आर्थिक मन्दीले खत्तमै भो ?

आर्थिक मन्दीले खत्तमै भो ?
सुन्नुहोस्

गत साता पश्चिम नेपाल भ्रमणको बेलामा धेरै व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने मौका मिल्यो। अधिकांशको एउटै भनाइ थियो आर्थिक मन्दीले परिस्थिति एकदमै गाह्रो भयो। काम गर्ने वातावरण नै छैन। मलाई अचम्म त्यतिबेला लाग्यो, निराशा व्यक्त गर्नेहरू व्यावसायिक रूपमा राम्रो गरिरहेका थिए। 

अहिले आमधारणा नै बनिसकेको छ कि आर्थिक मन्दीले एकदमै गाह्रो भएको छ। यसमा केही आंशिक सत्यता पनि छ। तर मन्दीले जति गाह्रो भएको छ त्यसभन्दा धेरै हल्ला भइरहेको छ। अहिले आर्थिक मन्दीको नाममा आर्थिक अनियमितता गर्नेहरूको बोलबाला चलिरहेको छ। जसले गर्दा वास्तवमा अप्ठ्यारोमा परेका व्यक्तिहरू झनै पीडित बनिरहेका छन्। हो अहिले देशका आर्थिक सूचकांकहरू त्यति सहज देखिँदैनन्। तर जुन खालले बजारमा हल्ला चलिरहेको छ यसले झन् धेरै अस्थिरता फैलाइरहेको छ। मैले अन्तरक्रिया गरेकामध्ये केही मानिसहरूले बैंकबाट कर्जा लिएर व्यवसाय गरिरहेका थिए। र उनीहरूको आम्दानी गत वर्षभन्दा केही घटे पनि उल्लेख्य घटेको वा अप्ठेरो परेको अवस्था थिएन। तर, पनि बैंकले त्रैमासिक हिसाब बिग्रिने डरले समयमै बैंकले किस्ता तिर्न अनुरोध गरिरहँदा किस्ता तिर्नुको साटो कर्जा अर्को बैंकमा सार्ने वा दुईचार दिनमा थप ब्याजसहित तिर्ने धम्की दिइरहेका थिए। बैंकले कर्जा दिएकै कारण व्यवसाय गर्न सफल भएर अहिलेको अवस्थामा आइपुगेको यथार्थलाई उनीहरूले आत्मसात् गर्न सकिरहेका थिएनन्। बैंकसँगको व्यवहार उनीहरूको व्यक्तिगत भए पनि ऋणीको व्यवहारले बैंकको ब्यालेन्स सिट बिग्रनुका साथै यसले अर्थतन्त्रबारे थप नकारात्मक धारणा बनाउन मद्दत गर्ने देखिन्छ। यसरी बैंकिङ क्षेत्रमा आक्रमण हुँदै जाने हो भने नेपालबाट पुँजी पलायनको डरलाग्दो अवस्था आउन सक्ने देखिन्छ। 

अहिले मन्दीको नाममा नियमित कमाइ भइरहेका व्यक्तिहरूले समेत कर्जा तिर्न आनाकानी गर्ने खतरनाक प्रवृत्ति हाबी हुँदैछ। र सरकारले अविलम्ब यस्तो प्रवृत्ति निरुत्साहित गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। अहिले बैंकहरूमा पैसा थुप्रिरहेको छ। बाहिरबाट आउने रेमिट्यान्समा प्रत्येक महिना रेकर्ड बनिरहेको छ। तर मानिसहरू असुरक्षा तथा मन्दीको हल्लाको कारण खर्च गर्न डराइरहेका छन्। यस्तो अवस्थामा सरकारले बजारमा पैसा पठाउनको लागि विभिन्न स्किमहरूको घोषणा गर्न सक्दथ्यो। जस्तो कुनै निश्चित क्षेत्रमा लगानी गर्ने र रोजगारी सिर्जना गर्ने उद्योग खोल्नेहरूको लागि कर छुट तथा अन्य केही व्यवस्थाहरू। निजी क्षेत्रले समेत सरकारलाई गाली गरेर समय खेर फाल्नुको साटो विभिन्न स्किमहरू ल्याएर वा उनीहरूको चाहनाअनुसारको वस्तुहरूको पूर्ति गरेर बजारमा रौनक ल्याउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन।

