पुँजीबजार र यसको सैद्धान्तिक पक्ष
पुँजीबजारको शाब्दिक अर्थ पुँजी र बजारसँग सम्बन्धित छ। पुँजी भन्नाले धन, दौलत, सम्पत्ति, पैसालगायतका नगद, जिन्सी वा कबुलियत गरिएको कुनै स्वामित्वसमेतलाई बुझिन्छ। खरिद वा बिक्रीको माध्यमद्वारा वस्तु तथा सेवाको स्वामित्व हस्तान्तरण हुने प्रणाली नै बजार हो।
पुँजीबजारमा मुलतः पुँजीको स्वामित्व हस्तान्तरण हुने गर्दछ। यसका लागि हरेक देशमा पुँजीबजारको व्यवस्था गरिएको हुन्छ। ठूलाठूला कम्पनीलाई ठूलाठूला परियोजना, व्यापार र व्यवसाय सञ्चालन गर्न धेरै पैसाको आवश्यकता पर्दछ जुन पैसा कुनै एक व्यक्तिसँग लिन सम्भव हुदैन। पुँजीबजारको माध्यमबाट कम्पनीहरूले छरिएर रहेको स–साना पुँजीलाई एकीकृत गरी पुँजी संकलन गर्छन।
आम व्यक्तिले त्यस्ता कम्पनीको धितोपत्रमा लगानी गर्छन् र कम्पनीलाई पनि आफ्नो व्यापार, व्यवसाय वा परियोजना सञ्चालन गर्न वा नयाँ व्यापार, व्यवसाय वा परियोजना थप गर्नको लागि सहजै पैसा प्राप्त हुन्छ। लगानीकर्तालाई त्यस कम्पनीबाट कम्पनीको हिस्सा (अंश) प्राप्त हुन्छ जसलाई सेयर भनिन्छ। यदि त्यस्तो कम्पनीले आगामी दिनमा राम्रो मुनाफा हासिल गरेमा लगानीकर्ताले प्रतिफल प्राप्त गर्दै जान्छन् भने यदि त्यो कम्पनी घाटामा गएमा त्यसको जोखिम (घाटा) लगानीकर्ता आफैंले व्यहोर्नुपर्ने हुन्छ। कम्पनीले आफ्नो धितोपत्रलाई धितोपत्रको दोस्रो बजारमा सूचीकृत गरेपछि लगानीकर्ताले त्यस कम्पनीको सेयरलाई दोस्रो बजार मार्फत खरिद–बिक्री गर्छन्। माग र आपूर्तिको आधारमा सेयरको मूल्य निर्धारण हुन्छ। लगानीकर्ताले दोस्रो बजारबाट पुँजीगत लाभ (क्यापिटन गेन) समेत प्राप्त गर्ने अवसर हुन्छ भने सेयर (पुँजी)लाई बिक्री गरेर तरलता (नगद)मा तुरुन्त बदल्न सक्दछन्।
कुनै पनि देश विकास र अर्थतन्त्रको विस्तारको लागि पुँजीबजारभन्दा अर्को उत्तम विकल्प छैन। पुँजीबजारले देशको आर्थिक विकास र औद्योगीकरणका लागि आवश्यक पर्ने पुँजी (पैसा) उद्यमी वा उद्योगीको हातमा पुर्याउने सबैभन्दा प्रभावकारी माध्यमको रूपमा काम गर्दछ। पुँजीबजार आफैंमा उत्पादक क्षेत्र हो भने त्योभन्दा बढी यसले अन्य क्षेत्रका उद्योग र उद्योगीलाई पुँजी उपलब्ध गराएर थप उत्पादकत्व बढाउन योगदान गर्दछ। तसर्थ देशको दु्रततर विकासमा पुँजीबजारको भूमिकालाई नजर अन्दाज गर्नै मिल्दैन। पुँजीबजारलाई अर्थतन्त्रको ऐना हो वा ब्यारोमिटर हो भनी उपनाम दिने गर्दछौं। किनकि यसले अर्थतन्त्रको अवस्था देखाउने र सबैभन्दा छिटो र सजिलै देख्न सकिने सूचक हो। आज पुँजीबजारबाट पुँजी उठाउने विश्वका प्रायः सबै ठूला कम्पनीहरू छन् र तिनका मालिकहरू विश्वमा धनाढ्यको सूचीका पुँजीबजारकै कारणले देखिरहन्छन्।
