दुर्गममा अब पोषणयुक्त चामल

दुर्गममा अब पोषणयुक्त चामल
कर्णालीका दुर्गम जिल्लाका लागि खाद्य कम्पनीले उत्पादन गरेको पोषिलो चामल।
सुन्नुहोस्

सुर्खेत : कर्णालीको दुर्गम क्षेत्रका नागरिकले अब पोषिलो चामल (पौष्टिक तत्व मिसाएर स्तरोन्नति गरिएको चामल) पाउने भएका छन्। चाडबाडका बेलामा समेत चामल नपाउने समस्या बेहोर्दै आएका दुर्गमका नागरिकलाई अब पौष्टिक तत्व मिलाएर स्तरोन्नति गरिएको पोषिलो चामल उपलब्ध गराउन लागिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका ५ जिल्लामा पोषिलो चामल वितरण थालिएको जनाएको छ। यहाँका हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोटमा यो चामल वितरण हुनेछ। यी जिल्लाले वर्षौंदेखि खाद्य संकट भोग्दै आएका छन्। खाद्यान्नको अभाव झेल्दै आएका यी जिल्लामा कम्पनीले अनुदानमा चामल ढुवानी गरेर बिक्री तथा वितरण गर्दै आएको छ। तर, ती जिल्लाहरूमा पौष्टिक तत्वको अभावमा कुपोषणको समस्या बल्झिएपछि त्यसलाई न्यूनीकरण गर्न पोषिलो चामल उत्पादन गरेर वितरण सुरु गरिएको कम्पनीले जनाएको छ।

कुपोषणको समस्यालाई न्यूनीकरण गर्न पहिलो चरणमा ५ जिल्लाका लागि ६ सय क्विन्टल पोषिलो चामल वितरण गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भीम थापाले जानकारी दिए। उनका अनुसार विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन गरिएको हो। ‘बर्दियाको राजापुरमा पौष्टिक तत्व मिलाइएको चामल उत्पादन सुरु भएको छ। चामलमा पौष्टिक तत्व मिलाउनका लागि मेसिन जडान गरेका छौं।  भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाएपछि मेसिनबाट चामलजस्तै आकार र रङ हुने गरी उत्पादन हुन्छ। यही चामल दुर्गमका बासिन्दालाई उपलब्ध गराउने छौं’, विभागीय प्रमुख थापाले भने।

यो चामलको प्रयोगले दुर्गममा कुपोषणका कारण हुने बाल मृत्युदरलाई कम गर्न सहयोग पुग्ने जनाइएको छ। यस्तै गर्भवती, वृद्धवृद्धा र बालबालिकाका लागि यो चामल बढी उपयोगी हुनेछ। खाद्य कम्पनीका अनुसार २०७४ मा यो चामलको बाजुरामा परीक्षण भइसकेको छ। स्थानीयले यो चामललाई रुचाएको र सकारात्मक प्रभाव देखिएपछि कर्णालीका ५ जिल्लामा पनि वितरण गर्न थालिएको थापाले बताए। स्तरोन्नति गरिएको पोषिलो चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायतका पौष्टिक तत्व मिसाइएको छ। पहिलो चरणमा सन् २०२४ को अक्टोबरसम्म ७ हजार मेट्रिकटन पोषिलो चामल वितरण गर्ने लक्ष्य कम्पनीको छ। 

दोस्रो चरणमा कर्णालीका अन्य जिल्लामासमेत यो चामल वितरण गर्ने योजना कम्पनीको छ। कर्णालीका दुर्गम जिल्लामा यो चामल सहज र समयमै उपलब्ध गराउनका लागि ढुवानी र वितरणलाई प्रभावकारी बनाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पोषिलो चामल र यसअघि वितरण हुँदै आएको चामलको मूल्यमा धेरै अन्तर छैन। यसकारण पनि स्थानीयले सहज रूपमा यो चामलको उपभोग गर्ने र यसले कुपोषण घटनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ। पोषण तत्वको कमीका कारण कर्णालीका बालबालिकामा पुड्कोपन, ख्याउटेपन, रक्तअल्पता र शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्तिको अभावजस्ता समस्या देखिएका छन्। 

दुर्गममा रहेको कुपोषणको यही समस्या समाधानका लागि सरकारले पोषिलो चामल बजारमा पठाउने तयारी गरेको विभागीय प्रमुख थापा बताउँछन्। पोषिलो चामलको उपभोगले दुर्गम जिल्लाहरूमा देखिएको कुपोषणको समस्या न्यूनीकरण हुने कर्णाली प्रदेश योजना आयोगको विश्वास छ। आयोगका उपाध्यक्ष योगन्द्रबहादुर शाहीले पोषिलो चामलसँगै कर्णालीमै उत्पादन हुने रैथाने बालीको महत्वलाई पनि बुझाउनुपर्ने बताए। स्थानीय स्तरमा उत्पादन हुने र धेरै पौष्टिक तत्व पाइने चिनो, कागुनो, उवा, फापर, मार्से तथा मार्सी चामललगायतका खाद्यान्नको प्रयोग बढाउन सकेमा कुपोषणको समस्या कम गर्न सकिने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.