निलगिरि ‘क्यासकेड’ जलविद्युत आयोजना सञ्चालनको तयारीमा

निलगिरि ‘क्यासकेड’ जलविद्युत आयोजना सञ्चालनको तयारीमा
निलगिरि क्यासकेड जलविद्युत आयोजनाको डिसेण्डर। तस्बिर : सन्तोष गौतम।

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी भएको छ। निलगिरि क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएकोमध्य सबैभन्दा ठूलो आयोजना हो। 

बाँध, सुरुङ, विद्युतगृह, प्रशारण लाइन, स्विचार्ड निर्माण सकेर उपकरण जडानलाई तीव्रता दिएको आयोजनाले भौतिक संरचनाको परीक्षण थालेको छ। आयोजनाका आवासीय इञ्जिनियर रत्न बमजनले परीक्षण उत्पादनको तयारीमा जुटेको बताए। 

छोटेपामा निर्माण भएको डिसेण्डर (बालुवा थिग्राउने पोखरी)मा पानी हालेर भौतिक संरचनाको परीक्षण थालेको हो। ४ हजार २७५ मिटर लामो सुरुङलाई पलास्टर गरेर फिनिसिङ गरिएको छ। 

नारच्याङको दोभानमा विद्युतगृह निर्माण भएको छ। विद्युतगृह र छोटेपाको बाँधसहित ५ वटा अडितबाट वि.स. २०७६ देखि सुरुङ निर्माण थालिएको थियो। उपकरण जडान सकिएपछि सुरुङमा पानी हाल्ने र विद्युतगृहको आन्तरिक परीक्षण सुरु गरिने आयोजनाका इञ्जिनियर बमजनले बताए।  

३८.७ मेगावाटको निलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ। दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी एउटै निलगिरि हाइड्रोपावर हो। 

निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको इञ्जिनियर केशव वाग्लेले बताए। २ हजार मिटर लामो सुरुङलाई पलास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। विद्युतगृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ। 

निलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। दुई वटै आयोजनाको विद्युतगृह परिसरमा स्विचार्ड बनाइएको छ। निलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिलोले क्षति पुर्‍याएको थियो। 
 
बस्तीदेखि टाढा रहेको निलगिरीखोला जलविद्युत आयोजना निर्माण स्थल भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्छ। तेह्र अर्ब रुपैयाँ लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन्। 

निलिगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिन्छ। छोटेपा–दोबिल्ना हुँदै दाना सव स्टेशन जोड्ने ७.४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भएको छ। 

नारच्याङमा यसअघि ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण भएको थियो। ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जाले बताए।  

९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ। कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ। मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ। यो आयोजनाको अहिले वातावरणीय अध्ययन भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.