मुस्ताङ आउँदै गरेकी भारतीय महिलाको लेंक लागेर मृत्यु
जोमसोम : प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेकी एक भारतीय महिला पर्यटकको शनिबार लेंक लागेर मृत्यु भएको छ। भारतको गुजरात घर भई मुक्तिनाथ दर्शन गर्न भनी आएकी ६५ वर्षीया जानी तरुना विन नाम गरेकी महिलाको हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु भएको हो।
उनी आफ्ना श्रीमान जानी प्रभिन भाई सहित ७ जनाको टोली शनिबार मुक्तिनाथ दर्शनका लागि आउँदै थिइन्। बेनी-जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथतर्फ आउँदै गर्दा मुस्ताङको थासाङ-१ टुकुचे आइपुग्दा हाईअल्टिच्युडको समस्या देखिएको र त्यसपछि जोमसोमको मुस्ताङ अस्पताल ल्याईएको थियो। अस्पताल ल्याई पुर्याउँदा उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले हाईअल्टिच्युड समस्याका कारण भारतीय पर्यटकको मुस्ताङ अस्पताल पुर्याउँदा मृत्यु भएको पुष्टि गरे। भारतीय पर्यटकको लेंक लागेर मृत्यु भएको घटनापछि प्रहरी निरीक्षक मिलनबहादुर विकको कमाण्डमा ५ जनाको प्रहरी टोली शवको मुचुल्का गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।
योसँगै चालु आर्थिक वर्ष २०८०/०८१ मा मुस्ताङमा हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुनेको संख्या ८ जना पुगेको छ। जस मध्ये २ जना नेपाली र ६ विदेशी पर्यटकको लेंक लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङको ३ आर्थिक वर्षको तथ्यांक अनुसार मुस्ताङमा हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुनेको संख्या २६ जना पुगेको छ।
समथर बेँसीबाट समुन्द्री सतहको २५ मिटर मिटरदेखि माथिको उचाइमा आउने पर्यटक तथा तीर्थालुलाई हाईअल्टिच्युड हुने सम्भावना हुन्छ। स्वास्थ्यमा समस्या भएका, नियमित औषधि सेवन गरेका र उमेर कटेका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा हाईअल्टिच्युडको जोखिम हुन्छ।