विश्वमा पुँजीबजारको विकासक्रमलाई हेर्ने हो भने सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेन्ज, नेदरल्यान्डमा स्थापना भई सन् १६०६ मा एक डचको धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरु भएको विश्व इतिहास पाइन्छ। विश्वका १० पुराना स्टक एक्सचेन्जको कुरा गर्ने हो भने नेदरल्यान्डपछि फ्रान्स (सन् १७२४), अमेरिका (सन् १७९०), बेलायत (सन् १८०१), इटाली (सन् १८०८), जर्मनी (सन् १८२०), स्पेन (सन् १८१३), क्यानडा (सन् १८६१), अस्ट्रेलिया (सन् १८७२), भारत (सन् १८७५) रहेका छन्।
नेपालमा सन् १९३७ मा सर्वप्रथम विराटनगर जुट मिल्सले सेयर जारी गरी सर्वसाधारणबाट पुँजी संकलन गरेको इतिहास पाइन्छ। यद्यपि नेपाल स्टक एक्सचेन्जको स्थापना भने सन् १९९३ मा भएको हो। यो २०३३ साल असार २२ गते सेक्युरिटी खरिद बिक्री केन्द्रको रूपमा स्थापना भएको भए पनि २०३८ सालदेखि मात्र विधिवत् रूपमा दोस्रो बजारमा धितोपत्रको कारोबार सुरु भएको पाइन्छ। धितोपत्र कारोबारसम्बन्धी छुट्टै ऐनको आवश्यकता महसुस गरी धितोपत्र कारोबार ऐन २०४९ जारी भई त्यसको पहिलो संशोधनपश्चात् २०५० साल जेठ १३ गते सेक्यरिटी एक्सचेन्ज सेन्टर स्थापना भएको थियो। त्यसैको नाम परिवर्तन भई हालको नेपाल स्टक एक्सचेन्ज लि. भएको पाइन्छ।
२०५० साल पुस २९ गते देखि नेप्सेले सेयर खरिद बिक्री सुरु गरेको थियो। यसरी धितोपत्रहरूको कारोबार हुँदै जाँदा धितोपत्र कारोबारमा नियामक निकायको आवश्यकता महसुस भई धितोपत्र कारोबार ऐन २०४९ (पहिलो संशोधन) अनुसार धितोपत्र बोर्डको स्थापना २०५० साल जेठ २५ गते भएको हो। यसले बजार नियमन, अनुगमन, बजार विकास र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै धितोपत्र बजारसम्बन्धी नीति, थिति, विधि र प्रविधिसम्बन्धी कुराको सिर्जना गरी आफू मातहत निकायमार्फत त्यसलाई कार्यान्वयन गराउने मुख्य भूमिका रहन्छ। नेपालमा पुँजीबजारको संगठानात्मक विकास र औपचारिक रूपमा दोस्रो बजारको कारोबारको सुरु यसरी भएको पाइन्छ।
पुँजीबजारको सैद्धान्तिक पक्ष
पुँजीबजारका सैद्धान्तिक पक्षमा विभिन्न दृष्टिकोणहरू रहेका छन्। यसले अन्यत्र दुनियाँभरका आर्थिक, राजनीतिक तथा सामाजिक प्रणालीमा पनि प्रभाव पुर्याउँछ। धितोपत्र बजारका केही मुख्य सैद्धान्तिक पक्षहरू निम्नलिखित छन् :
पुँजीवादको सिद्धान्त पुँजीवाद उत्पादन प्रणाली र स्रोतहरूको स्वामित्वमा आधारित एक प्रणाली हो, जसमा व्यापार व्यवसायबाट नाफा निकाल्ने उद्देश्य राखिन्छ। यो आर्थिक प्रणालीमा आधारित छ, जहाँ उत्पादनका माध्यमहरूको निजी स्वामित्व रहेको हुन्छ र जसको उद्देश्य पुँजी सञ्चय गर्नु हो। पुँजीवादले बजार स्वतन्त्रतालाई आधारभूत सिद्धान्तको रूपमा प्रस्ताव गर्दछ। यसले आपूर्ति र मागको आधारमा वस्तुको मूल्य निर्धारण गर्दछ।
