बेनी-जोमसोम सडक ५ घण्टापछि खुल्यो
जोमसोम : उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम ७६ किमी सडकअन्तर्गत जोमसोममा भासिएको अवरुद्ध सडक ५ घण्टापछि साँझ खुलेको छ। सडक आइतबार बिहान भासिएको थियो।
जोमसोमको मुख्य राजमार्ग सडकको एक सय मिटर जमिन भासिएको थियो। सडक भासिँदा जोमसोम-मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सयौं सवारी साधन जोमसोममा अलपत्र परेका थिए।
गौरवको सडक अन्तर्गत बेनी-जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको दुरीमा पर्ने घरपझोङ-४ जोमसोमको मुस्ताङ अस्पताल नजिकको सडक यसअघि पनि भासिने गरेको थियो।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी, जनप्रतिनिधि र निर्माण व्यवसायीको पहलमा अवरुद्ध जोमसोम सडक खुलाइएको हो।