नक्कली नोट दिइ बोका लिएर दुईजना पुरुष फरार, महिला पक्राउ

नक्कली नोट दिइ बोका लिएर दुईजना पुरुष फरार, महिला पक्राउ
नक्कली नोटसहित पक्राउ परेकी कुरेसा खातुन । तस्बिर : अन्नपूर्ण

विराटनगर  : मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा एकजना महिलालाई नक्कली नोट दिइ बोका (बाख्राका पाठा) लिएर अपरिचित पुरुषहरू फरार भएका छन् ।  

बोका लिएर बिक्रीका लागि बजार पुगेकी महिलालाई झुक्याउँदै नक्कली नोट दिइ बोका लिएर दुईजना पुरुष मोटरसाइकलमा फरार भएका हुन् । प्रहरीका अनुसार फरार भएकाको पहिचान खुल्न बाँकी छ । दुवैजनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

बोका किन्न भनी पुरुषको साथ लागेर गएकी एक महिलालाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनको साथबाट नेपाली नक्कली नोट बरामद भएको छ । खातुनको साथबाट नेपाली ५ सय दरका १८ वटा नोट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

उनका अनुसार रंगेली–९ की सुकुरमुनी सन्थाल सोरेनले घरमा पालेका बोका बिक्रीका लागि बिहीबार दोहमना बजारमा लगेकी थिइन् । उनले बिक्रीका लागि दुईवटा बोका र एउटा पाठी लगेकी थिइन् । ‘सोरेनसँग भेटेर दुईजना पुरुष र एक महिलाले बोकाको मोलतोल गर्न थालेछन् । सुरुमा दुईवटै बोका ७ हजार रूपैयाँमा दिनु भनेर ‘बार्गेनिङ’ गरेछन् ।

उनले थोरै मूल्यमा दिन सक्दिन भनेपछि मोलमोलाइका क्रममा १२ हजारमा कुरा मिलेछ,’डीएसपी बस्नेतले भने,'बोका खरिद गर्न आएकाहरू १२ हजार रूपैयाँ दिएर बोका लैजान तयार भएछन् । त्यसपछि एकजना पुरुषले एक हजार दरका ३ वटा र ५ सय दरका १८ वटा नोट दिएर दुईवटै बोकालाई मोटरसाइकको बीचमा राखेछन् । ५ सय दरका नोटमा शंका लागेपछि सोरेनले नै प्रहरीलाई खबर गरेकी हुन् ।’

बस्नेतका अनुसार सोरेनले सुरुमा नोट नक्कली रहेको शंका गरिन् । त्यसपछि ‘मेरा बोका फिर्ता दिनु, पैसा तपाईंहरु नै लैजानु’ भनिन् । तर, पहिचान नखुलेका पुरुषहरुले बोका बीचमा राखेर मोटरसाइकल हुइँक्याए । पक्राउ परेकी खातुनले गन्ने बहानामा सोरेनको हातबाट हतारहतार पैसा खोसिन् । त्यही बेला २ जना पुरुष बोका लिएर भागेपछि खातुनलाई केही व्यक्तिको सहयोगमा नियन्त्रणमा लिएर सोरेनले प्रहरीलाई खबर गरेको डीएसपी बस्नेत बताउँछन् । 

तत्काल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले खातुनलाई पक्राउ गरेको हो । उनको साथमा रहेको ५ सय दरका १८ वटा नोटसमेत प्रहरीले बरामद गर्‍यो । परीक्षण गराउँदा नोटहरू नक्कली रहेको र सबै नोटमा एउटै नम्बर उल्लेख गरेको पाइएको बस्नेतको भनाइ छ । उनका अनुसार विराटनगरस्थित राष्ट्र बैंकले समेत नोटहरु नक्कली रहेको जानकारी दिएको छ । 

खातुनको साथमा रहेका १ हजार दरका नोट भने सक्कली नै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोका बिक्री गरेर छोरीलाई साइकल किनिदिने योजना सोरेनको थियो । सोरेनका पति वैदेशिक रोजगारीका लागि दुवई गएका छन् । घरमा उनीसहित सासू, ससुरा, २ छोरा र १ जना छोरी छन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण घरमा पालेका बोका बेचेर छोरीलाई साइकल किनिदिन खोजेको पाइएको प्रहरीको भनाइ छ । 

नक्कली नोट दिइ बोका लिएर फरार भएका पुरुषहरू भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । खातुनले पनि उनीहरूलाई आफूले नचिन्ने र बोका किन्नलाई सहजीकरण गरिदिन आग्रह गरेका कारण सहयोग मात्रै गरेको प्रहरीलाई बताइकी छन् । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई उनैले भगाउन भूमिका खेलेको खुलेको छ । 

पुरुषलाई भगाएकी खातुन आफू पनि त्यहाँबाट भाग्ने तयारीमा रहेको दाबी प्रहरीको छ । तर, केही व्यक्तिहरुको सहयोगमा नियन्त्रणमा लिइएको र तत्काल प्रहरी पुगेका कारण उनी भने भाग्न नपाएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फरार भएका पुरुषसहित पक्राउ परेकी खानुतलाई कारबाही हुनुपर्ने र आफ्ना बोका फिर्ता गरिदिनुपर्ने माग राखेर सोरेनले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । 

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । खातुनविरुद्ध मुद्रा सम्बन्धी कसुरमा कारबाही अघि बढाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.