मोरङबाट एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ

मोरङबाट एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

विराटनगर  : मोरङबाट एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले मंगलबार ५९ जनालाई पक्राउ गरेको हो ।  अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई यसअघि नै विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरिसकेको छ । अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवानाको फैसला गरेपनि प्रतिवादीहरू कैद र जरिवाना भुक्तान नगरिकन भागिरहेको पाइएको कार्कीले बताए । 

पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार नै अदालतमा बुझाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ८ जना कैद र ५१ जना जरिवानाको फैसला भएका प्रतिवादीहरु छन् । जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग,ठगी,अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भएर पनि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी एसपी कार्कीले दिए । 

पक्राउ गरेर प्रहरीले पेस गरेपछि कैदको फैसला भएकाहरूलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताए । उनका अनुसार जरिवानाको फैसला भएकाहरु जरिवानावापतको रकम बुझाएर छुटेका छन् । 

मोरङबाट अझै ३ हजार ६ सय ४ जना फरार प्रतिवादी पक्राउ पर्न बाँकी छन् । अपराधमा संलग्न भएवापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार बनेका ठूलो संख्याका प्रतिवादी पक्राउ पर्न बाँकी देखिएको हो । एसपी कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका छन् । 

प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी पक्राउ पर्न थालेका हुन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं,’एसपी कार्कीले भने,‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

उनका अनुसार अपराधमा संलग्नहरू खुलेआम हिँडडुल गर्दा समाज भयभीत भइरहेको हुन्छ ।  पीडक पक्राउ नपर्दा अपराधबाट पीडित भएकाहरु झन् ठूलो तनावमा र त्रासमा पर्ने गरेको उनले सुनाए । कानुन कार्यान्वयनप्रति आमसार्वसाधारणलाई सशंकित हुन नदिन र पीडितलाई न्याय दिलाउन विगतका अपराधमा संलग्नलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएको कार्की बताउँछन् । 

‘प्रतिवादी पक्राउ पर्दा पीडितले न्याय एवं राहतको महसुस गर्न पाउँछन् । उनीहरु डर एवं भयबाट मुक्त हुन्छन्,’उनले भने,‘प्रहरीको कामकारबाहीप्रति समाजमा विश्वास बढ्छ । पीडक पक्राउ नपर्दा पीडित झन् ठूलो पीडामा पर्नुपर्ने अवस्था हुन्छ ।’

कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनले बताए । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन तथा समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन प्रहरी सक्रियता बढाइएको जानकारी एसपी कार्कीले दिए । 

उनले विगतमा अपराधमा संलग्नहरु कतै फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि सबैमा आग्रह गरेका छन् । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गर्न तत्काल प्रहरी परिचालन गरिने कार्कीले बताए । 

जिल्ला प्रहरी कार्यालय मोरङ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.