शिक्षाको लगानी कसैले खोस्न सक्दैन : अर्थमन्त्री महत
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले अरु क्षेत्रमा गरेको लगानी नोक्सान हुन सक्ने भए पनि शिक्षामा गरेको लगानी कसैले केही गर्न नसक्ने बताएका हुन्।
‘शिक्षाको मन्दिरको प्रांगथणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे। शिक्षामा कसैले वास्ता गरेन। जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो।’
२०४६ सालपछि नुवाकोटमा विकासको सुरुवात भएको बताउँदै उनले काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि नुवाकोटमै सहर बन्ने बताए। सडक सञ्जालको विस्तार भएपछि उत्पादनमा वृद्धि हुने भएकाले यसलाई प्राथमिकता दिएको उनको भनाइ थियो।