प्रतिस्पर्धी उत्पादकहरूबीच यो आर्थिक प्रणालीको एक प्रमुख पक्ष हो। धितोपत्र बजारको प्रमुख पक्षमा पुँजीवाद छ। यसमा व्यक्तिहरूको स्वामित्वमा पुँजी रहन्छ र उनीहरूले त्यसमा लगानी गर्छन्। यसले समग्र वित्तीय प्रणालीमा प्रभाव पार्दछ। यसको परिणामस्वरूप अर्थतन्त्रमा धितोपत्र बजारको विकास भइरहेको पाइन्छ। विश्वमा केही मुट्ठीभरका धनाढ्यहरूमा विश्वकै सम्पत्ति एकीकृत हुँदै जानु र उनीहरूको सम्पत्ति वृद्धि हुँदै जानुको मुख्य आधार नै पुँजीबजार हो।
कुशल बजार परिकल्पनाको सिद्धान्त
कुशल बजार परिकल्पना लगानीको एक यस्तो सिद्धान्त हो जसले वित्तीय साधनहरूको मूल्य सबै बजार सूचनाहरूका लागि उपलब्ध हुन्छन् भन्ने कुरा बताउँछ। त्यसैले लगानीकर्ताले लगानी गर्दा विश्लेषण गरेर समय र अवस्थाअनुसार फरक–फरक बजार रणनीति अपनाउने गर्छन्। कुशल बजार परिकल्पनाले यो तर्क गर्दछ कि बजारहरू कुशल छन्, लगानीकर्ताले लगानी गरेर नाफा कमाउन कुनै ठाउँ छोड्दैन किनकि सबै कुरा पहिलेनै उचित र सही मूल्यमा चल्दछ भन्ने तर्क गर्दछ। यसले यो संकेत पनि गर्छ कि बजारमा नोक्सान हुने आशा थोरै हुन्छ र कुशल लगानीकर्ताले विभिन्न सूचकांकको आधारमा बजारबाट प्रतिफल लिन सक्दछन्।
जोखिम र लाभको सिद्धान्त लक्ष्यभन्दा उपलब्धि भिन्न हुन सक्ने अवस्था वा लक्ष्यभन्दा प्रतिकूल उपलब्धि हुन सक्ने सम्भावनालाई जोखिम भनिन्छ। यो अपेक्षित नतिजाभन्दा फरक परिणाम उत्पन्न हुन सक्ने परिस्थिति हो। जोखिमले लगानीसँग सम्बन्धित प्रतिफलको अनिश्चितता वा परिवर्तनशीलतालाई जनाउँछ। यो विभिन्न रूपमा प्रकट हुन सक्छ। कुनै व्यापार, व्यवसाय आदिबाट आर्जन भएको धन सम्पत्तिलाई लाभ भनिन्छ।
आफूसँग भएको रकमलाई भविष्यमा लाभ प्राप्तिको लागि कुनै क्षेत्रमा लगानी गरिन्छ र लगानीबाट सामान्यतया सम्पत्ति सिर्जना हुने गर्दछ। धितोपत्र बजारमा लगानी गर्दा लगानीको जोखिम र लाभको सम्बन्ध प्रबल हुन्छ। उच्च लाभको अवसरसँग उच्च जोखिम पनि रहेको हुन्छ। उच्च लाभले धितोपत्र बजारमा जोखिमपूर्ण लगानी गर्न प्रेरित गरिराखेको पाइन्छ। लाभले एक निश्चित अवधिमा कुनै लगानीमा उत्पन्न नाफालाई बुझाउँछ।
सार्वजनिक स्वामित्वको सिद्धान्त
सार्वजनिक स्वामित्व भनेको सामाजिक, आर्थिक वा राजनीतिक प्रक्रियामार्फत पाएको एक प्रकारको स्वामित्व हो। संस्थागत वा गैरसंस्थागत रूपमा वस्तु, सेवा वा सम्पत्तिको सुरक्षा गरी सार्वजनिक समृद्धि हासिल गर्न यसको प्रयोग गरिएको हुन्छ। जिम्मेवार निकाय वा व्यक्ति वा संघसंस्थाले धितोपत्र बजारको माध्यमबाट सार्वजनिक स्वामित्वका क्षेत्रमा लगानी बढाउने पक्षमा वकालत गरेको देखिन्छन्। यसले वित्तीय समानता ल्याउन तथा सार्वजनिक उपयोगका क्षेत्रमा लगानी जुटाई समृद्धिको लक्ष्य पूरा गर्न मद्दत गर्दछ। जस्तै यातायात, विद्युत्, स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानी गरी सार्वजनिक स्वामित्वलाई सुदृढ बनाउन पुँजीबजारले मद्दत गर्दछ।
