पलेसाको प्रशिक्षणलाई सहयोग

पलेसाको  प्रशिक्षणलाई सहयोग
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय पारालिम्पिक कमिटीले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारालिम्पिकको तयारीका लागि नेपाल तेक्वान्दो संघलाई सहयोग गरेको छ। पेरिस पारालिम्पिकमा छनोट भएकी तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको तयारीका लागि कमिटीले तेक्वान्दो संघलाई दुई लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो। 

बुधबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घलेले नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दलाई सो रकम हस्तान्तरण गरेकी थिइन्। पारालिम्पिक कमिटीकी अध्यक्ष घलेले छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पलेसाको तयारीका लागि सहयोग गरेको बताइन्। उनले खेलाडीको हौसला बढाउन सो सहयोग गरेको बताइन्। 

यसैगरी नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले पारालिम्पिक कमिटीलाई धन्यवाद दिँदै दुवै निकायबीचको साथ, सहयोग र समन्वयमा अगाडि बढेमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए। कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटीका उपाध्यक्ष टेकबहादुर गुरुङ, कोषाध्यक्ष ओमनाथ सिवाकोटी, सदस्यहरू सरोज श्रेष्ठ, राजेन्द्र कोइराला, रामचन्द्र श्रेष्ठ र रामहरि गुरुङ तथा नेपाल तेक्वान्दो संघका प्रवक्ता साम्राज्यविक्रम पाण्डे, केन्द्रीय सदस्य हेमन्त डाँगी, बब्लु सिवाकोटी र कुमार लामा घिसिङ र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको उपस्थिति रहेको थियो।

चीनको ताइयाङमा आइतबार भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेसाले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा स्थान सुरक्षित गरेकी हुन्। एसियाली छनोटमा प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी मात्रै पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधानअनुसार पलेसाले पेरिसको टिकट काटेकी हुन्। पलेसा पारालिम्पिकमा छनोट हुने पहिलो नेपाली पारा खेलाडी पनि बनेकी छन्। यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। संगीना वैद्य सन् २००४ को एथेन्स र दीपक विष्ट सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर सहभागी भएका थिए।

पलेसा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। टोकियो पारालिम्पिक २०२० मा पनि पलेसाले दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्। उनले अमेरिका र सर्बियाका खेलाडीलाई पराजित गरेकी थिइन्। 

चीनको सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययनरत पलेसा पारालिम्पिकको तयारीका लागि आइतबार नेपाल आउँदै छिन्। नेपालमा केही समय तयारी गरेपछि उनी प्रशिक्षक कविराज नेगी लामासँगै बेलायतमा विशेष प्रशिक्षण गर्ने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.