सभामुख तथा उपसभामुखहरूको सम्मेलन पाल्पामा
तानसेन : प्रतिनिधिसभा र ७ वटै प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष सहितको अन्तर व्यवस्थापिका भेला भोलिदेखि तानसेनमा सुरु हुँदै छ।
लुम्बिनी प्रदेश सभाको आयोजनामा तानसेनमा अन्तर व्यवस्थापिका सम्मेलन लागेको हो। सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेसहित ७ वटै प्रदेशका सभामुख तथा उपसभामुखको सहभागिता रहने छ।
भेलामा केन्द्र र प्रदेशलाई केन्द्रित गरेर संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र प्रस्तुत, छलफल र अन्तरक्रिया, अन्तर व्यवस्थापिका कार्यविधि माथि छलफल, अन्तर व्यवस्थापिका मञ्च नेपाल गठन सम्बन्धी कानुन तथा विविध विषयमा छलफल केन्द्रित रहने आयोजक लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए।
संघीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न र गराउन र यो अन्तर व्यवस्थापिका भेला महत्वपूर्ण हुने आयोजक लुम्बिनी प्रदेशसभाले जनाएको छ। शनिबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सहितको उपस्थितिमा ७ वटै प्रदेशका सभामुख तथा उपसभामुखहरूको सहभागितामा अन्तर व्यवस्थापिका सम्मेलन पाल्पा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ।
सम्मेलनका अवसरमा पाल्पाका पर्यटकीय गन्तव्यहरू रानीमहल, पाल्पा दरबार र पाल्पा भैरवस्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ।