भूकम्पपीडितले पाएनन् सिटामोल पनि

भूकम्पपीडितले पाएनन् सिटामोल पनि
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिका–५गर्खाकोटकी मनीषा रावत एक महिनाकी सुत्केरी हुन्। भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि उनी स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र गइन्। त्यहाँ उनले निःशुल्क रूपमा पाइने जीवनजल र सिटामोलसमेत पाइनन्। औषधि नपाउँदा उनी रित्तो हात फर्कन बाध्य भइन्।

उनीजस्तै चिसोले धेरैलाई बिरामी पारेका बेला स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा स्थानीयलाई निकै समस्या परेको छ। लामो समय बितिसक्दा पनि औषधिको आपूर्ति हुन सकेको छैन। 

भूकम्पपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन नसक्दा निराश बन्ने गरेका छन्। चिसोले रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था पुगे पनि औषधि नहुँदा रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे–८ का तीर्थबहादुर बस्नेतले बताए। स्वास्थ्य संस्थामा निःशुल्क पाइने सिटामोल र जीवनजलजस्ता औषधि पनि नपाएको उनले बताए। जुनीचाँदेका ११ वटै स्वास्थ्य संस्थामा बिगत ६ महिनादेखि छैन। साउनयता पालिकाले औषधि खरिद गरेको छैन भने संघ र प्रदेश सरकारले पनि औषधि पठाएका छैनन्।

औषधि अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन्। चिसोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न थाले पनि औषधि नहुँदा उपचारमा समस्या परेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका अनमी सरस्वती शाहीले बताइन्। ‘स्वास्थ्य संस्थामा सिटामोलसमेत छैन। बिरामीले निःशुल्क पाउने औषधिसमेत नहुँदा उनीहरू रित्तोहात फर्किन बाध्य छन्’, उनले भनिन्, ‘चिसोले गर्दा बिरामीको संख्या बढ्न थाले पनि सम्बन्धित निकायले सुनुवाइ नै गर्दैनन्।’ चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएको जुनीचाँदे गाउँपालिका–१ बड्कुले स्वास्थ्यचौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले बताइन्। गाउँपालिकामा औषधि माग गर्दा पनि नपाएको उनले गुनासो गरिन्। 

स्वास्थ्य संस्था औषधिविहीन हुँदा पनि तीनै तहका सरकार कानमा तेल हालेर बसेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले खरिद गरेको औषधि स्वास्थ्य सेवा कार्यालयमार्फत पालिकामा पठाइने, पालिका आफैंले खरिद गर्ने र त्यसपछि स्वास्थ्य संस्थामा पठाउने प्रक्रिया छ। तर, महिनौं बितिसक्दा पनि औषधि आपूर्ति गर्न कुनै पनि निकाय जिम्मेवार बन्न सकेका छैनन्।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले केही समय अघि जिल्लामा औषधि पठाइएको बताइन्। उक्त औषधि दुई साता पनि नपुगेको जुनीचाँदेका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले बताए। ‘लामो समयदेखि औषधि अभाव छ। जिल्ला स्वास्थ्यबाट आएको औषधि हात्तीको मुखमा जिरा भएको छ’, प्रशासकीय अधिकृत शाहीले भने। 

गाउँपालिकाले २० लाखको टेन्डर आह्वान गरेकोमा सुर्खेतस्थित आरडी मेडिसिनले घटाघटमा ७ लाख ७७ हजार ४ सय ७६ रुपैयाँमा टेन्डर हाले पनि सम्झौता भएको छैन। ३ गुणाभन्दा बढी रकम घटेर टेन्डर पारेकाले औषधि आपूर्ति गर्नेमा आशंका गरिएको छ। 

‘उक्त फर्मलाई सम्झौता गर्न बोलाएका छौं। धेरै घटेर टेन्डर हालेकाले हामीलाई पनि औषधि आपूर्ति हुनेमा शंका छ’, प्रशासकीय अधिकृत शाहीले भने।

जुनीचाँदे सदरमुकाम खलंगाबाट सबैभन्दा दुर्गम स्थानको पालिका हो। यहाँ अत्याधिक चिसो हुन्छ। जुम्ला, कालीकोट र दैलेखसँग सीमाना जोडिएको यो पालिकाका विभिन्न वडाहरूमा पुग्न यातायातको असुविधा छ।

निःशुल्क पाइने औषधि नपाउँदा बिरामी उपचारका लागि आउन छोडेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका इन्चार्ज विनोदकुमार बुढाले बताए। ‘६ महिनादेखि स्वास्थ्य संस्थामा औषधि छैन। पटक–पटक माग गर्दा पनि सुनुवाइ भएन’, उनले भने, ‘चिसोका बिरामी बढेका बढ्यै छन्। उनीहरूलाई दिन सामान्य खालका औषधिसमेत छैनन्। स्वास्थ्य सेवा कार्यालय जाजरकोटले दुई साताअघि केही औषधि पठाएको थियो। त्यसले केही दिन काम चलायौं। आवश्यकताअनुसार औषधि आपूर्ति नहुँदा उपचारमा समस्या परिरहेको छ।’ चिसोकै कारण जाजरकोटमा तीन दर्जन मानिसको ज्यान गइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.