आमा : जगत् जननी

आमा : जगत् जननी

एकादेशको पहाडी सिमानामा अचानक शत्रुहरूले भीषण आक्रमण गरेको खबर सरकारलाई प्राप्त भयो। खबर पाउनसाथ मन्त्रिपरिषद्को बैठक बस्यो र थप सैनिक सीमातर्फ पठाउने निर्णय भयो। आदेशलगत्तै सैनिक गोलीगठ्ठासहित सीमातर्फ बढे। सेनाहरू जंगल, पहाड, खोलानाला पार गर्दै अगाडि बढे। बाटोमा गहिरो खोला आयो। खोलामा पुल थिएन। पुल बनाउन खडा गरेका निकै पुराना दुइटा पिलर ठिंग थिए। सैनिकलाई हरहालतमा त्यो खोला पार गर्नु थियो। खोलो यति गहिरो र पानीको धार तेज थियो कि पुलबिना खोला पार गर्न सम्भव थिएन।

गाउँ पनि धेरै टाढा माथि डाँडामा थियो। खोलाको नजिक रुख पनि थिएनन्। सिर्फ खरको झाडी मात्र थियो। सैनिकले अनेक उपाय लगाए, तर खोला पार गर्न सकेनन्। के गरुँ कसो गरुँ भन्दै रन्थनिएका सेनाका कमान्डरले अलि पर काठको सानो घर देखे। सहयोगका लागि घर पुगे। घरमा को हुनुहुन्छ ? वृद्धा लौरो टेक्दै ढोकामा निस्किइन्। कमान्डरले भने, ‘आमा, देशको सीमामा सूत्रहरूले आक्रमण गरिरहेका छन्, देश बचाउन छिटोभन्दा छिटो त्यहाँ पुग्नुपर्छ। तर जति प्रयास गर्दा पनि खोला पार गर्न सकिएन। त्यसैले दुईचार लामा काठहरू छन् भने दिनुहोस्। पुल बनाएर खोला पार गर्छौं।’ उनले भनिन्, ‘बाबु, मसँग यो घरबाहेक केही छैन। यहाँ एक्लै बस्छु। गाउँ पनि धेरै माथि छ। तर जसरी पनि देश बचाउनु पर्छ। बरु छिटो गर, यो मेरो घर भत्काएर काठहरू लिएर जाऊ र पुल बनाऊ।’

वृद्धाको कुरा सुनेर कमान्डरका आँखा रसाए। उनले शिर झुकाएर भने, ‘आमा ! तपाईंं बूढीआमाको ओत लाग्ने घर नै कसरी भत्काउन सक्छु र ? मेरो हात काप्छन् आमा।’ वृद्धा खोक्दै बोलिन्, ‘बाबु एकपटक सोच त, यो मेरो घर ठूलो कि देश ठूलो ? भनेको मान, छिटो गर। घर भत्काएर जति चाहिन्छ काठहरू लैजाऊ। यो देश नै नरहे हामी कहाँ रहांैला ?’ कमान्डर ती वृद्धाआमाको देशभक्ति देखेर 

गद्गद् भए। अनि उनी भुइँमा लम्पसार सुतेर वृद्धालाई साष्टांग दण्डवत् गरे। अनि सैनिक जवानहरूलाई घर भत्काएर काठहरू लगेर पुल बनाउन भने। सैनिकहरू ती वृद्धाआमाको आशीर्वाद लिएर अझ बढी हिम्मत र साहसका साथ सिमानातर्फ अगाडि बढे। सिमानामा पुगेर मोर्चा सम्हाले। थप सैनिक आएपछि सिमानामा पहिलेदेखि लडिरहेका सैनिकको हौसला बुलन्द भयो। अनि सैनिकहरू शत्रु सेनामाथि आक्रमक भए।

