पूर्वले जन्माएको युवा नेता

पूर्वले जन्माएको युवा नेता
सुन्नुहोस्

इलाम : हेर्दा कलिला देखिने, कुरा गर्दा तौलीतौली बोल्ने नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले इलाम क्षेत्र २ उपनिर्वाचनमा विजय हासिल गरेका छन्। यो जितसँगै  उनको यात्रा अब नेपालको संघीय संसद्सम्म पुगेको छ। 

३३ वर्षको उमेरमा स्वर्गीय पिता सुवासचन्द्र नेम्बाङको पदचाप समातेर अघि बढेका उनले देखाउने इमान्दारिता र लगनले उनको भविष्य निर्धारण गर्ने छ। यद्यपि उनको विजयले पूर्वी नेपालमा जबरजस्ती युवा नेताको उदय गराएको छ। 

उनले आफूभन्दा १५ वर्ष जेठा नेपाली कांग्रेसका उम्मेदवार ४८ वर्षीय डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतले पछि पार्दै नेपालको संघीय संसदसम्मको यात्रा तय गरेका हुन्। उनी २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४ सय ५७ मतसहित तेस्रो भएका छन्। 

रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भए। उम्मेदवार छनौटदेखि नै मेहनत गरेको बताउने रास्वपाले आफ्नो उम्मेदवारको जमानतसमेत रक्षा गर्न सकेन। 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार ६९ हजार ३७४ मत गणना भएको थियो। ९०२ मत बदर भएको छ। 

सुहाङ बुबा सुवासचन्द्र नेम्बाङ र आमा विशाल नेम्बाङका कान्छा छोराका रूपमा २०४६ फागुन ६ मा काठमाडौंमा जन्मिएका हुन्। काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरे। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अस्ट्रेलिया गएका सुहाङ कानुन बिएएलएलबी अध्ययनका लागि पुनः नेपाल फर्किए। ‘काठमाडौं स्कुल अफ ल’बाट उनले एलएलबी र एलएलएम अध्ययन पूरा गरे।

आफूलाई जति आवश्यक छ, त्यति मात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाब भने निकै राम्रो छ। सुहाङ पिताको प्रभावमा आफूले ठूलो पद र प्रतिष्ठा लिन नचाहेको बताउँछन्। उनी भन्छन्, ‘बुबाले सधैं देशलाई शिरमा राख्नुभयो। म पनि नेपालीको शिर झुक्न दिन्न भनेरै राजनीतिमा आएको हुँ।’

उनी आफूसँगै चुनावी मैदानमा रहेका उम्मेदवारसँग बसेर सल्लाह गरेर अघि बढ्ने मुडमा छन्। उनी भन्छन्, ‘एकपटक सबै उम्मेदवारसँग बसेर छलफल गर्न मन छ। उहाँहरूले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नु ।’ 

उनी नीति निर्माण र विकासका लागि नागरिकले दिएको साथलाई सम्झेर अघि बढ्ने बताउँछन्। नीति निमार्ण गर्ने थलोका रूपमा बुझिएको संसद्मा सुहाङको उपस्थितिलाई इलाम २ का मतदाताको विवेकपुर्ण निर्णयका रूपमा आफुले बुझेको बताउँछन् नेकपा (एमाले) इलामका नेता रमेश राई।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.