नेपालमा अहिलेको आर्थिक समस्या आउनुको मुख्य कारण घरजग्गा र सेयरको अस्वाभाविक मूल्यवृद्घि पछि यी दुई क्षेत्रमा मन्दी आउनु हो। यस्तो समयमा बैंकबाट ऋण गरेर लगानी गरिरहेका लगानीकर्ताहरूले केही सस्तो मूल्यमा भए पनि बिक्री गरेर थप ब्याजमा पर्नबाट जोगिनुपर्नेमा दलालीहरूको कुरा सुनेर पछि धेरै नाफा हुने लोभमा अनावश्यक होल्ड गर्दा समस्या झन् बल्झिरहेको छ। संघीयता र गाउँमै स्तरीय सेवा पाइँदै गर्दा काठमाडौं आउने मानिसको संख्या घट्दैछ भने धेरै मानिसहरू आप्रवासमा गएका कारण काठमाडौंकै जनसंख्या बिस्तारै घट्दैछ। तर अहिले पनि काठमाडौंको जग्गाको मूल्य कहिले पनि घट्दैन भनेर कम मूल्यमा जग्गा नबेच्न उक्साउने दलालको पछि लाग्नेहरू समस्यामा परिरहेका छन्। किनकि व्यवहार तपाईंको हो, बैंकको ब्याज तपाईंले तिर्ने हो तसर्थ दलालहरूको पछाडि नलागी आफ्नो अवस्था हेरेर व्यवहार गर्नुभएमा थप समस्यामा पर्नबाट बच्नु हुनेछ। यसैगरी सेयरमा पनि हल्लाको पछाडि लागेर ऋण र ब्याजको चापमा पर्नुभन्दा बरु समयमै आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न सकियो भने यसले कम क्षति हुनेछ। अहिले सरकारले केही समय धैर्य गरेर भए पनि घरजग्गा र सेयरको मूल्य वास्तविकता नजिक आउन दिनुपर्दछ ताकि आम सर्वसाधारणको पैसा यसमा नफसोस्। अहिले साना ठूला व्यापारी वा आम सर्वसाधारण सबैले आर्थिक मन्दीले गाह्रो भो भनिरहेको सुनिन्छ तर यसबाट बच्नको लागि उनीहरूको तर्फबाट गर्ने प्रयत्न गरेको भने देखिँदैन। 

एक फरक प्रसंगमा कामकै सिलसिलामा केही हप्ता पहिले नेपालका केही निर्यात व्यवसायीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाएको थिएँ। जसले मलाई उत्साहित मात्र बनाएन मसँग भएका कतिपय नकारात्मक धारणाहरूसमेत सकारात्मक बनाउन सहयोग पुग्यो। देशमा विद्यमान समस्याका बाबजुद सबैले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्दै नेपालको निर्यात बढाउनको लागि योगदान गरिरहेका थिए। विश्वव्यापी आर्थिक मन्दीको कारण व्यवसायमा केही कमी आए पनि आफ्नो बजार विविधीकरण गर्न तथा निर्यात गर्ने सामानहरूमा परिमार्जन गरेर ग्राहकको मन जित्नको लागि प्रयासरत भएको थाहा पाइयो। राज्यको सीमित सहयोगका बाबजुद व्यवसायीहरूको दृढ इच्छाशक्ति र लगनले नै देशमा केही मात्रामा भए पनि विदेशी मुद्रा आर्जनमा सहयोग पुगेको छ। राम्रै पारिश्रमिक दिएर कामदार राखे पनि अहिले वैदेशिक रोजगारीको लत लागेको छ। नेपालमा अवसरै छैन भनेर यहाँभन्दा कम कमाइ र बढी जोखिम हुने क्षेत्रमा समेत नेपालीहरू गइरहेको देख्दा जो कोहीको मन अमिलो हुँदो रहेछ। आर्थिक मन्दीमा के गर्ने र कसरी यसबाट पार पाउने भनेर उचित रणनीति लिएको देखियो न कि अरूलाई दोष देखाएर समस्यामै बसिरहने। नेपालमै प्रशस्त सम्भावना हुँदाहुँदै नेपाल खत्तम भो भन्नेहरूको लागि उहाँहरूको काम उदाहरणीय रहेको छ।

हो, अहिले नेपाललगायत विश्वव्यापी रूपमा आर्थिक मन्दीको समस्या भइरहेको छ। विकासशील राष्ट्रहरूले यसबाट बाहिर निस्कन र नागरिकहरूलाई राहत दिनको लागि विभिन्न उपायहरू अवलम्बन गरिरहेका छन्। जुन कुरा हाम्रोजस्तो देशले साधन र स्रोतको सीमितताको कारण दिन सकिरहेको छैन। यो अवस्थामा हामी सबैले होस्टेमा हैंसे गरेर अगाडि बढेमा हामी छिट्टै यो समस्याको समाधान गर्न सफल हुनेछौं। तर आफ्नो तर्फबाट केही नगर्ने अनि खाली राज्य र सरकारलाई गाली गरेर बसेमा अझ ठूलो समस्यामा पर्दै जानेछौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.