गृहमन्त्री जोडिएका सहकारीका पीडित न्यायको आवाज उठाउँदै

गृहमन्त्री जोडिएका सहकारीका पीडित न्यायको आवाज उठाउँदै

बुटवल : बुटवलको सुप्रिम सहकारीले १ हजार ८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रकम हिनामिना गराएर बिचल्ली बनाएको छ। नहोस् पनि किन, सेयर सदस्य नै नभएका व्यक्तिले ऋण लिएका छन्। पैसा अपचलन गरेका छन्। त्यसरी अपलचन गर्नेमा अरू कोही नभई देशका गृहमन्त्री रवि लामिछाने पनि हुन्। लामिछाने र उनका व्यापारिक साझेदार जीबी राईले पटक–पटक उक्त सहकारीबाट पैसा झिकेका छन्। सहकारी डुबेको छ।

दुःखले जोहो गरेको पैसा सहकारीमा जम्मा गरेका बचतकर्ता आफ्नै पैसाका लागि सडक आन्दोलनमा छन्। कतिपय बचतकर्ता त मानसिक रूपमा पनि विक्षिप्त भइसकेका छन्। पीडितहरूले आफ्ना माग सम्बोधन गरिदिन गृहमन्त्री लामिछानेसँग पटक–पटक माग पनि गरेका छन्। तर, सुनुवाइ भएको छैन। केही पीडितले अन्नपूर्णसँग यसरी दुःखेसो पोखे।

विजयकुमार नेपाल, संयोजक, सुप्रिमपीडित संघर्ष समिति

जीबी र सागरलाई प्रहरीले किन भेटाउँदैन ?

दुःखले जोहो गरेको पैसा सहकारीमा जम्मा गर्नु हाम्रो के दोष थियो र ? सहकारीमा सुरक्षित होला भनेर राखेको पैसा यसरी हिनामिना होला भन्ने त कल्पना पनि गरेका थिएनौं। अहिलेसम्म दोषीलाई पक्राउ गरेर प्रहरीले किन अनुसन्धान गर्दैन ?  प्रहरीसँग हाम्रा दुःख सुनाउन जाँदा गैरजिम्मेवार जवाफ पाउने गरेका छौं। सहकारीका अध्यक्ष जीबी राई, व्यवस्थापक सागर केसी कहाँ छन् ? प्रहरीले किन भेटाउँदैन ? यो कस्तो सरकार हो ? हाम्रो पैसा हिनामिना गर्नेमा प्रमुख हात अहिलेका गृहमन्त्री रवि लामिछानेको पनि छ। दोषी नै सत्ताको बागडोर सम्हालेपछि हामीजस्ता पीडितले कसरी न्याय 

पाउँछौं ? गृहमन्त्री लामिछाने र जीबी राईसित प्रत्यक्ष रूपमा जोडिएका अर्का प्रमुख पात्र सहकारीका व्यवस्थापक सागर केसी हुन्। आजसम्म उनीहरूलाई पक्राउ नगर्नुले यहाँ केही न केही रहस्य छ भन्नेमा कुनै शंका रहेन। जीबी राई र रवि लामिछानेलाई पैसा ट्रान्सफर गर्ने प्रमुख पात्र थिए सागर केसी। यही सहकारीमा मेरो ४० लाख रुपैयाँ डुबेको छ। म जस्ता हजारौंको करोडौं रुपैयाँ अपचलन हुँदासमेत राज्य बेखवरजस्तै भयो। सरकारले हाम्रो माग पूरा नगर्दासम्म निरन्तर सडक आन्दोलन गर्छौ। सरकारले पीडितको माग सुनुवाइ गर्न ढिलाइ नगरोस्।

