यादवले ‘सरकार ढाल्न खोजेको’भन्दै राई समूहले फुटायो जसपा नेपाल

यादवले ‘सरकार ढाल्न खोजेको’भन्दै राई समूहले फुटायो जसपा नेपाल

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ। वरिष्ठ नेता अशोक राईले अध्यक्ष यादवसँग विद्रोह गर्दै आइतबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। 

अध्यक्ष यादवले प्रचण्ड नेतृत्वको सरकार ढाल्न कसरत गरिरहेको दाबी गर्दै सरकारको निरन्तरताका लागि पार्टी फुटाइएको असन्तुष्ट नेताहरूले बताएका छन्। राई पक्षका अर्का नेता नवल किशोर साहका अनुसार पार्टी अध्यक्ष यादवले विपक्षीसँग प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेका थिए। त्यसैले सरकार जोगाउन नयाँ पार्टी दर्ता गराइएको छ।

क-कसले गरे विद्रोह ?

हाल संघीय संसद्मा जनता समाजवादी पार्टी नेपालका १२ सांसद छन्। राईले बहुमत सांसदसहित जसपा नेपाल फुटाएको दाबी गरेका छन्। नयाँ पार्टीको केन्द्रीय समिति अध्यक्षमा अशोक राई छन् भने संघीयपरिषद् अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ छन्।

नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत छन्। असन्तुष्ट राई समूहले आइतबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरिएको छ।

डेढ दशकदेखि यादव लगातार पार्टीको अध्यक्ष रहँदै आएका छन्। उनले विगतमा बाबुराम भट्टराई, महन्थ ठाकुरलगायतसँग गरेको पार्टी एकता पनि टुटेको थियो। यादवको कार्यशैलीका कारण पार्टी फुटेको राई पक्षका नेता प्रदीप यादवको भनाइ छ। ‘यादवको कार्यशैली ठीक छैन। सच्याउन बारम्बार आग्रह गर्दा पनि उहाँले अटेर गर्नुभयो’, नेता यादवले अन्नपूर्णसँग भने, ‘त्यसैले जसपा नेपाल फुटाएर नयाँ दल दर्ता गरेका हौं।’ 

सरकारलाई राई समूहको समर्थन 

राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई समर्थन दिने भएको छ। विभाजनपश्चात् आइतबार नयाँ दल जसपाका अध्यक्ष राईले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर रहने जानकारी गराएका हुन्। अध्यक्ष राईले आफूहरू अस्थिरताका पक्षमा नरहेको स्पष्ट पारे। पार्टी विधानमा भएका व्यवस्थालाई कुल्चेर नेतृत्व अघि बढेकाले आफूहरू विद्रोह गरेको उनले बताए। यस्तै संघीयपरिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफूहरूको बहुमत सांसदको साथ रहेको र वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताए। 

पार्टी फुटेको छैन : प्रवक्ता सुमन
जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले उपेन्द्र यादव नेतृत्वको पार्टी नफुटेको दाबी गरेका छन्। ‘पार्टी फुटेकै छैन। पार्टीका १० जना साथी छुटिएर अन्त गएका हुन्। यसलाई पार्टी फुटेको भन्न मिल्दैन’, सुमनले भने।

नेताहरूले निर्वाचन आयोगमा गएर कागज दर्ता गराएर जसपा नेपाल फुटेको हल्ला फैलाएको प्रवक्ता सुमनले जनाए। ‘आफ्नै अकर्मण्यताले उहाँहरूको राजनीतिक भविष्यको आत्महत्या भयो’, पार्टीबाट बाहिरिएका नेताहरूलाई लक्षित गर्दै प्रवक्ता सुमनले भने, ‘पार्टी जहाँ थियो त्यहीं छ, पार्टीका सदस्यहरू जहाँ थिए त्यही छन्।’ 

प्रचण्ड नेतृत्वको सरकार अध्यक्ष यादवले ढाल्न खोजेका थिए ? भन्ने प्रश्नमा प्रवक्ता सुमनले थपे, ‘सबै मिथ्या कुरा हुन्।’ वर्तमान सरकारलाई दरो साथ दिएर अर्को निर्वाचन नभएसम्म प्रचण्ड नेतृत्वकै सरकरमा रहनुपर्छ भन्ने मान्याता पार्टीमा रहेको उनले स्पष्ट पारे।

अनि भयो यादव र राईबीच ‘डिभोर्स’...

पार्टी एकता गरेको ९ वर्षपछि उपेन्द्र यादव र अशोक राईबीच डिभोर्स भएको छ। २०७२ जेठ ३२ गते यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकता भएको थियो। एकीकरणपछि नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम, नेपाल राखिएको थियो। पार्टीका अध्यक्ष थिए यादव अनि वरिष्ठ नेता थिए राई। 

पार्टी एकीकरण गर्दै, फुट्दै हाल यादव नेतृत्वको पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसको वरिष्ठ नेता थिए अशोक राई। ९ वर्षपछि यादवसँग राई डिभोर्स गरेर नयाँ पार्टी खोल्दै छन्। यससँगै २०७२ सालपछि यादवले नेतृत्व गरेका विभिन्न पार्टीमध्य हालको जनता समाजवादी पार्टी नेपाल २०८१ वैशाख २३ गते तेस्रोपटक फुटेको हो। पार्टी विधानअनुसार नचलाएकाले अध्यक्ष यादवसँग विद्रोह गरेर नयाँ पार्टी दर्ता गराउन लागिएको राई पक्षधरको भनाइ छ।

यादव नेतृत्वको जसपा नेपाल २०७८ भदौ २ गते पहिलोपटक फुटेको थियो। यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएर अर्को पक्ष महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। मधेसी दलहरूलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले फुटाउन लागेको भन्दै २०७७ वैशाख १० गते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुरसहितका राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको थियो। त्यसपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो। 

कार्यकर्ता व्यवस्थानमा अध्यक्ष यादव र अर्का वरिष्ठ नेता ठाकुरबीच विवाद चर्किएको थियो। त्यो विवादले २०७८ भदौ २ गते जसपा नेपाल फुटेको थियो। ठाकुरले डिभोर्स गरेको तीन वर्ष नबित्दै राईले पनि त्यही बाटो रोजेका छन्। 

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच नेतृत्व विवादकै कारण २०७९ असार १७ समाजवादी पार्टी, नेपाल दोस्रोपटक फुटेको थियो। त्यहाँबाट भट्टराईले नेपाल समाजवादी पार्टी खोलेका थिए। २०७६ वैशाख २३ गते यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी एकीकरण भएको थियो। त्यसपछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिएको थियो। यादव पार्टी अध्यक्ष थिए भने, भट्टराई संघीयपरिषद् अध्यक्ष बने।

राष्ट्रिय महाधिवेशनका मोडमा जनता समाजवादी पार्टी नेपाल तेस्रोपटक फेरि विभाजित भएको छ। जेठ २७, २८ र २९ गते पार्टीको महाधिवेशन तोकिएको थियो। यो विभाजनले उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा कमजोर भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.