देउवा मन्त्रीहरूसँग आक्रोशित

देउवा मन्त्रीहरूसँग आक्रोशित
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीलाई राम्रो काम गरेर देखाउन र नभए जुनसुकै बेला मन्त्री पद छाड्न तयार रहन निर्देशन दिएका छन्। बूढानीलकण्ठस्थित निवासमा मन्त्रीलाई बोलाएर सभापति देउवाले पछिल्लो समय सत्ता गठबन्धनमा भएको खटपट, राष्ट्रियसभा अध्यक्षको निर्वाचन, मन्त्रिमण्डल पुनर्गठन र संक्रमणकालीन विधेयक (टीआरसी) का विषयमा छलफल गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन्। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा प्रचण्ड सरकारमा सहभागी कांग्रेसबाट धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्। युवा तथा खेलकुदमन्त्री लिम्बूले भने आफू छलफलमा सहभागी नभएको बताए। 

मन्त्रीहरू हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि सभापति देउवाले आफ्ना मन्त्रीहरूसँग सामूहिक छलफल गरेका हुन्। उनले मन्त्रीहरूलाई कि जवाफदेही हिसाबले काम गर्न र होइन भने राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएको छलफलमा सहभागी एक नेताले बताए।

सभापति देउवाले मन्त्रिमण्डल पुनर्गठनका विषयमा मन्त्रीहरूलाई जानकारीसमेत गराएको कांग्रेसका एक नेताले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेर्ने विषय पटक–पटक उठाउँदै आएका छन्। जनतालाई महसुस हुने गरी आफूले चाहेर पनि काम गर्न नसकेको गुनासो उनले गठबन्धनको बैठकमा राख्दै आएका छन्। उनले आफूसँग रहेको एक वर्षको समयमा काम गरेर देखाउन पनि गठबन्धन दलले नयाँ मन्त्रिमण्डलका लागि बाटो सहज गरिदिनुपर्ने माग उनले राख्दै आएका छन्। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिमण्डल हेरफेर गरेर प्रभावशाली ढंगले काम गर्न सक्छु भन्ने प्रधानमन्त्रीलाई लाग्छ भने त्यो अधिकार रहेको बताए। ‘प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न खोजिराख्नुभएकै हो। जुनसुकै बेला मन्त्रिमण्डल हेरफेर हुनसक्छ। हामीले पनि प्रधानमन्त्रीले जनतालाई महसुस हुने गरी काम गर्नुहोस् भन्ने नै हो’, महामन्त्री थापाले भने, ‘कांग्रेसले मन्त्री हेरफेर नगरिदिएकाले मैले काम गर्न सकिन भन्ने गुनासो उहाँलाई राख्न दिनुहुँदैन। जवाफदेहिताका लागि पनि प्रधानमन्त्रीलाई मन्त्री हेरफेरको बाटो खुला गरिदिनुपर्छ। त्यसका लागि कांग्रेस तयार छ।’

टीआरसी विधेयकमा सहमति जुट्न नसकिरहेको बेला कार्यशैली फितलो भएको भन्दै माओवादी र कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीलाई हटाउन प्रधानमन्त्री दाहालमाथि ठूलो दबाब परेको छ। 

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ। सभापति देउवाको निर्देशनमा मन्त्री साउदले भ्रमण स्थगित गरेका हुन्। उनी मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जान लागेका थिए। यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछानेलगायतका नेताहरू आइतबार दिनभर बालुवाटारमा बैठकमा व्यस्त भए। सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको हो। राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बीच राजनीतिक गतिविधि ह्वात्तै बढेको हो। यसअघि आइतबार बिहान ओली र प्रचण्डबीच भेटघाट भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.