/१ विकेट लिए।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो। प्रतियोगिताका शीर्ष तीन टीमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन्।