देवीलाल भट्टराई, बुटवल–११ रुपन्देही

हाम्रो पैसा लुट्नेलाई राजनीतिक संरक्षण भयो

सहकारीमा पैसा राख्दा सुरक्षित होला भनेर ६५ लाख रुपैयाँ सुप्रिममा राखेको थिए। त्यस बेला आकर्षक योजनाहरू सुनाइयो। जग्गा बेचेर राखेको पैसा यसरी तहसनहस हुने गरी सहकारीले फसाउला भन्ने कसले कल्पना गर्न सक्छ र ? पैसा घरमा राख्नुभन्दा बैंक तथा वित्तीय संस्थामा राख्नु सुरक्षित हुन्छ भन्ने कुरा जो कोहीले पनि सोच्ने गर्छ। हामीले पनि त्यही गरेका थियांै।  यसमा हाम्रो के दोष भयो ? अहिले आएर सहकारीले यता न उताको बनाइदियो। मान्छेका आ–आफ्नै घर व्यवहार हुन्छन्। सबै व्यवहार यहाँ भन्ने कुरा पनि भएन््। तलदेखि माथिसम्मका नेता, कर्मचारीहरू नै मिलेर यसरी सर्वसाधरण नागरिकहरूको पैसा लुट्लान भन्ने हामीले सोँचेका पनि थिएनौं। सहकारीको गिरोहले हाम्रो पैसा योजनाबद्ध रूपमा लुटेका छन्। जनतालाई न्याय दिने ठाउँमा अहिले गृहमन्त्री आफैं छन्। उनी हाम्रो पैसा अपचलन गर्नेमा एक मुख्य पात्रका रुपमा छन्। बचतकर्ताहरूको पैसा हिनामिना गर्ने गिरोहलाई उच्चस्तरीय राजनीतिक संरक्षण मिलेको हामीले अनूभुति गरेका छौं। यो देशमा सरकार छ, कानुन छ र न्याय छ भने हामीजस्ता पीडितहरूको माग तत्काल सुनुवाई गरोस्। यतिबेलासम्म किन बास्तविक कुरा बाहिर ल्याउँदैनन् ? कुनै पनि प्रमाण पूरा नगरी सहकारीले कर्जा प्रवाह गरेको थियो। सहकारी विभाग र प्रदेश सरकारबाट बेलाबेला अनुगमन हुन्थ्यो। तर, त्यसबेला यो सहकारीको काम कारबाही नियतसंगत छैन तपाईंहरूको पैसा डुब्न सक्छ भनेर हामीलाई कसैले पनि खबर गरेनन्। हामीलाई खबर भएको भए पैसा झिक्थ्यौं।

प्रेम घिमिरे, बुटवल–११ देवीनगर

पीडितहरू कहिलेसम्म सडकमा भौतारिने ?

सरकारका कारण हामी कहिलेसम्म सडकमा भौतारिनुपर्ने हो ? सरकारले हाम्रो माग किन सुन्दैन् ? वृद्ध बुवा आमा हुनुहुन्छ। बिरामी परेर हस्पिटलको शय्यामा छटपटाइरहनु भएको छ। हामीले उपचार गर्न पाएका छैनौ। उपचार गर्ने पैसा छैन। मकै, तरकारी बेचेर र दैनिक ज्याला मजदुरी गरेर एक÷एक रुपैयाँ जुटाएर जम्मा गरेको पैसा सहकारीका सञ्चालकहरूले यसरी लुट्दा पनि किन सरकारले हाम्रो माग सुन्दैन्। दोषीहरूलाई सरकारले कहिले कानूनको दायरामा ल्याउछ ? वर्षौंदेखि राजनीति गर्दै आउनुभएका नेताहरूले के हेरेर बस्नुभएको छ ? किन जनताको दुःखमा साथ दिनुहुन्न ? राजनीति कसका लागि गर्ने हो ? जनताका लागि होइन्। आफ्नो गोजी भर्न जनतालाई दुःख दिने र हामी जनतालाई झुक्याउने काम नेताहरूले पनि गरेका छन्। हिजो कांग्रेसलाई भोट दिएर हे¥यौं। एमाले, माओवादीलाई पनि हे¥यौं। पुरानो दल, नयाँ दल सबैलाई पालैपालो भोट दिएर जिताएर पठाएका छौं। तर, जनताले के पाए ? जनताले थोपा थोपा गरेर ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा सहकारीले ठग्दा पनि कोही नेताहरू बोल्दैनन्। यस्तो बेला सरकारले टुलुटुलु राम हेरेर बसेको छ।