सामाजिक न्यायको सिद्धान्त
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिका स्वतन्त्रता, अधिकार र अवसरहरूमा समान पहँुचको संरक्षणको सुनिश्चितता हुनु हो। सामाजिक न्यायले समाजका पछाडि परेका व्यक्तिहरूको समान पहुँच र सहभागिताका लागि विशेष ध्यान दिनुपर्ने कुरालाई समेत महत्व दिएको छ। सामाजिक न्यायले व्यक्तिलाई आर्थिक समानतातिर डोर्याउन मद्दत गर्दछ।
धितोपत्र बजारमा सामाजिक न्याय प्राप्त गर्नका लागि सबैको लागि लगानीको अवसर प्रदान गर्नु, लगानीमा पहुँचको संरक्षण सुनिश्चितता गर्नु, पछाडि परेका व्यक्ति, वर्ग, समूहलाई विशेषाधिकार दिई लगानी गर्न प्रोत्साहन गर्नुले सामाजिक न्यायलाई प्रवद्र्धन गर्दछ। जस्तै प्राथमिक निष्कासनमा वैदेशिक रोजगारीमा गएका सर्वसाधारण नागरिकलाई छुट्ट्याइएको सेयर, आयोजना प्रभावित स्थानीय सर्वसाधारणलाई छुट्ट्याइएको सेयर, धितोपत्र जारी गर्ने कम्पनीका कर्मचारीलाई छुट्ट्याइएको सेयर र सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको सेयर आदि।
उपयोगिताको सिद्धान्त
कुनै वस्तुको उपभोग गरिसकेपछि त्यसबाट सन्तुष्टि प्राप्त हुन्छ। त्यसैले त्यो वस्तुको सन्तुष्टि दिने गुण हो। अर्थशास्त्रमा हरेक वस्तुमा उपयोगिता भएको मानिन्छ। जुन वस्तुमा उपयोगिता हुन्छ बजारमा त्यसको माग उच्च हुन्छ।
धितोपत्रको मूल्यमा पनि माग र आपूर्तिमार्फत मूल्य निर्धारण हुन्छ जहाँ उक्त धितोपत्र प्राप्त गर्न तिर्ने मुल्यमा उपयोगिताको सैद्धान्तिक अर्थ रहन्छ। यस सिद्धान्तको आधारमा धितोपत्रको मूल्य फरक समय र परिवेशमा फरकफरक किसिमले तय गर्दछ जुन लगानीकर्ताको आवश्यकता र उपयोगितामा भर पर्दछ। बजारमा कुनै सेयरको मूल्य उच्च हुनु र न्यून हुनुमा लगानीकर्ताले प्राप्त गर्ने लगानी उपयोगितामा समेत केही हदसम्म भर पर्ने देखिन्छ।
बजार संरचनाको सिद्धान्त
बजार संरचनाअन्तर्गत वस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोग पर्दछ। देशको आर्थिक विकास र नागरिकको आर्थिक कल्याण बारेको अध्ययन पनि यस सिद्धान्तमा समावेश गरिन्छ। धितोपत्र बजारको संरचना र नीति, थिति, विधि र प्रविधिमा आधारित भई धितोपत्रको सिर्जना हुन्छ। जसरी वस्तु तथा सेवाको मूल्य निर्धारण माग र आपूर्तिको आधारमा बजारले निर्धारण गर्दछ त्यसैगरी धितोपत्रको मूल्य पनि धितोपत्र बजारमा लगानीकर्ताको माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्दछ। त्यसैले यसलाई बजार संरचनाको सिद्धान्तअन्र्तगत व्याख्या र विश्लेषण गर्ने गरिन्छ।
निर्णय विज्ञानको सिद्धान्त
निर्णय विज्ञानले निर्णयहरूमा अन्तरनिहित वैज्ञानिक विवेक र मूल्य निर्णयमा स्पष्ट गर्न मद्धत गर्दछ। कुनै व्यापार व्यवसाय वृद्धिको प्रयासमा निर्णय विज्ञानको सिद्धान्तले सहयोग गर्दछ। पुँजीबजारमा लगानीकर्ताहरूले कसरी निर्णय लिन्छन्, जोखिम व्यवस्थापन कसरी गर्छन् र लगानी पोर्टफोलियोको कसरी अनुकूलन गर्छन भन्ने कुरामा निर्णय विज्ञान सिद्धान्तलाई पुँजीबजारमा लागू गर्न सकिन्छ। यो एक अन्तर विषयको क्षेत्र हो जसले मनोविज्ञान, अर्थशास्त्र, गणित र अन्य विषयहरू अध्ययन गर्नका लागि व्यक्ति र संस्थाहरूले यसलाई छनोट गर्छन्। मूलतः निर्णय विज्ञानले लगानीकर्ताको व्यवहार र बजार सञ्चालनको व्याख्या र भविष्यवाणी गर्न मद्दत गर्दछ।
अर्थशास्त्रको सिद्धान्त
धितोपत्रको मूल्य र प्रवृत्तिका प्रभावलाई अर्थशास्त्रका सिद्धान्तहरूको आधारमा वर्गीकरण, विश्लेषण, व्याख्या आदि गरिन्छ। यसले आपूर्ति र मागको परिपूरकता, आर्थिक प्रवृत्तिहरू र अन्य अर्थशास्त्रीय प्रयोगको प्रभावलाई खोज्दछ। पुँजीबजार देशको वित्तीय प्रणालीको आवश्यक घटक हो, जहाँ व्यक्ति र संस्थाहरूले स्टक, बन्ड र अन्य लगानीका उपकरणहरू किन्न र बेच्न सक्छन्। पुँजीबजारलाई बुझेर, विश्लेषण गरेर लगानी गर्न अर्थशास्त्रको सिद्धान्तले महत्त्वपूर्ण भूमिका खेल्दछ।
पूर्ण ज्ञान र शिक्षाको सिद्धान्त
धितोपत्र कारोबारमा महत्त्वपूर्ण तथा पहिलो सर्त भनेको धितोपत्र बजारमा लगानी गर्नुअघि व्यक्तिलाई त्यो बजारको पूर्ण ज्ञान हुनु पर्दछ। लगानीकर्तासँग वित्तीय बजारको कार्य प्रणाली, लगानीका प्रकारहरू र लगानी गर्नका लागि उपलब्ध विकल्पहरूको ज्ञान हुनु पर्दछ। धितोपत्र बजारमा लगानी गर्दा जोखिम व्यवस्थापन एकदमै महत्त्वपूर्ण हुन्छ।
लगानीकर्ताले आफ्नो वित्तीय लक्ष्य, आवश्यकता र जोखिम सहनशीलताका आधारमा लगानीका लागि सही समय, सही धितोपत्र, सही सीमाको छनोट गर्न सक्नुपर्ने कुरा यो सिद्धान्तले बताउँछ। लगानीकर्ताले आफ्नो लगानी पोर्टफोलियोलाई विविधीकरण गर्नु पर्दछ। सबै पैसा एकै ठाउँमा नभई धेरै प्रकारका धितोपत्रहरू तथा लगानीका उपकरणहरूमा लगानी गर्ने प्रयास गर्नु पर्दछ ताकि लगानीमा ठूलो घाटाको प्रभाव कम होस्।
अतः यसरी, पुँजीबजारमा यसका विभिन्न सिद्धान्तहरूमार्फत समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्दछ। लगानीकर्तालाई सफलता प्राप्त गर्न यी आधारभूत सैद्धान्तिक कुराहरू महत्त्वपूर्ण हुन्छन्। यद्यपि धितोपत्रमा लगानी गर्दा बजार, परिस्थिति, मनोविज्ञानअनुसार बजारमा मूल्य फरकफरक हुन सक्छ। त्यसैले व्यक्ति स्वयम् लगानीको लागि निपुर्ण नहुन्जेल वित्तीय जानकारको सल्लाह लिएर लगानी गर्दा जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्दछ।
गुरागाईं पुँजीबजारका जानकार हुन्।