कांग्रेसलाई वाग्लेको प्रश्न : गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो कि होइन ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सार्वजनिक सेवा प्रवाह र जनताका काम गर्नका लागि गठबन्धन बनेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेपछि समर्थन गर्दै उनले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न सरकारमा आएको बताएका हुन्।
वाग्लेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिए। गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो कि होइन भन्दै उनले प्रश्न गरे।
वाग्लेका अनुसार वर्तमान सत्ता गठबन्धनमा नजान आग्रह गर्दै कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको थियो।
उनले रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गरे। उपसभापति वाग्लेले भने, ‘सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्न आएका हौं। त्यो काम गर्न नसकेको दिन पार्टी आफैँ सरकारबाट बाहिरिन्छौं।’उनले प्रधानमन्त्रीको राष्ट्र हितको सवालमा लेगेसी दरिलो बनाउने चाहनालाई पार्टीले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई दिएको उल्लेख गरे।