सिमानामा भीषण लडाइँ भयो। देशको रक्षार्थ सैनिकहरू भोकभोकै हप्तादिनसम्म लडिरहे। लडाइँमा कयौं सैनिकले वीरगति प्राप्त गरे, सयौं सैनिक घाइते भए। तर, घाइते सैनिकहरूले लडाइँको मोर्चा छोडेनन्। गोली लागेर रगत बगेको घाउलाई कपडाले बाँधेर देश जोगाउन लडिरहे। अन्ततः शत्रुहरू नराम्रोसँग पराजित भए। जितको सुखद् समाचार देशभरि फैलियो। खोलामा पुल बनाउने पैसाले आफ्नो महल बनाएको सरकारले जितको खुसीयालीमा पाँचतारे होटलमा रात्रिभोजको आयोजना ग¥यो। विजयको खबरले जनता पनि निकै खुसी थिए। विजयोत्सव मनाउन सडकमा निस्किएका जनताले चर्का नारा लगाए, राष्ट्रवादी सरकार जिन्दावाद। हाम्रा महान् राजनेता अमर रहून्।

उता, घाइते सैनिकहरू सिमाना नजिकै लगाइएको अस्थायी क्याम्पमा छट्पटाइरहेका थिए। वृद्धाआमा भत्किएको घरको पिँढीमा टुक्रुक्क बसेर एकटकले सैनिकहरूको बाटो हेरिरहेकी थिइन्। हो, आमा भनेकी आमा हुन्, माया, ममता, करुणा र स्नेहकी खानी। वास्तवमा आमाको माया यति पवित्र र दिव्य हुन्छ कि संसारको कुनै पनि भाषा र शब्दले आमाको मायाको शक्ति, सौन्दर्य, वीरता र महिमा व्यक्त गर्न सक्दैन। आमाको माया निस्वार्थ र अनन्त हुन्छ, यो कहिल्यै रित्तिँदैन। यस संसारमा आमाको माया जति शक्तिशाली चिज अरू केही छैन। यही तथ्यलाई मनन् गरेर नै होला अब्राहम लिंकनले एकपटक भनेका थिए– म जे छु, वा हुने आशा गर्छु, म मेरी देवदूत आमाको ऋणी छु।

आमाले सन्तान जस्तोसुकै भए पनि उत्तिकै माया गर्छिन्। तिनले गल्ती गरे पनि, आफूले भने जस्तो नगरे पनि, अपेक्षा पूरा नगरे पनि आमाले बालबच्चालाई स्वीकार्छिन्, माया गर्छिन्, स्नेह गर्न कहिल्यै छोड्दिनन्। यो नै निस्वार्थ प्रेम नमुना हो। आमाको प्रेममा कुनै बन्धन छैन। व्यावहारिक रूपमा हेर्ने हो भने पनि आमाको मायामा जबरजस्त ताकत छ। हो, हरेक प्रकारका प्रेममा ताकत हुन्छ। तर आमाको प्रेमबाहेक अन्य प्रेममा अपेक्षा हुन्छ, स्वार्थ हुन्छ। आमा नै हुन्, जो आफ्ना सन्तानको खुसीका लागि जे पनि गर्न तयार हुन्छिन्। भनिन्छ, चराचर जगत्का लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै बोझ उठाउँछिन्। त्यसैले मानव समाजमा पिताको भन्दा माताको उच्च स्थान रहेको हुन्छ।

शास्त्रहरूमा भनिएको छ, तीर्थहरूमा गंगा, ईश्वरहरूमा विष्णु, पूज्यहरूमा भगवान् शिव र गुरुहरूमा आमाको सर्वोपरि महत्त्व छ। पत्नी समान कुनै मित्र हँुदैन, सन्तति समान प्यारो कुनै प्राणी हुँदैन, दिदीबहिनी समान कुनै मान्यजन हुँदैनन् र आमा समान कुनै गुरु हुँदैनन्। देशहरूमा गंगाको नजिक रहेको देश उत्तम हुन्छ, पत्रहरूमा तुलसीपत्र उत्तम हुन्छ, गुरुहरूमा आमा सर्वोत्तम हुन्छन्। मानिसले माता एवं पिताको सँगै दर्शन गर्दा सर्वप्रथम मातालाई प्रणाम गरेपछि मात्र पितालाई प्रणाम गर्नुपर्छ। हो, मानिसको जीवनमा पिताको भन्दा माताको स्थान उच्च छ। तर, मातासँगै पिताको महत्त्व पनि कम छैन। वास्तवमा हरेक मानिस बाबु–आमाका एक नयाँ रूप नै त हुन्। यस संसारमा छोराछोरीको पुरुषार्थ देखेर निःस्वार्थ आनन्द लिने व्यक्ति मात्र बाबु–आमा हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.