दुर्गा गुरुङ , बुटवल–९ कालिकानगर

सहकारी डुबाउनेको जालो लामो छ

व्यापार व्यवसाय गरेको पैसा सहकारीमा जम्मा गर्दा सुप्रिमले डुबायो। हाम्रो परिवारका १२ जना जतिको त्यस सहकारीमा खाता छ। सबैले बचत गरेका थियौँ। डेढ करोड रुपैयाँ जति पैसा फस्यो। कहिले पाउने भन्ने केही अत्तोपत्तो छैन्। सहकारीका पहिलेका अध्यक्ष जीबी राई र व्यवस्थापक सागर केसीलाई प्रहरीले छिटोभन्दा छिटो पक्राउ गर्नुपर्छ। अध्यक्ष ओम गुरुङलाई पनि यस्तो बदमासीबारे पक्कै जानकारी थियो होला, तर किन हामीलाई खबर गर्नुभएन् ? यसमा पनि उहाँको गल्ती छ। म भारतीय सेनामा कार्यरत थिए। रिटार्यड भएर आए। व्यापार व्यवसाय गरेको थिएँ। बचत भएको पैसा सुरक्षित होला भनेर सहकारीमा जम्मा गर्दा यसरी फसियो। बुटवलमा व्यवसाय गर्न थालेको २५ वर्ष भयो तर यसरी फसेको पहिलोपटक हो। सहकारीको पैसा डुबाउनेहरूको जालो धेरै लामो छ भन्ने सुनेका छाँं। अहिले सहकारीका तल्लो तहका कर्मचारीहरू मात्र पक्राउ परेका छन्। मुख्य दोषीहरू पक्राउ परेका छैनन्। सरकारले जीबी राई र सागर केसीलाई तत्काल पक्राउ गर्नुपर्छ। 

दीपक ज्ञवाली, बुटवल–११ रुपन्देही

गृहमन्त्रीलाई माग राख्यौं, सुनुवाइ भएन

मैले १८ वर्ष साउदी अरबमा दुःख गरेर कमाएको पैसा सुप्रिम सहकारीले ठग्यो। सहकारीका बजार प्रतिनिधिहरूले मेरो श्रीमतीलाई आकर्षक ब्याजको प्रलोभन देखाएर पैसा फिक्स डिपोजिटमा राख्न भनेपछि हामीले सहकारीमा पैसा राख्ने निधो गरेका थियौं। राज्यको विभिन्न निकायमा आधिकारिक रूपमा दर्ता भएको सहकारीले यसरी ठग्ला भन्ने कुरा हामीले शंका गर्ने विषय पनि भएन्। तर, आज आएर हामीलाई यसरी झुक्काइयो। यो अत्यन्तै दुःखद् छ। १५ लाखमध्ये जसोतसो ५ लाख त झिकेका थियौं तर १० लाख रुपैयाँ हाम्रो फस्यो। हामी गरिखाने वर्ग हो। पैसा राखेर अलिकति भए पनि फाइदा होला भनेर सहकारीमा राखियो। तर, अहिले आएर यता न उता भइयो। हामी भुइँमान्छे सबैलाई कुन सहकारी ठीक छ, कुन बेठीक छ भन्ने कुरा थाहा हुने कुरा पनि भएन्। जनताको पैसा कसरी लुटिदो रहेछ भन्ने कुरा यो एउटा नमुना उदाहरण पनि हो। हाम्रो पीडाको सम्बोधनबारे सबैले पूरा गर्छौं–गर्छौं मात्र भनेका छन्। तर, अहिलेसम्म कसैले पनि केही गर्न सकेका छैनन्। रवि लामिछानेलाई बुटवल आउँदा पनि हामीले भेटेर पीडा पोखेका थियौँ। त्यसबेला उहाँले तपाईंहरूको माग क्रमिक रूपमा पूरा हुन्छ भनेर भन्नुभएको थियो। तर, अहिले उहाँ गृहमन्त्री हुनुहुन्छ खै हाम्रो माग सुनुवाइ भएको ?

राजु श्रेष्ठ, रुरुक्षेत्र–३ गुल्मी

गरिखानेलाई किन डुबाइयो ?

दुःख गरेर जम्मा गरेको पैसा सहकारीले डुबायो। अहिलेसम्म केही अत्तोपत्तो छैन। कसले हाम्रो माग सुन्ने हो ? त्यो पनि थाहा छैन्। डेढ वर्ष हुँदासम्म पनि अहिलेसम्म पीडितहरूको माग सुनुवाइ हुन सकेको छैन्। बुटवलमा जुत्ताचप्पल व्यवसाय गरेर जम्मा गरेको २१ लाख रुपैयाँ पैसा सुप्रिम सहकारीमा डुबेको छ। अहिले पसलमा सामान राख्ने पैसा छैन्। पसल खुला छ तर सामान छैन। दिनमा एक हजार, दुई हजार गरेर बचत गरेको पैसा यसरी स्वाहा भयो। त्यही पैसा निकालेर बैंकको ऋण तिरौंला भनेर बसेको थिए। अहिले न पैसा न सामान भयो। सहकारीले हामीजस्ता गरिखाने वर्गलाई यसरी लुट्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.