मोरङमा पत्नीको हत्या गरेर पति फरार

मोरङमा पत्नीको हत्या गरेर पति फरार
घटनास्थलमा भेला भएका स्थानीय र प्रहरी।
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचामा एक जना पुरुषले आफ्नै पत्नी (श्रीमती)को हत्या गरेका छन्। पत्नीको हत्यापछि पति (श्रीमान) फरार बनेको प्रहरीले जनाएको छ। 

सुन्दरहरैँचा नगरपालिका-५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार हत्यापछि मनमायाका पति ५० वर्षीय पदमबहादुर तामाङ फरार बनेका छन्। 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर फरार रहेका पदमबहादुरको खोजी तीव्र पारेको छ। डीएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा बिहीबार बिहान ७:२० बजेतिर मनमायाको शव घरभित्रै फेला परेको हो। 

‘सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको छ,’ उनले भने, ‘कम्मरदेखि माथिको भागमा कपडा थिएन।’ उनका अनुसार प्रहरी घटनास्थलमा पुग्दा शव भेटिएको कोठाको ढोका खुला थियो। पत्नीको हत्यापछि कोठा खुलै राखी भागेका पदमबहादुर अहिलेसम्म सम्पर्कविहीन रहेको जानकारी बस्नेतले दिए। 

घटनाका बारेमा छोरी रत्ना तामाङले प्रहरीलाई जानकारी गराएकी हुन्। त्यसलगत्तै प्रहरी चौकी गछिया र अस्थायी प्रहरी पोस्ट बलियाबाट संयुक्त टोली घटनास्थल पुगेको थियो। ‘हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको हो,’ बस्नेतले भने, ‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेजस्तो देखिन्छ।’ उनका अनुसार हत्या बुधबार राति नै भएको हो। 

उनका अनुसार पदमबहादुरले छोरी रत्नालाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर फोन गरेको पाइएको छ। विहान पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेको र बुबा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई खबर गरेकी हुन्। प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए। 

छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ। पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डीएसपी बस्नेतका अनुसार मदिरा सेवन गरेर पत्नीसँग बारम्बार झैझगडा गर्ने गरेको जानकारी स्थानीयले दिएका छन्। 

‘मदिरा सेवन गरेर पदमबहादुरले कुटपिट गर्न थालेपछि मनमाया साँझ ६ बजेतिर छिमेकीको शरणमा पुगेकी रहिछन्। केही समयपछि आफ्नै घर फर्किछन्,’ उनले भने, ‘मनमाया घरमा पुगेपछि पति र पत्नीबीच झैझगडा भएको छिमेकीले सुनेका रहेछन्। भोलिपल्ट विहान घरभित्रै शव फेला परेको छ।’ कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी डीएसपी बस्नेतले दिए। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.